सामुदायिक विद्यालय, वर्तमान र भविष्य

मनवीर नेपाली । वर्षेनी हजारौंको संख्यामा लाखौं रकम खर्चेर राम्रो शिक्षाको प्रलोभन वा आशामा विदेशिनु बाध्यता छ । यसले देशको पैसा विदेश गईरहेको छ भने देशमा करोडौ खर्चेर संचालनमा रहेका विश्व विद्यालयहरुमा विद्यार्थीहरुको अभाव छ । सामुदायिक विद्यालयमा निःशुल्क पढाइ, निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा, सेनेटरी प्याड, छात्रवृत्ती, इन्टरनेट सेवा लगायतका थुप्रै कार्यक्रम लागू गरेर सरकारले सामुदायिक विद्यालयलाई अब्बल बनाउन प्रयास जारी गरिरहेका बेला वर्षेनी यि विद्यालयमा विद्यार्थीको संख्या घट्दो क्रममा छ । शिक्षा तथा मानवश्र्रोत विकास केन्द्रका अनुसार आधारभूत तहमा सामुदायिक तर्फ २०७४ मा ५८ लाख ३७ हजार विद्यार्थी भर्ना भएका थिए भने गत वर्ष ५३ लाख २५ हजार मात्र भर्ना भएका थिए । उता निजीमा सोही तहमा पाँच वर्ष अघि नौं लाख ८० हजार भर्ना भएका थिए भने २०५८ मा १४ लाख ४६ हजार विद्यार्थी भर्ना भएको तथ्यांकले देखाउँछ ।

जनसंख्या घटेको हुनाले बालबालिकाको संख्या पनि घटेकोले गर्दा भर्ना दर पनि घटेको केन्द्रका अधिकारीहरुको भनाई छ । हुनपनि गत पर्ष सामुदायिक तथा निजी विद्यालयमा भर्ना हुनेको संख्यामा नौं प्रतिशतले कमी आएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । हाल आधारभूत तहका कुल विद्यार्थी मध्ये ७३ प्रतिशत सामुदायिकमा र २७ प्रतिशत निजीमा अध्ययनरत छन् भने पाँच वर्ष पहिले ८० प्रतिशत विद्यार्थी सामुदायिकमा र २० प्रतिशत विद्यार्थी निजीमा अध्ययन गर्दथे । बि.सं. २०७४ देखि २०७८ सम्मको हिसाव गर्ने हो भने पाँच वर्षमा सामुदायिकमा १० लाख विद्यार्थी घटेको तथ्यांक हामी पाउँछौं ।

हाल २७ हजार आठ सय सामुदायिक विद्यालय मध्ये चार सय २२ वटामा मात्र नमुना विद्यालय कार्यक्रम लागू भएको अवस्था छ । नमुना विद्यालयमा भने विद्यार्थीको कमी छैन । किन भने नमुना विद्यालयहरुले थुप्रो प्रकारको अनुदानहरु पाउने ब्यवस्था सरकारले गरेको छ । यि विद्यालयहरुले पुस्तकालय, प्रयोगशाला, भवन, आवास सुविधा, खेल मैदान, घेरवार, बगैचा, खानेपानी र सरसफाईकालागि अनुदान पाउछन् ।
शहरी क्षेत्रमा निजी विद्यालयहरुमा गुणस्तरिय शिक्षा, सरसफाई, नियमित गृहकार्य जाँच, अतिरिक्त क्रियाकलापहरुका कारण अभिभावकहरु आकर्षित भएको देखिन्छ र अर्को कुरा सामाजिक हैसियत देखाउनका लागि पनि निजी विद्यालयहरु अभिभावकको आर्कषणका केन्द्रबिन्दु बनेका छन् ।

अर्को तर्फ सामुदायिक विद्यालयहरुमा निजीको हाउँगुजी जस्तै डर पसेको छ । ऊ राम्रो छ । अनि हाम्रोमा उत्कृष्ट केही छैन । र, अर्को कुरा हाम्रो तलव र अन्य खर्च सरकारले दिई राखेको छ । विद्यार्थी आए पढाईदिउँला न आए के छ र ? आदि । विद्यालय शिक्षा कक्षा १ देखि कक्षा १२ कक्षामा भर्ना भए पनि बिचैमा कक्षा छाडेर, अनुत्तीणर् भएर र विविध कारणले पढाई पुरा नगर्ने विद्यार्थीको संख्या धेरै छ । भर्ना भएका मध्ये १० कक्षासम्म टिकाउँदर ५७ प्रतिशत र कक्षा १२ सम्म १७ प्रतिशतमात्र छ । पढाइ छाड्नुको धेरै कारण छन् । ति मध्ये गरिबी नै मुख्य कारण हुने गरेको कुरा धेरै अध्ययनले बताई सकेका छन् ।

