कर्णालीलाई संधै चामलकै पिरलो

सुर्खेत । २०७९/०८० का लागि मुगुको सोरुकोट खाद्य डिपोमा एक हजार क्विन्टल चामल पुग्नुपथ्र्यो । तर चालु आर्थिक वर्ष सकिनै लाग्दा समेत हालसम्ममा सात सय क्विन्टल चामल मात्र सोरुकोट खाद्य डिपोमा पुग्यो । डिपोमा हाल करिव एक सय प्याक चामल मात्र मौज्दात छ । नागरिकहरुले मागेजति चामल समेत पाएका छैनन् । सोरु गाउँपालिका–६ का वडा अध्यक्ष मनप्रसाद भट्टले भने, ‘हाम्रा नागरिकले मागेजति चामल नै पाएका छैनन् । यो समस्या अहिलेको मात्र होइन । चाडपर्व आउँने समयमा चामल नै पाइदैन ।’

डिपोमा अहिले चामल लिने नागरिकहरुको दैनिक लाइन नै लाग्छ । चामलको मौज्दातकम भएपछि समानुपातिक तवरमा वितरण गरिएको छ । सदरमुकामबाट सोरु जोड्ने गमगढी–सोरुकोट सडकखण्ड अवरुद्ध भएपछि सोरुकोट खाद्य डिपोमा चामलको न्यून मौज्दातअवस्ता सिर्जना भएको हो । वडा अध्यक्ष भट्टले भने, ‘अहिले साउने संक्रान्तीको पर्व आउँदैछ । नागरिकले भनेजति चामल पनि पाएका छैनौं । पहिरोले सडक अवरुद्ध हुँदा डिपोमा चामल नै आएन । अहिले सडक खुलाउने कार्य भईरहेको छ । तर चाडपर्वको समयमा चामल नै नपाउनु दुखको कुरो हो ।’
करिव दश दिन अघि मात्र सोरुकोट डिपोमा खाद्यान्न ढुवानी भएको थियो । तर वर्षाले सडक अवरुद्ध हुँदा अर्को ढुवानी भने नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुगु शाखाका प्रमुख पुष्कर भामले जानकारी दिए । उनले भने, ‘सुर्खेतबाट सिधै गरेर सोरुकोट खाद्य डिपोको लागि सात सय क्विन्टल चामल ढुवानी भईसकेको छ । अहिले त्यहाँको अवस्थालाई चामल अभाव नै भन्न मिल्दैन । तर सडक अवरुद्धका कारण समयमा ढुवानी नहुँदा केहि समस्या देखिएको हो ।’
मुगु जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा दुई डिपो सञ्चालनमा छन् । अर्को डिपो भने कुलु खाद्य डिपो हो । यस डिपोमा चामलको अभाव छैन । हालको समयमा सदरमुकाममा रहेको खाद्य तथा व्यापार कम्पनी लिमिटेडको शाखामा नौं सय क्विन्टल चामल मौज्दात रहेको उनले बताए । उनले भने, ‘डिपोमा मात्र चामलको मौज्दातघटेको हो । चाडपर्वको समय आउँदै गरेकाले पनि चामल लिने नागरिकहरुको संख्या बढेकाले अभाव जस्तो देखिएको मात्र हो । नागरिकहरु चामल अभाव हुने डरले घरमा धेरै स्टक राख्न खोज्छन् ।’
अवरुद्ध सडक सुचारु भएसँगै सोरुकोट खाद्य डिपोमा चामल ढुवानी हुने उनले जनाए ।
वडा अध्यक्ष भट्ट भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समयमा नै चामल डिपोमा नपु¥याउदा नागरिकहरुले सास्ती भोग्नुपरेको बताएछन् । ‘एक हजार क्विन्टल चामले मात्र पुग्दैन । अरु व्यापारीले पनि चामल ल्याउछन् । तर माग हुने समयमा खाद्यले नै चामल नपु¥याएपछि महंगोमा पसलबाट चामल किन्नुपर्ने वाध्यता छ’, उनले भने ।
२०७९/०८०को लागि तय भएको खाद्यान्न २०८०/०८१ मा मात्र डिपोमा पुग्ने अवस्थाले नागरिकहरुले सास्ती खेप्नुपरेको उनले बताए । हालको समयमा सडक अवरुद्ध भएपनि वर्षात्को ख्याल गर्दै यसअघि नै चामल ढुवानी गरिनुपर्ने उनको भनाई थियो ।
१२ हजार क्विन्टल चामल मौज्दात
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुर्खेत स्थित प्रादेशिक कार्यालयको तथ्यांक हेर्दा कर्णालीमा १२ हजार क्विन्टल खाद्यान्न मौज्दात देखिन्छ । केहि साता अघि विभिन्न सञ्चार माध्ययममा प्रकाशित सूचनामा कर्णालीमा १२ हजार क्विन्टल खाद्यान्न मौज्दात रहेको कार्यालयले जनाएको थियो ।
हुम्लामा चार सय, जुम्लामा आठ सय ८०, मुगुमा एक हजार तीन सय, जाजरकोटमा एक हजार दुई सय, कालिकोटमा चार सय, दैलेखमा पाँच सय, डोल्पामा चार हजार र सुर्खेतमा तीन हजार पाँच सय क्विन्टल चामल गोदाममा रहेको कार्यालयले जनाएको थियो ।
‘प्रशासनिक कमी कमजोरी सुधार्नुपर्छ’
‘समेरुकोट खाद्य डिपोमा कति खाद्यान्न आवश्यक पर्छ । कुन समयमा कति पठाउनुपर्छ भन्ने विषय यस अघिका आर्थिक वर्षमा समेत सम्बन्धित निकायलाई जानकारी भएको होला । तर अहिले २०७९/०८० मा पठाउनुपर्ने चामल हालसम्म पनि पठाउन नसक्नु प्रशासनिक कमी कमजोरी हो’, मानव अधिकार रक्षक सञ्जाल, कर्णालीका संयोजक पीताम्बर ढकालले भने ।
नागरिकलाई भोकै राख्नु गलत रहेको बताउदै उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र प्रशासन जस्ता निकायले आफ्ना प्रशासनिक कमी कमजोरी सुधानुपर्ने बताए । उनले भने, ‘त्यहाँको जिल्ला प्रशासन कार्यालयले समेत समयमा अनुगमन गर्नुपथ्र्यो । कति मौज्दात छ, कति समयमै ल्याउनुपर्ने हो । यस विषयमा समयमै चनाखो हुनुपथ्यो ।’






