कर्णालीकाे ७३ प्रतिशत जनसंख्या कृषिमा

सुर्खेत । कर्णालीलीको कुल जनसंख्याको ७३ दशमलव ७ प्रतिशत जनसंख्या कृषि क्षेत्रमा संलग्न रहेको छ । १२ औं राष्ट्रिय जनगणना २०७८ को कर्णाली प्रदेशस्तरिय अन्तिम नतिजाले कर्णालीको कुल जनसंख्याको सबैभन्दा धेरै कृषि, वन तथा माछापालन क्षेत्रमा संलग्न रहेको देखाएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनगणनाको अन्तिम नतिजा अनुसार १० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले गरेको आर्थिक कामलाई नेपालस्तरिय औद्योगिक क्षेत्र अनुसार वर्गीकरण गरी यो तथ्यांक निकालिएको हो ।

सोही अनुसार कर्णालीमा आर्थिक काममा संलग्न ९ लाख २६ हजार तीन सय ४० मध्ये सबैभन्दा बढी मानिसले कृषि, वन तथा माछापालन क्षेत्रमा काम गर्ने गरका छन् । यसपछि थोक एंव खुद्रा २ दशमलव ६, निर्माणमा ५ दशमलव २, शिक्षामा २ दशमलव ६ र सार्वजनिक प्रसाशन तथा सुरक्षाको क्षेत्रमा २ दशमलव ३ प्रतिशत जनसंख्या संलग्न रहेको तथ्यांकमा उल्लेख छ ।

जनगणना अनुसार कणर्ालीमा १० वर्ष वा बढी उमेरका १३ लाख ३७ हजार आठ सय ९३ मध्ये नौ लाख २६ हजार तीन सय ४० जनाले जनगणना भएको १२ महिना अगाडिको समयमा कुनै न कुनै आर्थिक काम गरेका छन् । जसमध्ये ४२ दशमलव ५ प्रतिशतले ६ महिना वा सोभन्दा बढी समय काम गरेको, २६ दशमलव ७ प्रतिशतले ६ महिनाभन्दा कम समय काम गरेको र ३० दशमलव ८ प्रतिशतले कुनै पनि आर्थिक काम नगरेको तथ्यांकमा उल्लेख छ ।

यस्तै कुल जनसंख्याको नौ लाख ५८ हजार ६ सय ४३ अर्थात ७१ दशमलव ७ प्रतिशत जनसंख्या आर्थिक रुपले सक्रिय रहदा तीन लाख ७३ हजार १७ जना अर्थात २७ दशमलव ९ प्रतिशत जनसंख्या निष्कृय रहेको छ । जबकी आर्थिक रुपले सक्रिय वा निष्किृय अवस्था नखुलेको व्यक्तिहरुको संख्या ६ हजार दुई सय ३३ रहेको जनगणना २०७८ को तथ्यांकमा उल्लेख छ ।

यस्तै कर्णालीमा १० वर्ष वा सोभन्दा बढी उमेरका ६ लाख ६८ हजार सात सय १५ जना अक्सर आर्थिक रुपले सक्रिय व्यक्तिहरु मध्ये ६ लाख १८ हजार चार सय ८७ जना अर्थात ९२ दशमलव ५ प्रतिशत अक्सर रोजगार र ५० हजार दुई सय २८ अर्थात ७ दशमलव ५ प्रतिशत जनसंख्या बेरोजगार रहेका छन् ।

जनगणना भएको १२ महिना अगाडिको समयमा आर्थिक काम गरेका व्यक्तिहरुको आर्थिक कामको संस्थागत क्षेत्र अनुसार सबैभन्दा धेरै घरायसी क्षेत्रमा काम गर्ने ७६ दशमलव ९ प्रतिशत, गैर वित्तीय संस्थामा काम गर्ने १७ दशमलव ६ प्रतिशत, सरकारी क्षेत्रमा काम गर्ने ४ दशमलव ७ प्रतिशत, वित्तीय संस्थामा काम गर्ने शून्य दशमलव ५ प्रतिशत जनसंख्या रहेको उल्लेख छ । यस्तै नाफा नकमाउने संस्थामा काम गर्ने शून्य दशमलव ३, उल्लेख नभएको क्षेत्रमा काम गर्ने जनसंख्या शून्य दशमलव १ प्रतिश रहेको जनगणनाको तथ्यांकमा उल्लेख छ ।