वर्षेनी हजारौंको संख्यामा लाखौं खर्चेर राम्रो शिक्षाको प्रलोभन वा आशामा विदेशिनु वाध्यता छ । यसले देशको पैसा विदेश गईरहेको छ भने देशमा करोडौं खर्चेर संचालनमा रहेका विश्व विद्यालयहरुमा विद्यार्थीहरुको अभाव छ । अर्को महत्वपुणर् कारण भनेको सामुदायिक विद्यालयहरुका अभिभावकहरु विद्यालयप्रति त्यति धेरै जिम्मेवार पनि देखिदैनन् । उनीहरुले सोच्दछन् की विद्यालय पठाएकै छ । पढेर आईहाल्छ नी । शिक्षहरुको धारणा पनि उस्तै छ । नियमन गर्ने निकायले राम्रोसँग र नियमित तरिकाले नियमन नगरिदिंदा शिक्षकहरुले सोच्दछन् की पढाए पनि भयो नपढाएपनि भयो । यो सबैकालागि त होईन तर अधिकाँश यस्तै पाईन्छ ।

समस्याहरु त थुप्रै छन् । तर…तर हामीसँग उपायहरु पनि छन् । जवसम्म सामुदायिक विद्यालयहरुलाई अभिभावकहरुले यो मेरो विद्यालय हो । सरकारको लगानीमा मेरो पनि अंश छ भनेर अभिभावकहरुले बुझ्नु हुंदैन तव सम्म सामुदायिक विद्यालयहरुको अवस्था यस्तै रहन्छ भन्दा त्यति अत्युक्ती नहोला । सामुदायिक विद्यालयमा निजीमा भन्दा अवशरहरु धेरै छन् । माथि नै भनिसकियो कि नमुना विद्यालयहरुमा थुप्रै प्रकारको अनुदानहरु पनि आउँछ । अन्य विद्यालयहरुमा पनि सुविधाहरु प्रसस्तै छन् । जस्तैः शुल्क तिर्नु पर्दैन । दलित तथा अन्य बाल बालिकाहरुकालागि छात्रवृत्तीहरुको सुविधा हुन्छ । अन्य भौतिक स्रोतहरु पनि बलिया र राम्रा हुन्छन् । तालिम प्राप्त शिक्षकहरुको उपलब्धता रहेको हुन्छ ।

