स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन पूरा नहुँदा म्याद थपका लागि निवेदन

जाजरकोट ।
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणको म्यादसमेत पूरा हुनै लाग्दा निर्माण व्यवसायीले दोस्रो पटक म्याद थपका लागि निवेदन दिएको बताएका छन् ।
प्रदेशका औषधि स्टोर दुई ठाउँमा हुँदै आएको छ । लुम्बिनी प्रदेशको नेपालगन्ज र सुर्खेतमा भाडा लिएका घरमा भण्डार हुँदै आएको हो ।
सम्झौताअनुसार २०७९ चैतमा निर्माण सम्पन्न हुनुपर्ने भवन अझै पूरा नहुँदा समस्या आएको छ ।
जगदम्बा शिवालय सुपर स्टार निर्माण कम्पनीले २०७८ असोज २४ गते भवन निर्माणको जिम्मा पाएको थियो ।
१० जिल्लाको औषधि आपूर्ति गर्नका लागि निर्माण थालिएको भवन समयमै निर्माण नहुँदा हैरानी भएर भाडाको घरमा औषधि राख्दै आएको केन्द्रले बताएको छ । एक वर्षदेखि औषधि भण्डारणको काम निजी घरमा हुँदै आएको छ ।
मासिक ४० हजार भाडा तिरेर आपूर्ति केन्द्र सञ्चालन भइरहेको प्रदेश औषधि आपूर्ति केन्द्रका प्रमुख डा. शक्तिप्रसाद सुवेदीले बताए । भवन नभएकै कारण आपूर्ति केन्द्रको औषधि नेपालगन्जमा स्टोर गर्ने गरिएको छ । भाडाको घर भएकाले आवश्यक उपकरण र औषधि भण्डारण गर्न समस्या हुने गरेको छ ।
उनले भने, ‘गत वर्ष नै भवन हस्तान्तरण हुनुपर्ने हो । निर्माण व्यवसायीको ढिलाइले गर्दा अझै काम सकिएको छैन । औषधि भण्डारका लागि ठाउँ नहुँदा जिल्लाबाट माग भएका र तत्काल जिल्लामा पठाउनुपर्ने औषधिमात्र केन्द्रमा ल्याउने गरिएको छ ।’
प्रदेश सरकारले ४१ प्रकारका औषधि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत् खरिद गर्दै आएको छ । केन्द्रले खोप तथा खोप लगाउन प्रयोग गरिने अन्य सामग्री प्रदेशका १० वटै जिल्ला स्वास्थ्य सेवा कार्यालयलाई उपलब्ध गराउँदै आएको छ । भवन नहुँदा औषधि भण्डारण गर्न समस्या हुने गरेको छ ।
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणमा ढिलाइ भएको छ ।
सझौताअनुसार २०७९ चैतमा निर्माण सम्पन्न हुनुपर्ने भवन अझै सकिएको छैन । जगदम्बा शिवालय सुपर स्टार निर्माण कम्पनीले २०७८ असोज २४ गते भवन निर्माणको जिम्मा पाएको थियो । सम्झौता अनुसारको अवधिमा काम नसकिएपछि म्याद थप गरिएको थियो । थप गरिएको समयावधि सकिनै लाग्दासमेत भवन निर्माणको कामले गति लिन सकेको छैन ।
बरु निर्माण कम्पनीले दोस्रो पटक म्याद थपका लागि निवेदन पेस गरेको छ । पहिलो पटक थपिएको म्यादअनुसार एक महिना बाँकी छ तर काम गर्न धेरै बाँकी रहेको बताइन्छ । निर्माण व्यवसायी तारा शाहीले भवन निर्माणका लागि म्याद थप गर्न संघीय आयोजना तथा कार्यान्वयन एकाइमा निवेदन पेस गरिएको बताइन् ।
उनका अनुसार सामान ढुवानी बाहिरी जिल्लाबाट गर्नुपर्दा समस्या भएको छ । कोरोना महामारी, स्थानीय निर्वाचन, मूल्य वृद्धि, निर्माण सामग्रीको उपलब्धता नहुनुलगायतका कारण समयमा नै काम गर्न नसकिएको बताइन्छ ।
वर्षाले समेत काममा असर पारेको दाबी आयोजनाको छ । सकेसम्म तोकिएकै मितिमा काम सम्पन्न गर्ने गरी लागिपरेको र बढीमा पाँच महिना म्याद थपका लागि निवेदन पेस गरिएको बताइन्छ । भवन निर्माणको ८० प्रतिशत काम सकिएको दाबी आयोजनाको छ । संघीय आयोजना तथा कार्यान्वयन एकाइ सुर्खेतले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।
कार्यालयका इन्जिनियर गोकर्ण थापाले म्याद थप गर्नुभन्दा समयमै काम सम्पन्न गर्न ताकेता गरिरहेको बताए । उनका अनुसार अहिले तीव्र गतिमा काम भइरहेको छ । थापाले २०८० असोजसम्म भवन निर्माणको सम्झौता रहेको जानकारी दिए ।
हिमाली जिल्लाको ढुवानी तथा स्टोर नेपालगन्जमा
सुर्खेतबाट कर्णालीका जिल्लामा हवाई सेवा नहुने हुँदा चार जिल्लाका लागि भन्दै नेपालगन्जमा औषधिको स्टोरसँगै ढुवानी कार्य हुँदै आएको छ ।
डोल्पा, हुम्ला, मुगु र जुम्लाका लागि नेपालगन्जमा रहेको स्टोरबाट ढुवानी हुँदै आएको छ । सडकको पहुँच कम्जोर भएका यी जिल्लामा हवाई मार्गबाट औषधि ढुवानी हुँदै आएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. शक्तिप्रसाद सुवेदीले बताए ।
सुर्खेतमा स्टोर गर्ने ठाउँ नहुँदा अधिकांश सामग्री नेपालगन्ज स्टोर गरेर राख्नुपर्ने बाध्यता रहेको उनले बताए ।





