२१ हजार मेट्रिक टन स्याउ निर्यात

जुम्ला ।
जुम्लाबाट २१ हजार मेट्रिक टन स्याउ निर्यात भएको छ । यहाँका आठ वटै स्थानीय तहमा उत्पादन भएको स्याउ हालसम्म २१ हजार एक सय १० मेट्रिक टन बाहिरी जिल्लामा गएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।
पछिल्लो समय जुम्ली किसानको स्याउ खेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ ।

कार्यालय प्रमुख अधिकारीले भने ‘गत वर्षभन्दा यो वर्ष स्याउको उत्पादन ४० प्रतिशतले घटेको छ ।’ स्याउ खेती गर्ने किसानको संख्या भने बढेको कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।

जिल्लामा कुल स्याउ उत्पादनको विवरण सकलन भइरहेको छ । अबको केही सातापछि जिल्लाभरको स्याउ उत्पादनको पूरै विवरण सार्वजनिक गरिने कृषि विकास कार्यालय जुम्लाका सुचना अधिकारी शेरबहादुर भण्डारीले बताए । जिल्लामा अहिले जुम्ली, इटाली, गाला, गोल्डेन, फुजी र जोना प्रिन्ससहित स्थानीय जातका स्याउ खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका प्रमुख खेमराज शाहीले जानकारी दिए ।

स्याउ लिनका लागि स्थानीय व्यापारी उद्यमी र समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका कार्टुन कार्यालयले वितरण गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ ।

किसानको बगैँचाबाट प्रतिकेजी ६० रुपैयाँमा स्याउ खरिद गरेर करिब ८० क्विन्टल स्याउ दाङ लिएर बिक्री गरेको स्थानीय व्यापारी तुल तिरुवाले बताए । जिल्लाको सिञ्जा भेगमा स्याउ खरिद गर्ने व्यापारी किसानको बगैँचामा पुग्ने गरेका छन् ।

नेपाली नारीको पर्व हरितालिका तीज नजिएसँगै सुर्खेत, नेपालगञ्ज, दाङ, धनगढी र बुटवलसम्मका व्यापारीबाट स्याउको माग आउने गरेको स्थानीय स्याउ व्यापारी युवराज न्यौपानको भनाइ छ। किसानले आफ्ना स्याउ बगैँचामा उचित गोडमेल तथा काँटछाँट गरेको खण्डमा स्याउ उत्पादनमा वृद्धि हुने र स्याउमा लाग्ने विभिन्न रोगको समेत न्यूनीकरण तथा रोकथाममा सावधानी अपनाउन आवश्यक रहको कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक सुष्मा बूढाले जानकारी दिइन् ।

कृषि विकास कार्यालयका अनुसार जिल्लामा करिब १६ हजार घरधुरी स्याउ खेतीमै निर्भर रहेका छन । चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लाका किसानदेखि उद्यमी तथा समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

गत साउन महिनाको पहिलो साताभित्र जुम्लाको काँचो स्याउ बजारमा बिक्री हुन थालेपछि यहाँका स्थानीय तहले बिक्रीका लागि सिफारिस अनिवार्य गरेका थिए ।

२१ हजार मेट्रिक टन स्याउ निर्यात

सरसफाई बारेमा जनचेतनामूलक कार्यक्रम