अकाल्पनिक भोटेकोशीको  बाढीले अतुलनिय जनधनको क्षति

सुर्खेत, ११ भदौं ।

रसुवावासीले बुधबार बिहान भोटेकोशीमा यति ठूलो बाढी आउला भन्ने कल्पना पनि गरेका थिएनन् । मंगलबार दिउँसो र राति सदरमुकाम धुन्चे वा भोटेकोशीको सिरान क्षेत्रमा उल्लेख्य वर्षा भएको थिएन । त्यसैले स्थानीय प्रशासनले पनि सम्भावित बाढीबारे कुनै सूचना वा सतर्कता जारी गरेको थिएन । 

बुधबार बिहान उज्यालो भइसकेपछि पनि भोटेकोशी सामान्य अवस्थामै बगिरहेको थियो । स्थानीयवासी आ–आफ्नो काममा व्यस्त थिए । तर, करिब पौने ९ बजेतिर अवस्था एक्कासि बदलियो । माथिल्लो क्षेत्रबाट कालो मुस्लोसहितको बाढी भोटेकोशीमा उर्लिएको देखियो । केही क्षणमै नदीले आफ्नो सामान्य बहावको रूप गुमायो । 

स्थानीयवासीका अनुसार बाढी आउँदा भूकम्प गएजस्तो जमिन हल्लिएको महसुस भएको थियो । ढुंगा, माटो र रुखका ठुटासहित आएको बाढीको आवाजले आसपासका बस्ती थर्किएका थिए । अचानक आएको बाढी यति तीव्र थियो कि धेरैले भागेर ज्यान जोगाउने मौकासमेत पाएनन् । उक्त बाढीमा परी कति जनाले ज्यान गुमाए वा वेपत्ता भए भन्ने एकिन तथ्यांक आएको छैन । बुधबार साँझसम्म ७२ जनाको शव फेला परेको छ, भने दुई सय बढीको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार भएको छ । जलविद्युत उत्पादनको हव मानिने रसुवा र नुवाकोटमा देशको अधिकांश जिल्लाबाट मजुदरीका लागि आएकाहरुको ठुलो संख्यामा पनि बाढीको चपेटामा परेको छ । 

स्थानीयले यसलाई पछिल्ला केही दशकयताकै सबैभन्दा ठूलो बाढीमध्ये एक भनेका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी पूर्णतः अप्रत्याशित थियो । कुनै पूर्वसंकेत नपाएकाले सर्वसाधारणसँगै सुरक्षाकर्मीले पनि खतराको भेउ पाउन सकेनन् । बाढीपछि सशस्त्र प्रहरीको बीओपीमा ड्युटीमा रहेका इन्स्पेक्टर अम्बिर खत्रीसहित केही सुरक्षाकर्मी सम्पर्कविहीन छन् । 

इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी र प्रहरी चौकी रसुवागढीमा समेत ठूलो क्षति पुगेको छ । बाढीले बस्ती र भौतिक संरचना बगाउँदै लगेका दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । ती दृश्यले ठूलो जनधनको क्षति भएको संकेत गर्छन् । यद्यपि, तत्कालै क्षतिको यकिन विवरण आउन सकेको छैन । जटिल भौगोलिक अवस्थाका कारण उद्धार र खोजी कार्यसमेत चुनौतीपूर्ण बनेको छ ।

यसपालिको बाढी स्थानीय वर्षाका कारण मात्रै आएको देखिँदैन । नेपालतर्फ भोटेकोशीको सिरानमा वर्षा नभएको अवस्थामा एक्कासि यति ठूलो बाढी आउनुले माथिल्लो हिमाली क्षेत्रमा कुनै असामान्य घटना भएको हुन सक्ने आशंका गरिएको छ । 

तिब्बततर्फको कुनै हिमताल फुटेर बाढी आएको वा हिमपहिरोले नदी थुनेर एक्कासि पानीको निकास खुलेको हुन सक्ने प्रारम्भिक अनुमान छ । सरकारी निकायले यसको औपचारिक पुष्टि भने गरिसकेको छैन । प्रजिअ परियारले स्थानीय अगुवा, जनप्रतिनिधि र सुरक्षा निकायसँगको छलफलका आधारमा हिमताल फुटेको हुन सक्ने आशंका गृह मन्त्रालयलाई जानकारी गराइएको बताएका छन् ।

गत वर्ष पनि यही क्षेत्रमा चीनतर्फको अविरल वर्षापछि भीषण बाढी आएको थियो । त्यसबेला १८ जनाभन्दा बढी सम्पर्कविहीन भएका थिए । तर, अघिल्लो घटनामा चीनतर्फ वर्षा भइरहेको सूचना पहिल्यै प्राप्त भएकाले स्थानीयलाई सतर्क गराइएको थियो । यसपालि भने त्यस्तो पूर्वसूचना नहुँदा जोखिमको आकलन र पूर्वतयारी हुन सकेन । 