  1.  यस प्रकारको अवसरलाई उपयोग गर्नु आजको आवश्यकता हो । यसकालागि विद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यहरुका बाल बालिकाहरु आफ्नै विद्यालयमा पढाउनु पर्ने प्रावधान हुँदा-हुँदै आफ्ना बालबालिका निजीमा पढाउने र नक्कली अभिभावक बनेर पद ओगट्ने, राजनैतिक बर्चश्वका आधारमा यस्ता समितिहरुमा बस्न मिल्ने, स्थानीय स्तरमा शिक्षक नियुक्ती आफ्नालाई गरिदिनु जस्ता प्रवृत्ती छ । यसलाई आजकै दिनबाट निर्मूल पार्नु पर्दछ । शिक्षा क्षेत्रमा भईरहेको अराजकता र भ्रष्टाचारहरु आजैका दिनबाट हटाईनु पर्दछ ।
  2. धेरै समयको पैरवी र पृष्ठपोषण पश्चात हाल पाठ्यपुस्तक विद्यालयहरुमा पुगेका छन् । ति पाठ्य पुस्तकहरुलाई उचित तरिकाले बितरण गर्ने र सुरक्षित तरिकाले अध्ययन गर्ने र अर्को वर्ष नयाँ विद्यार्थीलाई उपलब्ध गराउने प्रचलनको विकास आवश्यक छ । अन्यथा हरेक वर्ष करोडौं पैसा पुस्तक छपाईमा खर्च हुने देखिएको छ । यस प्रकारको लापरवाही पनि निरुत्साहित गर्न जरुरी छ ।
  3. आफूले पढाउने विद्यालयका शिक्षकहरुले आफ्ना छोरा-छोरी सोही विद्यालयमा अध्ययन गर्ने नियम कडाईका साथ ल्याउनु पर्ने देखिन्छ ।
  4. आफू वि.व्य.स. वा शि.अ.स. जस्ता समिति वा अन्यमा संलग्न भएका अभिभावकका छोरा-छोरी सोही विद्यालयमा अध्ययन गर्ने नियम कडाईका साथ ल्याउनु पर्ने देखिन्छ । पदका लागि पदमात्रको काम गर्ने हो कि साँच्चैको काम गर्ने हो ? भन्ने प्रश्नहरु पनि आईरहेका छन् । अधिकांश विद्यालयहरुमा समाजका प्रतिष्ठीत व्यक्तित्वहरु वि.व्य.स. का अध्यक्ष बनाउने तर उहाँहरुका बालबालिका अन्य निजी विद्यालयहरुमा पढ्ने गरेका पनि छन् । प्रतिष्ठाकालागि मात्र पद चाहिएको हो कि ? वा, विद्यालयमा सहभागि भएपछी विद्यालयको प्रगतिको कुरा पनि गर्ने ?
  5. दुर्गमका विद्यालयहरुका पीडा अझ दुःखदायी छन् । विद्यालयमा केन्द्रबाट शिक्षकहरु जाने चलन हुन्छ । विहान विद्यालय जाने र साँझ पुनः आफ्नो घर वा केन्द्रमा नै फर्कने प्रवृत्ति अहिले पनि छ । वास्तवमा विद्यालय घर भन्दा पनि सहज र सुविधा सम्पन्न हुनुपर्दछ ।
  6. हामीले भन्ने गरेको वास्तविकता चै ‘बाल बालिका संवेदनशील हुन्छन् ।’ उनीहरुलाई धेरै ध्यान दिन आवश्यक छ । र, घरमा सोही अनुसार ब्यवहार पनि ‘अलि अलि गर्दछौं’ तर विद्यालय गयो भने ः स्वच्छ पिउने पानीको व्यवस्था छैन । ट्वाईलेट गयो पानी हुँदैन । फोहोर राख्ने डस्टबीन छैन । विद्यालयहरुमा उचित वा सुबिधासम्पन्न भान्छा हुँदैन । दिवा खाजा खुवाउने विद्यालयमा हेर्‍यो भने प्रस्ट हुन्छ । भान्छा धुलाम्मे हुन्छ । भाडाकुडाहरु प्रफेक्ट सफा हुँदैनन् । चुल्हो धुवायुक्त हुन्छन् । खाना/खाजा खाने प्लेटहरु पनि राम्रोसँग सफा नगरेका पाईन्छन् । कति लापरवाह हुन्छ । कल्पना पनि गर्न सकिंदैन । अरु बिज्ञान प्रयोगशाला, पुस्तकालयहरु त अलि परको कुरा हो ।
  7. अतिरिक्त क्रियाकलापहरुको पनि विद्यार्थी आकर्षण गर्न निकै महत्वपूणर् भूमिका हुन्छ । त्यस्ता क्रियाकलापहरु कागमा मात्र सिमित छन् । हुने गरेता पनि, औपचारिकता मात्र हुने गरेका छन् । कार्यक्रम अलि व्यवस्थित तरिकाले गर्ने । त्यसको अभिलेखन गर्ने र त्यो भन्दा अझ राम्रो गर्ने । पृष्ठपोषण आदान प्रदान गर्ने जस्ता कार्य हुँदैनन् । कार्यक्रमको नाममा औपचारिकता मात्र हुने गरेको छ । म कुनै नमुना भनिने विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तरगत वाद विवाद कार्यक्रममा सहभागि हुने अवसर मिल्यो र उपस्थित भएँ । तर उक्त कार्यक्रममा न विषय वस्तुको शिर्षक मिलेको थियो । न, विद्यार्थीले राम्रोसँग तयारी नै गरेका थिए । अच्चम लाग्यो । तर कार्यक्रम सम्पन्न भयो । यसबाट विद्यार्थीले के सिक्यो ?, अर्को कार्यक्रम कसरी गर्ने ? भन्ने विषयमा समिक्षा समेत भएन । यसरी सतहि तरिकाले काम गर्ने प्रबृत्तीले विद्यार्थीले नविनतम् के सिक्छ ?
  8. शैक्षिक भ्रमण पनि अतिरिक्त क्रियाकलापहरुमा नै पर्दछ तर शैक्षिक भ्रमण पनि त्यस्तै सतही ढंगले नै सम्पन्न गरिन्छ । थुप्रो पैसा खर्च हुन्छ तर उपलब्धी शुन्य जस्तै हुन्छ । विषयगत शैक्षिक भ्रमण हुन जरुरी छ । जस्तो विज्ञान विषयकोलागि छुट्टै, सामाजिक विषयकोलागि छुट्टै, भुगोल विषयको छुट्टै, ईतिहास विषयको छुट्टै खालको शैक्षिक भ्रमणहरु आयोजना हुनु पर्दछ । विषयगत शैक्षिक भ्रमणको पनि आफ्नै बिधी प्रक्रियाहरु विकास गरेर उपलब्धीपुणर् शैक्षिक भ्रमण आयोजना गर्नु पर्दछ । एउटै शैक्षिक भ्रमणमा सबै कुरा समेट्दा उपलब्धी शुन्य हुन्छ । किनभने विद्यार्थीहरुलाई अन्योल सृजना हुन्छ । कुन विषयमा बढी जोड दिने ? प्रतिवेदन कुन विषयमा केन्द्रित भएर लेख्ने ? हेर्नुहोस् त, हाम्रो लापरवाही ?
  9. ईन्टरनेट पनि अधिकांश विद्यालयहरुमा छ । तर त्यसको उपयोग कसरी हुन्छ ? कहिल्यै हामीले अध्ययन गरेका छौं ? वास्तवमा ईन्टरनेट फेसबुक, ट्वीटर, टिक-टक, लिङ्कईन जस्ता प्रोग्रामहरु चलाएर वितेको हुन्छ । खोजमुलक, अनुसन्धानमुलक वेवसाईटहरु खोजेर सिक्ने सिकाउने चलन प्रयाय हुँदैन । सरहरु पनि त्यही, विद्यार्थीहरु पनि त्यही । तर… तर ईन्टरनेटको काम त्यति त होईन होला । यति हुँदाहुँदै पनि विद्यालयको घेराबार पनि राम्रोसँग व्यवस्थित गरिएको हुँदैन । बेला-बेला शिक्षकहरु विदामा बस्ने, सार्वजनिक विदा धेरै हुने, स्थानीय विदा पनि धेरै हुने, समयमा पाठ्यपुस्तक उपलब्ध नहुने, विषयगत शिक्षकको कमी हुने, शिक्षकहरुलाई प्रयाप्त तालिमको अभाव हुने, तालिम प्राप्त गरिहाले पनि तालिममा सिकेका कुरा कक्षा कोठामा प्रयोग नहुने जस्ता थुप्रै-थुप्रै कारणले गर्दा हाल सामुदायिक विद्यालयहरुमा वर्षेनी विद्यार्थी घटेको हुन सक्छ र अर्को महत्वपुणर् कुरा भनेको के भने अलि आर्थिक अवस्था राम्रो भएका अभिभावकहरुले निजी विद्यालय रोज्नुले पनि यो समस्या आएको हो ।