कर्णालीको कुल जनसंख्या १६ लाख, महिलाको संख्या धेरै

राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार कर्णाली प्रदेशको कुल जनसंख्या १६ लाख ८८ हजार चार सय १२ रहेको छ । जसमा पुरुष आठ लाख २३ हजार सात सय ६१ (४८ दशमलव ७९ प्रतिशत) र महिला आठ लाख ६४ हजार ६ सय ५१ (५१ दशमलव २१ प्रतिशत) रहेको छ ।

जनगणनामा अनुसार नेपालको कुल जनसंख्यामध्ये अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या दुई हजार नौ सय आठ देखिएको छ, जुन कुल जनसंख्याको शून्य दशमलव ०१ प्रतिशत हुन्छ । कुल अन्य लिङ्गी मध्ये कर्णाली प्रदेशमा २ दशमलव ८ प्रतिशत रहेको छ । यस्तै कर्णालीमा वार्षिक औसत जनसंख्या बृद्धिदर शून्य दशमलव ७० प्रतिशत रहेको छ ।

१० वर्षको अन्तरालमा कर्णालीमा १ लाख १७ हजार ९ सय ९४ जना अर्थात् ७ दशमलव ५१ प्रतिशत जनसंख्या वृद्धि भएको छ । सबैभन्दा कम जनसंख्या भएको जिल्ला हुम्ला रहेको छ । हुम्लामा ५५ हजार ३ सय ९४ रहेको छ । हुम्लामा जनसंख्या वृद्धिदर शून्य दशमलव ८२ प्रतिशत छ ।

यस्तै, सबैभन्दा बढी जनसंख्या सुर्खेतमा छ । सुर्खेतमा वार्षिक १ दशमलव ६२ प्रतिशत जनसंख्या वद्धि भइरहेको छ । मुगु १ दशमलव ४९, डोल्पा १ दशमलव ४७, हुम्ला शून्य दशमलव ८२, जुम्ला शून्य दशमलव ८०, रुकुमपश्चिम शून्य दशमलव ६८, कालीकोट शून्य दशमलव ५७ प्रतिशतले जनसंख्या वृद्धि भइरहेको छ ।

जसअनुसार सुर्खेतमा ४ लाख १५ हजार १ सय २६ जना, मुगुमा ६४ हजार ५ सय ४९ जना, डोल्पामा ४२ हजार ७ सय ७४ जना, जाजरकोटमा १ लाख ८९ हजार ३ सय ६० जना, हुम्लामा ५५ हजार ३ सय ९४ जना, जुम्लामा १ लाख १८ हजार ३ सय ४९ जना, रुकुम पश्चिममा १ लाख ६६ हजार ७ सय ४० जना र कालीकोटमा १ लाख ४५ हजार २ सय ९२ जनसंख्या पुगेको जनगणनाको तथ्यांक छ ।

कर्णालीमा जनघनत्व (प्रति वर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या) ६० जना प्रति वर्ग किलोमिटरमा रहेको छ । जुन २०६८ मा ५६ थियो । सबैभन्दा धेरै जनघनत्व रहेको जिल्ला सुर्खेतमा एक सय ६९ जना प्रति वर्ग किलोमिटर हुँदा सबैभन्दा कम ५ जना प्रति वर्ग किलोमिटर डोल्पा जिल्लामा रहेको छ ।