भोटेकोशीको बाढी त्रिशूली नदीमा मिसिने भएकाले यसको असर रसुवामा मात्रै सीमित भएन । त्रिशूली हुँदै नुवाकोट, धादिङ र चितवनतर्फ समेत ठुलो क्षति भएको छ । नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । रसुवा नेपालको उत्तरी सीमामा चीनको तिब्बतसँग जोडिएको हिमाली जिल्ला हो । करिब एक हजार पाँच सय १२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको जिल्लाको भूगोल तल्लो पहाडी क्षेत्रदेखि अग्ला हिमालसम्म फैलिएको छ । 

लाङटाङ हिमाल, लाङटाङ राष्ट्रिय निकुञ्ज, गोसाइँकुण्ड र चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी यही जिल्लामा पर्छन् । तिब्बतबाट नेपाल प्रवेश गर्ने भोटेकोशी टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी हुँदै तल बग्छ । साँघुरा उपत्यका, तीव्र बहावका नदी र हिमाली भूगोलका कारण रसुवा बाढी, पहिरो र हिमाली विपद्को उच्च जोखिममा रहेको जिल्ला हो ।

जलविद्युत्‌मा ठुलो क्षति 

बाढीले ऐतिहासिक बेत्रावती बजारसहित टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । लाङटाङ र गोसाइँकुण्ड क्षेत्रतर्फ जाने पर्यटकसमेत प्रभावित भएका छन् । भोटेकोसी बाढीमा तीन सय ८४ जना पर्यटक बेपत्ता भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो संख्या नेपाली र विदेशी पर्यटकको हो । 

भोटेकोशी नदीमा आएको विषण बाढीका कारण १३ जलविद्युत आयोजनामा ठुलो क्षति पुगेको छ । नेपाल विद्युत प्राधिकरण र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को प्रारम्भिक तथ्यांक अनुसार उर्जा उत्पादनको हव मानिने रसुवा र नुवाकोट जिल्लामा सञ्चालन र निर्माणका क्रममा रहेका सात सय ४८ मेगावाट १३ जलविद्युत आयोजनामा ठुलो क्षति भएको छ । 

सञ्चालनमा रहेका आयोजनाबाट विजुली उत्पादन पूर्णरुपमा बन्द भएको छ, भने निर्माणाधिन आयोजनाका सिभिल र हाइड्रोमेकानिकल संरचनामा ठुलो क्षति पुगेको जनाइएको छ ।  इप्पानका अनुसार निजी क्षेत्रबाट सञ्चालित चार आयोजनाबाट उत्पादन हुने तीन सय ५४ मेगावाट विजुली पूर्णरुपमा बन्द भएको छ । 

त्यस्तै, सरकारकारी लगानीका चार आयोजनाबाट उत्पादन हुने एक सय २३ मेगावाट विजुली उत्पादन पूर्णरुपमा बन्द भएको छ । त्यस्तै, रसुवा र नुवाकोटमा निजी क्षेत्रबाट निर्मार्णाधिन तीन सय ४२ मेगावाटका पाँच आयोजनमा ठुलो क्षति पुगेको छ । तथ्यांक अनुसार रसुवा जिल्लामा निजी क्षेत्रद्वारा सञ्चालित रसुवागढी एक सय ११, सान्जेन खोला ७८, लाङटाङ खोला २०, चिलिमे २२ गरी दुई सय ३१ मेगावाट क्षमताका आयोजना पूर्णरुपमा बन्द भएका छन् । 

त्यस्तै, रसुवा जिल्लामा निजी क्षेत्रबाट निर्माण भइरहेका माथिल्लो त्रिशुली–१, एक सय २६, रसुवा–भोटकोशी एक सय २०, माथिल्लो मेलुङ–ए ६.४२ गरी तीन सय ४२ मेगावाट क्षमताका आयोजनाका सिभिल र हाइड्रो संरचनामा ठुलो क्षति पुगेको छ । नुवाकोट जिल्लामा सरकारी लगानीमा सञ्चालित चार आयोजनाबाट उत्पादन हुने एक सय २३ मेगावाट बिजुली राष्ट्रिय ग्रीडबाट बिच्छेद भएको जनाइएको छ । 

जसमा त्रिशुली जलविद्युत आयोजना २४, देवीघाट जलविद्युत १४.१, माथिल्लो त्रिशुली–३ ए ६०, र ४० मेगावाट क्षममताको सोलार आयोजनामा क्षति पुगेको छ । नुवाकोटमा निजी क्षेत्रले विकास गरिरहेका माथिल्लो त्रिशुली–३ ए, ३७ र माथिल्लो त्रिशुली–३ बी १५.६ मेगावाटका आयोजनामा ठुलो क्षति भएको छ । बाढीले जलविद्युत आयोजना बगाउँदा काठमाण्डौं विद्युत कोरिडोरमा विुद्यत व्यवस्थामा सकस भइरहेको जनाइएको छ ।

अकाल्पनिक भोटेकोशीको   बाढीले अतुलनिय जनधनको क्षति

सम्पादकीय : भूकम्पपछि पहिरोको कहर

अकाल्पनिक भोटेकोशीको   बाढीले अतुलनिय जनधनको क्षति

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

Leave a comment

Your email address will not be published. Required fields are marked *