भोगाधिकार जग्गामा सुर्खेत उद्योग वाणिज्य संघकाे नाममा २६ वर्षको भाडा वक्यौता !

पुनम विसी
सुर्खेत, १७ साउन ।
सुर्खेत उद्योग वाणिज्य संघले हाल प्रयोग गरिरहेको जग्गा सुर्खेत उपत्यका नगर विकास समितिको हो । संघले हाल भोगचलन गर्दै आएको जग्गा संघले नगर विकास समिति मार्फत लिएको ३१ वर्ष पुरा भईसकेको छ । नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा संघले भाडामा लगाएको खण्डमा शुल्क बुझाउने गरी भोगाधिकार पाएको थियो । तर २६ वर्षदेखि सुर्खेत उद्योग वाणिज्य संघले नगर विकास समितिलाई भाडा बुझाएको विषयमा रेकर्ड छैन ।

युगआह्वान दैनिकलाई प्राप्त कागजपत्रमा वि.सं. २०४९ साल असार ३० गते उद्योग व्यापार संघ (हालको सुर्खेत उद्योग वाणिज्य संघ)लाई कार्यालय सञ्चालन प्रयोजनका लागि मात्र जग्गा उपलब्ध गराइएको देखिन्छ । सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालिन अध्यक्ष एवं सुर्खेतका प्रमुख जिल्ला अधिकारी रेवतीरमन नेपालको अध्यक्षतामा बसेको बैठकको निर्णय नं. ८ मा विभिन शर्तका अधिनमा रही संघलाई जग्गा उपलब्ध गराइएको थियो । संघसँग भएको शर्तहरुमा उपलब्ध गराइएको जग्गामा घर निर्माण गरी भोगचलन गर्ने र भाडामा समेत लगाउन पाइने प्रावधानहरु थिए ।

त्यसैगरी पाँच वर्षसम्म संघले भाडा उठाएमा उठाएको भाडा नगरलाई पठाउन नपर्ने तर पाँच वर्षपछि भने भाडाको एक तिहाई रकम नगर विकास समितिलाई बुझाउनुपर्ने शर्तहरु थिए । तर हालसम्म पनि उपत्यका नगर विकास समिति भाडाका विषयमा भने वेखवर नै छ । ‘सुर्खेत उद्योग वाणिज्य संघले भाडा बुझाएको विषयमा हामीलाई अहिलेसम्म जानकारी नै थिएन’, सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयका लेखापाल खड्क रानाले भने ।

उपत्यका नगर विकास समितिका पदाधिकारीलाई हालैमात्र संघबाट भाडा असुल गर्नुपर्ने विषयमा जानकारी भएको हो । भोगाधिकारमा जग्गा लिएको ३१ वर्ष भईसकेको छ, यस अवस्थामा भवनका कोठाहरु भाडामा लगाएको भए, २६ वर्षसम्म उठेको भाडाको एक तिहाई रकम नगर विकास समितिलाई बुझाउनुपर्ने हुन्छ । संघले जग्गा प्राप्त गर्दा त्यस क्षेत्रमा तत्कालिन घरेलु शिल्पकला बिक्रि भण्डारले निर्माण गरेको घर थियो । तर यस विषयमा भने नगर विकास समितिका हालका पदाधिकारीहरु वेखवर नै छन् ।

सुर्खेत उद्योग वाणिज्य संघले कहिले देखि कोठा भाडामा दिएको र सो वापत कति रकम लिने भन्ने विषयमा हालसम्म पनि नगर विकास समितिसँग पनि आधिकारिक तथ्यांक छैन । वि.सं. २०६४ सालबाट समितिको कार्यालयमा कार्यरत लेखापाल रानालाई समेत सो समयमा यो विषयमा जानकारी नै भएन । ‘२०६४ पछि सुर्खेत उद्योग वाणिज्य संघबाट भाडा असुल्नुपर्छ भन्ने पनि मैले जानकारी पाएको थिएन । मैले कार्यभार सम्हाल्दा समेत यस विषयमा कुनै जानकारी तथा रेकर्ड पाएन’, उनले भने ।

के छ निर्णय नं. ८ मा ?
वि.सं. २०४९ साल असार ३० गते बसेको समितिको वैठकले आठवटा निर्णयहरु गरेको थियो । यि निर्णयहरु मध्ये वीरेन्द्रनगरमा घडेरी वितरण तर्फ छुट भएकाहरुका लागि १५ दिने सूचना प्रकाशन गर्ने निर्णय भएको थियो । सो पछि तत्कालिन क्षेत्रीय संग्राहलयको भवन संरक्षण तथा मर्मतका लागि लागत रकम स्टमेट गरी पुरातत्व विभाग र संस्कृति मन्त्रालयमा अनुरोध गर्ने लगायतका निर्णय भएका थिए ।