यसको तत्काल समस्या समाधान देखिदैन । जव सम्म सोही विद्यालयका शिक्षक, पदाधिकारीहरु, त्यस वडाका जनप्रतिनिधीहरुले आफ्नो विद्यालयमा नै आफ्ना बालबालिका पढाउने नीति बन्दैन र यसो हुदैन तवसम्म सामुदायिक विद्यालयहरु यही अवस्था मै रहन्छन् । यसकालागि सरकारले नीतीगतरुपमा नै यो व्यवस्था ल्याउन आवश्यक छ । के सामुदायिक विद्यालयमा गुणस्तर बढाउन सकिंदैन ? अवश्य सकिन्छ । यसकालागि सोच बदल्न आवश्यक छ । यसकालागि अध्ययन गर्न आवश्यक छ । यसकालागि छलफल गर्न आवश्यक छ । देशले केन्द्र देखि स्थानीय स्तरसम्म शिक्षा क्षेत्र सुधारमा बैज्ञानिक बिचार ल्याउन जरुरी छ र शिक्षामा देशको कुल बजेटको कम्तीमा २० प्रतिशत बजेट हरेक बर्ष विनियोजन गर्न जरुरी छ ।

सामुदायिक विद्यालय, वर्तमान र भविष्य

औलो परिक्षण दायरा बढाऊ

सामुदायिक विद्यालय, वर्तमान र भविष्य

YUGAAWHAN NATIONAL DAILY (2080-01-25)

Leave a comment

Your email address will not be published. Required fields are marked *