धान उत्पादनमा ध्यान देऊ !

कर्णालीको राजधानी वीरेन्द्रनगमै पनि केहि दशक पहिलेसम्म वर्षमा दुई पटक सम्म धान रोपिन्थ्यो । चैत्रको महिनामा ‘चैते धान’ रोपेर किसानहरु असार महिनामा पुनः सोहि जग्गामै धान रोप्थे । यसले उत्पादन तर्फ समेत निकै सघाउ गरेको थियो । तर अहिले त्यो अवस्था फेरिएको छ । कर्णालीमा जुम्ला वाहेक अन्यन्त्र प्राय स्थानमा असार महिनामा मात्र एक बाली धान खेती गरिन्छ । केहि वर्ष पहिले यहाँका केहि स्थानमा किसानहरुले चैत्रमा समेत धान रोप्न पुनः सुरुवात गरेपनि सफल भने भएनन् ।

वीरेन्द्रनगर क्षेत्रमा केहि किसानले ‘कालो धान’ उत्पादनको प्रयास समेत नगरेका भने थिएनन् । तर अहिले यसलाई निरन्तरता दिएको भने देखिदैन । तरकारी बाली र कोदो, फापर, कागुनो, चिनो उत्पादनमा विशेष ध्यान दिन थालेको कर्णालीले प्रमुख बाली धानका लागि भने ध्यान नै दिएको छैन । वर्षेनी रुपमा यहाँ कणालीमा धान उत्पादन घटिरहेको छ । मकै, गहुँ र जौं जस्ता बालीले ढाकेको क्षेत्रफल बढ्न थालेपनि धान बाली भने कर्णालीमा घट्दो अवस्थामा छ । मकै, गहुँ जस्ता बालीलाई धानको तुलनामा सिंचाई धेरै आवश्यक पर्दैन । सिंचाई सुविधा प्रयाप्त नभएका भिरालो जमिनमा समेत आकाशे पानीको भरमा मकै, गहुँ जस्ता बाली लगाउन सकिन्छ । ‘भगवान भरोसा’मा कर्णालीका किसानहरुले कम सिंचाई आवश्यक पर्ने बाली लगाउछन् । आवश्यक समयमा वर्षात भयो भने, उत्पादन ठिकै हुन्छ । नभए सिंचाई अभावले घाटा नै हुन सक्ने जोखिम मकै र गहुँ जस्ता बालीमा त्यति हुँदैन । तर यता धानको लागि भने सिंचाई मुख्य पक्ष हो ।
कर्णालीमा अहिलेपनि ६० प्रतिशत जमिनमा आकाशे पानीकै भरमा खेती हुन्छ । प्रदेशमा करिव ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । कर्णालीको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक अनुसार यहाँ २५ लाख २५ हजार दुई सय ७६ हेक्टर क्षेत्रफल जमिनमध्ये दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य छ । त्यसमध्ये पनि दुई लाख १६ हजार आठ सय ८० हेक्टर क्षेत्रफलमा मात्र खेती गरिन्छ । खेती गरिने कुल जमिनमध्ये ४८ हजार आठ सय ८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ हुन्छ । कृषि विकास निर्देशनालय, सुर्खेतका अनुसार ३८ हजार ३३ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा मात्र वर्ष भरी सिंचाई सुविधा पुग्छ । ३० हजार तीन सय दुई हेक्टर क्षेत्रफल जमिनमा आंशिक रुपमा सिंचाई सुविधा उपलब्ध छ ।
करिव ६० प्रतिशत बढी खेतीयोग्य जग्गामा सिंचाई सुविधा अभाव अवस्थामा कर्णालीमा उत्पादन बढ्छ भन्ने देखिदैन । यसको पहिलो प्रभाव धान खेतीमा परेको छ । नेपाल राष्ट्र बैकको सुर्खेत कार्यालयद्वारा प्रकाशित प्रादेशिक आर्थिक अध्ययन प्रतिवेदन, २०७९ ले समेत धान खेती क्षेत्र घटेको देखाउछ । २०७८÷०७९ को तुलनामा २०७९÷०८० मा कर्णालीमा धान बालीले ढाकेको क्षेत्रफल एक दशमलव १८ प्रतिशतले घटेको छ । खोला किनारा माथी रहेका बगरमा अहिले पनि सिंचाईको अभाव छ । सम्भावना नभएको भने होइन, विद्युत पहुँच समेत नभएका यस्ता खोला किनारा माथीका जग्गामा हावाको चापले विना विद्युत पानी तान्न सकिने प्रविधिको विकास छ । यो प्रविधिलाई स्थानीय स्तरमा उपभोग गराउन सरकारी तह सक्रिय हुनुपर्छ । अन्यथा वर्षैपिच्छे कर्णालीमा बाँझो जग्गाहरुको क्षेत्रफल बढ्दै जाने र धान जस्तो प्रमुख बालि उत्पादनमा ह्रास आउने देखिन्छ । सिंचाईमा भुगोल सुहाउँदो र लागत घटाउने प्रविधिको प्रयोग गर्दै कर्णालमिा धान उत्पादन बढाउन ध्यान दिनुपर्छ ।






