वीरेन्द्रनगरमा अझै केहि दिन तापक्रम निरन्तर बढ्ने, सतर्क रहन सुझाव

सुर्खेत। केही साता यता नेपालमा निरन्तर तापक्रम बृद्धि भइरहेको छ । जेष्ठ १६ गतेदेखि बढ्न थालेको तापक्रम पछिल्ला चार दिन यता भने ह्वात्तै बढेको छ । यो क्रम तराईका क्षेत्रमा बढी देखिएको छ । अहिले तराई तथा भित्री मधेसका अधिकांश स्थानको तापक्रम ४० डिग्रीभन्दा माथि छ । सरदर खडेरीमा २८ देखि ३० डिग्री औषत तापमान पुग्ने सुर्खेतमा यसपटक ३९ दशमलव चार डिग्री सेल्सियस तापक्रम मापन भएको रेकर्ड छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार वीरेन्द्रनगरको तापक्रम ३९ दशमलव चार डिग्री सेल्सियस मापन भएको जनाएको छ । वीरेन्द्रनगरमा मापन भएको यो तापमान हालसम्मको दोस्रो रेकर्ड हो । विक्रम सम्वत् २०६९ जेष्ठ ३२ गते वीरेन्द्रनगरमा अहिलेसम्मकै उच्चतम तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो । जबकि सबैभन्दा कम तापक्रम २०६९ पौष २५ गते माइनस सून्य दशमलव सात डिग्री सेल्सियस मापन भएको रेकर्ड छ । यस्तै सुर्खेतमा सरदर वर्षाको औषतमा सबैभन्दा धेरै २०७१ साउन ३० गते चार सय २३ मिलिमिटर वर्षा मापन भएको थियो ।
पछिल्लो समय गर्मी ह्वात्तै बढ्न थालेपछि वीरेन्द्रनगरको जनजीवन प्रभावित बनेको छ । दिउँसोको समयमा हुने प्रचण्ड गर्मीका कारण चल्ने तातो हावाले स्वास्थ्यमा प्रत्यक्ष असरसमेत पारिरहेको छ । जलवायु परिवर्तनका कारण वीरेन्द्रनगर वर्षेनी विभिन्न प्राकृतिक प्रकोपको जोखिममा पर्ने गरेको छ । बढ्दो जनघनत्व त्यसमा पनि भरपर्दो विजुली नहँुदा थप समस्या उत्पन्न भएको छ । मागअनुसारको विजुली आपूर्ति नहँुदा रातको समयमा पनि सहज सुत्न सकिने अवस्थासमेत वीरेन्द्रनगरमा छैन ।
गर्मी बढेसँगै वीरेन्द्रनगरका शैक्षिक संस्थाहरु बन्द भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम अझै केही दिन लम्बिने देखिएको छ । विभागले यस्तो अवस्थामा आगामी केही दिनसम्म देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिकरुपमा बढ्ने देखिन्छ ।
‘जेष्ठ १६ गतेदेखि लगातार तापक्रममा बृद्धि भइरहेको छ । यो अझै करिव चार/पाँच दिनसम्म लम्बिने सम्भावना छ । मनसुन १३ जुनमा प्रवेश गर्ने औषत समय भए पनि एक दुई दिन ढिला हुने देखिएको छ । मौसमविद् निराजन सापकोटा भन्छन्, ‘मनसुन अहिले भारतको केरला आइपुगेको छ । यसपटक मनसुन भित्रिए पनि केही दिन पानी परेर फेरि सुक्खा हुने देखिएको छ ।’
हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ । तसर्थ देशका तराई भू-भागमा आगामी पाँच दिनसम्म तातो हावाको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध छ । यस्तै पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना देखिएकाले यसबाट सुर्खेतसमेत प्रभावित हुने मौसमविद् सापकोटा बताउँछन् ।
सुर्खेत तातो हावा (लु) चल्न सक्ने सम्भावित क्षेत्रहरुमा समेत पर्दछ । कणर्ालीका हिमाली जिल्लाहरुका आंशिक बदली भएपनि तल्लो क्षेत्रमा आगामी केही दिनसम्म वर्षाको सम्भावना नरहेको उनको भनाई छ । नेपालको भौगोलिक अवस्थितिका कारण यो समयमा सूर्यको किरण धेरै आउँछ जसका कारण जमिनको सतह धेरै तात्छ र हावालाई पनि तताउने हुँदा गर्मी बढ्ने गर्छ । जलवायु परिवर्तनका कारण कम वर्षा हुनुले पनि तापक्रम बृद्धि हुँदै गएको मौसमविदहरु बताउछन् ।
