कर्णालीमा लम्पी स्किन, ८२ हजार बढीले उपचार पाएनन्ः जोखिममा दैलेख

सुर्खेत। तीन महिनाको समावधिमा कर्णालीमा दुई लाख बढी पशुवस्तुमा लम्पी स्किन रोग संक्रमण भईसकेको छ । २०७९ चैत्र २५ गते यता हालसम्मका दुई लाख सात हजार दुई सय ७३ वटा पशुवस्तुमा लम्पी स्किन संक्रमण पुष्टी भईसकेको हो । तर ८१ हजार आठ सय १९ वटा संक्रमित पशुवस्तु अहिलेपनि उपचारको पहुँचमा भने छैनन् । दैलेखमा ५९ हजार सात सय ८५ पशुवस्तु उपचारको पहुँचमा आएको देखिदैन ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको हालसम्मको तथ्यांक अनुसार दैलेखमा ७४ हजार तीन सय १५ वटा पशुवस्तुमा संक्रमण पुष्टी भएको देखिन्छ । यस जिल्लामा हालसम्म चार सय ७४ वटा पशुवस्तुको लम्की स्किनका कारण मृत्यु भईसकेको छ । ७४ हजार मध्ये १४ हजार पाँच सय ३० वटा पशुवस्तुलाई उपचार गरएको मन्त्रालयका

पशुपंक्षी विकास शाखा अधिकृत प्रचण्ड खड्काले जानकारी दिए ।
मन्त्रालयको हालसम्मको तथ्यांक अनुसार मुगु, कालिकोट र सल्यान जिल्ला वाहेकका अन्य जिल्लाहरुमा संक्रमण भएका सबै पशुवस्तु उपचार पहुँचमा नआएको देखिन्छ । मन्त्रालयलाई जिल्लातहबाट उपलब्ध तथ्यांक अनुसार सुर्खेतमा पाँच हजार ३२ वटा पशुवस्तु उपचार पहुँचमा छैनन् । त्यसैगरी जुम्लामा ११ हजार तीन सय आठ, हुम्लामा एक हजार तीन सय ९३, डोल्पामा नौं सय ६८, जाजरकोटमा तीन हजार दुई सय ७५ र रुकुम पश्चिममा ५८ वटा पशुवस्तु उपचार पहुँचमा आएका छैनन् ।

‘खोप लगाउने अवस्था छैन’

कर्णाली प्रदेश सरकाले १७ हजार वटा खोप खरिद गरेको थियो । हालसम्ममा नौं हजार नौं सय एक वटा खोप पशुवस्तुलाई लगाइएको खड्का बताउँछन् । मन्त्रालयको अन्तिम विवरण अनुसार जिल्लाहरुमा अहिले सात हजार ९९ वटा खोप बाँकी नै छन् । संक्रमण धेरै फैलिएका कारण खोप लगाउन सम्भव नभएको उनले जानकारी दिए । उनले भने, ‘खोप भनेको संक्रमणबाट बचाउन स्वस्थ्य पशुलाई लगाइन्छ ।

संक्रमण भईसकेपछि उपचार तर्फ लाग्नुपर्छ । त्यसैले खोप जिल्लाहरुमा बाँकी नै छन् ।’ लम्पी स्किन रोकथामका लागि प्रदेश सरकाले हालसम्ममा ४५ लाख रुपैयाँ बजेट खर्च गरिसकेको छ । पालिकाहरुले समेत संक्रमण पश्चात उपचारका लागि खर्च गरिरहेका छन् । उनले भने, ‘केहि वडाहरुले त आठ–१० लाख रुपैयाँ समेत खर्च गरिसकेको पाएका छौँ । पालिकाहरुले समेत आफ्नो क्षेत्रमा संक्रमण रोकथामका लागि लागिरहनुभएको छ ।’

उपचार पहुँचमा पशुवस्तु नआएको विषयमा भने खड्काले किसानले नै उपचारका लागि पशुवस्तु नल्याएको हुनसक्ने बताए । ‘यो रोगको खास औषधि हुदैन । खोप नपाएका संक्रमित पशुवस्तुलाई लक्ष्यणका आधारमा उपचार मात्र गरिन्छ’, उनले भने, ‘गाउँमा औषधि समेत बाढिएको छ । किसानहरु आफैले पनि औषधि लिएर जानुहुन्छ । त्यसैले पनि उपचार भएको तथ्यांकमा धेरै समावेश नभएको हुनसक्छ ।’

कहाँ–कति संक्रमण ?

संख्यात्मक रुपमा सबैभन्दा धेरै संक्रमण भएको जिल्ला दैलेख नै हो । यहाँ हालसम्ममा ७४ हजार बढी पशुवस्तुमा लम्पी स्किन संक्रमण पुष्टी भएको छ । हुम्लामा १२ हजार दुई सय २०, डोल्पामा एक हजार तीन सय ३१, मुगुमा चार सय २९ र जुम्लामा १२ हजार तीन सय १५ वटा पशुवस्तुमा लम्पी स्किन संक्रमण
भईसकेको छ ।

त्यसैगरी कालिकोटमा चार हजार चार सय ९२, सुर्खेतमा २९ हजार दुई सय ७१, सल्यानमा ३४ हजार तीन सय २८, रुकुम पश्चिममा १७ हजार एक सय ९९ र जाजरकोटमा २१ हजार तीन सय ७३ वटा पशुवस्तुमा संक्रमण भएको छ ।

तीन प्रतिशत बढी पुग्यो मृत्युदरः हुम्लामा धेरै

लम्पी स्किन संक्रमणबाट पशुवस्तुको मृत्यूदर पाँच प्रतिशतसम्म पुग्ने विश्व पशु स्वास्थ्य संगठनको भनाई छ । केहि हप्ता पहिले संगठनद्वारा जारी विज्ञप्तीमा यो रोग संक्रमण स्थानमा एक देखि पाँच प्रतिशतसम्म पशुवस्तुको मृत्यु हुने जनाइएको छ । यसका साथै १० देखि २० प्रतिशतसम्म रोग फैलने खतरा हुने विश्व पशु स्वास्थ्य संगठनको भनाई छ ।

कर्णालीमा भने हालसम्म तीन दशमलव ६८ प्रतिशत मृत्युदर पुगेको छ । दुई लाख बढी संक्रमण अवस्थामा हालसम्म कर्णालीमा सात हजार ६ सय ३२ वटा पशुवस्तुको मृत्यु भईसकेको खड्काले जानकारी दिए । कर्णालीका जिल्लाहरु मध्ये हालसम्ममा संख्यात्मक रुपमा जाजरकोटमा धेरै पशुवस्तुको मृत्यु भएको देखिन्छ । जाजरकोटमा दुई हजार चार सय ३० वटा पशुवस्तुको संक्रमणका कारण मृत्यु भईसकेको छ । हालसम्म हुम्ला, सुर्खेत र सल्यान जिल्लामा एक हजार भन्दा धेरैको संख्यामा लम्पी स्किन रोगका कारण पशुवस्तुको मृत्यु भएको उनले जानकारी दिए ।

कर्णालीमा लम्पी स्किन, ८२ हजार बढीले उपचार पाएनन्ः जोखिममा दैलेख

पहिरोमा पुरिएर डोजर चालकको मृत्यु

कर्णालीमा लम्पी स्किन, ८२ हजार बढीले उपचार पाएनन्ः जोखिममा दैलेख

YUGAAWHAN NATIONAL DAILY (2080-03-23)

Leave a comment

Your email address will not be published. Required fields are marked *