‘उद्योग व्यापार संघ, सुर्खेतलाई घरेलु शिल्पकला बिक्रि भण्डारले निर्माण गरेको घर जग्गाको प्लट उपलब्ध गराउने’, सोहि दिन भएको निर्णय नं. ८ मा उल्लेख छ, ‘व्यापार संघले जग्गा उपलब्ध गराए वापत उक्त जग्गामा घर निर्माण गरी भाडा उठाउँदा पाँच वर्षसम्म समितिलाई केहि दिनु नपर्ने र तत्पश्चात उठेको भाडाको एक तिहाई रकम समितिको खातामा जम्मा गर्नु पर्ने’ छ ।

अदालत पुग्यो मुद्दा
वीरेन्द्रनगरका राजनीतिक दलहरुले लिएको नगर विकास समितिको जग्गाको विषय समेत सुर्खेत उद्योग वाणिज्य संघसँग जोडिएको छ । मधेशी जनअधिकार फोरम नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल), नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस, नेकपा एमोले, नेकपा माले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्खेत कार्यसमितिहरुलाई समेत नगर विकास समिति मार्फत कार्यालय सञ्चालनका लागि जग्गा दिइएको थियो ।

१२ दशमलव पाँच मिटर मोहोडा हुनेगरी दलहरुलाई एक–एक कट्ठा जग्गा भोगाधिकारका लागि दिइएको थियो । तर अहिले उच्च अदालत, सुर्खेतमा वीरेन्द्रनगर–६ निवासी पूर्णबहादुर पौडेलले सुर्खेत उद्योग वाणिज्य संघ सहित यहाँका राजनीतिक दल तथा सरोकारवाला सरकारी कार्यालयलाई विपक्षी बनाएर उजुरी समेत दर्ता गरेका छन् । उजुरीमा सुर्खेत उद्योग वाणिज्य संघ लगायत राजनीतिक दलहरुले कार्यालय सञ्चालनका लागि जग्गा लिएर भाडामा लगाएको उल्लेख छ ।

दलहरुले भोगाधिकारका लागि दिइएको जग्गामा घर बनाई स्वामित्व विनै अर्को पक्षलाई व्यवसाय सञ्चालन गर्न दिएका र सुर्खेत उद्योग वाणिज्य संघले भवन निर्माण गरेको पाँच वर्षपछि देखि अहिलेसम्मको सम्पूर्ण रकम सुर्खेत उपत्यका नगर विकास समितिको खातामा जम्मा गर्न, गराउन माग गरिएको छ ।

भोगाधिकार मात्र पाएको जग्गामा संघको मनपरी
भोगाधिकार र स्वामित्व दुई फरक पक्ष हुन् । जग्गामा नगर विकास समितिको स्वामित्व हुन्छ भने भोगाधिकार मात्र जग्गा पाएकाहरुलाई हुन्छ । भोगाधिकारमा पनि कुन प्रयोजनका लागि लिइएको हो ?, सोहि प्रयोजनमा मात्र जग्गा प्रयोग गर्न पाइन्छ । फरक प्रयोजनमा जग्गा प्रयोग भएमा जग्गाको स्वामित्वकर्ताले आफ्ना शर्त तथा सम्झौता बदर गर्न सक्ने अथवा स्वतः वदर भएको मानिन्छ ।

कार्यालय सञ्चालनका लागि भोगाधिकारमा पाएको जग्गामा बनेको घरमा सुर्खेत उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई भाडामा सटर कोठाहरु समेत दिएको छ । एकातिर सुर्खेत उपत्यका नगर विकास समितिलाई जानकारी नै नगराई भाडामा कोठाहरु दिनु र अर्को तर्फ भाडामा दिएवापत बुझाउनुपर्ने एक तिहाई रकम हालसम्म पनि समितिलाई उपलब्ध नगराउँदा सम्झौताका शर्तहरु उल्लंघन भएकाले करार सम्झौता स्वतः बदर हुने सम्भावना रहन्छ ।

भाडा बुझाउँन तयार छौँः अध्यक्ष कंडेल
यता सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले भने संघले भाडा बुझाउँनु पर्ने भएमा संघ तयार रहेको बताउँछन् । ‘सुर्खेत उद्योग वाणिज्य संघ व्यवसायीहरुको छाता संस्था हो । यसैको आधारमा व्यवसायीहरुले अहिले सटरकोठामा व्यवसाय सञ्चालन पनि गर्नुभएको छ’, उनले भने, ‘नगर उपत्यकालाई हामीले भाडा बुझाउनुपर्ने भए हामीले बुझाउँछौ ।’

भोगाधिकार जग्गामा सुर्खेत उद्योग वाणिज्य संघकाे नाममा २६ वर्षको भाडा वक्यौता !

YUGAAWHAN NATIONAL DAILY (2080-04-18)

Leave a comment

Your email address will not be published. Required fields are marked *