बालबालिकाको विशेष ख्याल राखौं : डा. केसी
अन्य बेलाभन्दा गर्मीका समयमा बालबालिकाको विशेष ख्याल राख्नुपर्ने बालरोग विषेशज्ञ डाक्टर नवराज केसी बताउँछन् । यो बेला बालबालिकालाई खानपान तथा स्याहार सुसारमा विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । ‘तापक्रम बृद्धि हुँदा सबै कुराको तापक्रम बृद्धि हुने हुन्छ, घाममा धेरै खेले वा धेरै हिडे भने शरिर तातिन्छ र सेलाउन पाउँदैन । हावा तातिदा उनीहरुले लिने स्वास पनि तातिन्छ । यसो हुँदा केही बालबालिका बेहोस भएर अस्पताल आएको अवस्था छ’ डाक्टर केसीले भने, ‘यसको उपचार गरेमा तत्कालै ठिक हुन्छ । केहिलेकाँही यस्ता बच्चाहरुको मस्तिष्क घात भएर लामो समयसम्म पनि प्यारालाईसिस जस्तो समस्याहरु निस्कने वा बच्चा अलि सुस्त हुने हुन्छ ।’
गर्मी मौसममा झिङ्गाहरु बढी लाग्नाले बालबालिकामा झाडापखाला, बान्ता, आउँ, मासी, टाइफाइड जस्ता रोगहरु लाग्ने तथा उच्च ज्वरो आउने डाक्टर केसी बताउँछन् । पानीको मुहानहरु सुक्दै जानाले पानीको अभाव हुने र त्यसमा पनि किटाणुको संक्रमणले पानीजन्य रोगहरुको जोखिमा बालबालिका रहने उनको भनाई छ । विषादीयूक्त खाना, जंगलमा लागेको डढेलो जस्ता कारणले दम तथा श्वास्प्रस्वासका समस्याहरु बालबालिकामा देखा परेको उनको भनाई छ ।
तातो हावाबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्ने डा. केसीको भनाई छ ।
गर्मीबाट बच्न के गर्ने ?
गर्मीका समयमा सावधानी अपनाइएन भने विभिन्न खालका स्वास्थ्य समस्याहरू देखिने सम्भावना धेरै हुने गर्छ । त्यसैले यो मौसममा हाइड्रेटेड रहनु अनिवार्य हुने चिकित्सकहरु बताउँछन् । यस्तो अवस्थामा कपासबाट बनेको हलुका रङको लुगा लगाउनाले शरीरलाई चिसो राख्न मद्दत गर्छ । गाढा रङका वा भारी लुगा लगाउनाले शरीरमा छिटो ताप पर्ने र असहज महशुस गराउने खालका यस्ता कपडाको प्रयोग गर्नु हुदैन । सकभर यो मौसममा सेतो रङको हलुका कपडा लगाउन राम्रो हुने चिकित्सकको सुझाव छ ।
गर्मी मौसममा हाम्रो शरीरलाई हाइड्रेटेड राख्न धेरै पानी र तरल पदार्थ पिउनु आवश्यक हुन्छ । विज्ञहरूले गर्मीको कारण शरीरमा देखिने स्वास्थ्य समस्याबाट बच्न हरेक दिन कम्तिमा आठ देखि १० गिलास पानी पिउँदा फाइदा हुने बताउँछन् ।
यस्तै दिनको सबैभन्दा तातो समय सामान्यतः दिउँसो १२ बजे र ४ बजेको बीचमा हुन्छ ।
यो समयमा बाहिर नजानुहोस्, चर्को गर्मीमा घर बाहिर जानै पर्ने काम परेमा टोपी र छाताको प्रयोग गर्नुहोस् । सूर्यको हानिकारक किरणहरूबाट आफ्नो आँखालाई जोगाउन, कम्तीमा एसपीएफ ३० भएको सनस्क्रिन लगाउनुहोस् र सनग्लास लगाउँनु राम्रो मानिन्छ ।
गर्मीको लहरको समयमा गर्मी थकान र गर्मी स्ट्रोक सामान्य छन् । यी लक्षणहरूमा चक्कर लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने र थकान हुने हुँदा यीमध्ये कुनै पनि लक्षणहरू अनुभव भए तुरुन्तै स्वास्थ्य संस्थामा जान डाक्टरहरुको सुझाव छ ।