यस्तै कर्णालीमा कुल जनसंख्याको ५८ दशमलव ९ प्रतिशत जनसंख्या १५ वर्षदेखि ५९ वर्ष उमेर समूहका रहेका छन् । हाल १४ वर्ष वा सो भन्दा कम उमेरका र ६० वर्ष वा सो भन्दा माथिल्लो उमेरको जनसंख्या क्रमशः ३३ दशमलव १ र ८ दशमलव शून्य प्रतिशत रहेको छ । जनगणना २०६८ को तथ्यांक अनुसार कर्णालीमा परिवार संख्या दुई लाख ९८ हजार तीन सय ५९ रहेकोमा हाल उक्त संख्या २२ दशमलव ८ प्रतिशतले बढेर तीन लाख ६६ हजार दुई सय ५५ पुगेको छ । जसमध्ये व्यक्तिगत परिवार तीन लाख ६६ हजार ३७ र संस्थागत परिवार दुई सय १८ रहेका छन् । कर्णालीका नगरपालिकाको जनसंख्या ५२ दशमलव १ र गाउँपालिकाको ४७ दशमलव ९ प्रतिशत रहेको छ ।

८० प्रतिशत नागरिक शुद्ध खानेपानीको पहुँचमा

कणर्ाली प्रदेशमा अझै पनि ४ हजार २ सय ७६ अर्थात् १ दशमलव २ प्रतिशत परिवारले खानेपानीका लागि खोलानालाकै भर पर्नुपर्ने अवस्था छ । नेपालको १२ औँ राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा कुल परिवार संख्याको ३५ प्रतिशत परिवार मात्र धारा पाइप वा घरपरिसरभित्रको खानेपानीको स्रोत प्रयोग गरिरहेका छन् । घरबाहिर रहेका खानेपानी आयोजनालगायतबाट कर्णालीका ४४ प्रतिशत र पानीको मूलधाराको प्रयोग गरिरहेका परिवारको संख्या १३ प्रतिशत रहेको जनगणनाको तथ्यांकले देखाएको छ ।

५१ प्रतिशत परिवार बिजुलीको पहुँचबाहिर

कर्णालीमा कुल परिवार संख्याको ५१ प्रतिशत परिवार बिजुलीको पहुँचबाहिर रहेको जनगणनाले देखाएको छ । तथ्यांकअनुसार १ हजार ७ सय ७५ परिवार अझै पनि उज्यालोका लागि मट्टीतेलको भर पर्नुपर्ने अवस्था छ ।

यस्तै, १ सय ४५ परिवारले बायोग्यास र ७ हजार १ सय ३५ परिवारले बिजुली तथा सौर्य ऊर्जाबाहेकका अन्य स्रोत अपनाएको जनगणनाको तथ्यांकमा उल्लेख छ । कणर्ालीमा कुल ३ लाख ६६ हजार परिवारमध्ये १ लाख ८१ हजार ६ सय ७६ परिवारमा मात्र बिजुली पुगेको छ । यो संख्या कणर्ालीको कुल परिवार संख्याको ४९ दशमलव ६ प्रतिशत हो ।

यसैगरी, १ लाख ७५ हजार ३ सय ६ परिवारले बत्ती बाल्नका लागि सोलार तथा सौर्य ऊर्जाको प्रयोग गरेका छन् । यो संख्या प्रदेशको कुल परिवार संख्याको ४७ दशमलव ९ प्रतिशत हो । यस्तै, खाना पकाउने इन्धनका रूपमा ८२ प्रतिशत परिवारले दाउराको उपभोग गर्ने गरेको तथ्यांकमा उल्लेख छ ।

कर्णालीकाे ७३ प्रतिशत जनसंख्या कृषिमा

नेपाल र भारतबीच ७ बुँदे सहमतिमा हस्ताक्षर

कर्णालीकाे ७३ प्रतिशत जनसंख्या कृषिमा

फुकोट कर्णाली पनि भारतकै जिम्मा

Leave a comment

Your email address will not be published. Required fields are marked *