फुटपाट व्यापारीहरुको गुनासोः दुव्र्यवहार र अपमान भोग्दै व्यवसाय

पुनम वि.सी.
सुर्खेत, २५ पौष

वीरेन्द्रनगर नगरपालिका स्थायी ठेगाना भएकी सरिता सोनीको व्यवसाय फुटपाथमा छ । उनले फुटपाथमै तरकारी तथा फलफुलको व्यवसाय गर्न थालेको दुई वर्ष पुग्न लाग्यो । स्थानीय बजारबाटै तरकारी खरिद गरी उनले फुटपाथका साथै बजार–बजार डुलाएर समेत बिक्रि गर्छिन् । दैनिक ६ घण्टासम्म उक्त व्यवसायमा बिताएको समयले उनलाई मासिक १५ हजारसम्म आम्दानी दिन्छ ।

एलएलसी पास गरेपछि उनले थप अध्ययन गरिनन् । रोजगारीको पनि समस्या भयो । रोजगारीको अवसरबाट वञ्चित भएपछि फुटपाथमा व्यवसाय सञ्चालन गरेको उनले जानकारी दिइन् । डोको बोकेर ठाउँ परिवर्तन गर्दै व्यवसाय गर्ने उनले व्यवसायमा अनेकौं सास्ती भोग्नुपर्ने बाध्यता रहेको बताउँछिन् ।

यसैगरी हरिकला शर्माको अनुभव पनि उस्तै छ । उनी भने फुटपाथमा कस्मेटिक र खुद्रा सामाग्री बिक्रि गर्छिन् । फुटपाथमा व्यवसाय सञ्चालन गर्दा भने उनमा नगरपालिकाका कर्मचारीबाट सदैव डर भईरहन्छ । ‘उनीहरु नजाने चोकमा व्यापार हुँदैन, अलि व्ययस्त चोकमा भने नगरका कर्मचारीले हैरान पार्छन् ।’

नगरपालिका, प्रहरी तथा सरकारी संस्थान्हरुबाट सास्तीलगायतका दुव्र्यवहार भोग्दै गरेका सरिता र हरिकला झै नागरिकहरु फुटपाथमा व्यवसाय गर्न बाध्य समेत छन् । मुख्य रुपमा बेरोजगारीको समस्याले फुटपाथमा व्यवसाय सञ्चालन गर्न वाध्य रहेको बताउने उनीहरुमध्ये कोही कृषक तथा कोहि विद्यार्थी समेत भेटिन्छन् ।

वीरेन्द्रनगर क्षेत्रमा फुटपाथमा व्यवसाय गर्नेहरु मध्य ६५ प्रतिशत व्यवसायी बेरोजगारीका कारण सो क्षेत्र रोजेको बताउँछन् । यसका साथै २८ प्रतिशत व्यवसायी फुटपाथमै अन्य काम गर्दै व्यवसायमा समेत संलग्न भएको देखिन्छ । वि.सं. २०७६ सालमा वीरेन्द्रनगरमा सात सय जनाको संख्यामा फुटपाथ व्यवसायीहरु थिए ।

अहिले यो संख्या घटेर दुई सय २० जनामा झरेको छ । तीन आर्थिक वर्षको समावधिमा वीरेन्द्रनगर क्षेत्रमा ६९ प्रतिशतले फुटपाथ व्यवसायीको संख्यामा कमी आएको छ । केहि वर्ष यता वीरेन्द्रनगरका फुटपाथमा व्यवसाय गर्नेहरुको संख्यामा कमी आएपनि फुटपाथको व्यवसायलाई बन्द गर्न सकिने असम्भव जस्तै देखिन्छ ।

वीरेन्द्रनगर क्षेत्रका फुटपाथमा व्यवसाय गर्नेहरु मध्य अधिकांश वीरेन्द्रनगर निवासी नागरिक नै छन् । हालको समयमा फुटपाथमा व्यवसाय गरिरहेका मध्य ५१ प्रतिशत वीरेन्द्रनगर नगरपालिकाका वासिन्दा छन् । यसैगरी सुर्खेत जिल्लाका अन्य पालिका स्थायी ठेगाना भएका नौं प्रतिशत नागरिक छन् ।

सुर्खेत वाहेक कर्णाली प्रदेशका अन्य जिल्लाका २७ प्रतिशत, अन्य प्रदेशका ११ प्रतिशत र नेपाल वाहिरबाट आएका दुई प्रतिशत नागरिक वीरेन्द्रनगरमा फुटपाथ व्यवसाय सञ्चालन गरिरहेको तथ्यांकले देखाउछ । ऋति फाउन्डेसनले ‘वीरेन्द्रनगरमा फुटपाथ व्यवसायको अवस्था, नीतिगत वाधाहरु र समाधानका उपायहरु’ मा गरेको अध्ययन तथ्यांकमा वीरेन्द्रनगरमा फुटपाथ व्यवसायमा नागरिकहरुको वेरोजगारी समस्या पश्चात नै संलग्न भएको जनाएको छ ।

वीरेन्द्रनगरका फुटपाथमा व्यवसाय गर्नेहरुलाई उचिन स्थानकै अभाव छ । उनीहरु मध्य धेरैले पटक–पटक प्रहरीबाट दुव्र्यवहारको समेत सिकार हुनुपरेको छ । वेराजगारी समस्याले सृजना गरेको फुटपाथ व्यवसायीलाई उपयुक्त र सुरक्षित स्थानको अभाव भएको उनीहरुले बताएका छन् ।

स्थानीय पालिका वीरेन्द्रनगर नगरपालिकासँग फुटपाथ व्यवसायी सन्तोष समेत छैनन् । वीरेन्द्रनगरका स्थानीयवासीको धेरै सहभागिता रहेको यो क्षेत्रका व्यवसायीले नगरपालिकाले आफुलाई वास्ता नगरेको आरोप लगाउने गरेको अध्ययनमा उल्लेख छ । कुल फुटपाथ व्यवसायी मध्य ३८ प्रतिशत नागरिकले पालिकाले आफुहरुका वारेमा नसोचेको आरोप लगाए । यसैगरी ३६ प्रतिशत फुटपाथ व्यवसायीले नगरपालिका तथा मातहतका कर्मचारीले नै फुटपाथ व्यवसायी माथी अभद्र व्यवहार गर्ने गरेको बताउछन् ।

हाल फुटपाथ व्यवसाय संचालन गरिरहेका उनीहरु मध्य धेरैको माग एउटै छ, व्यवसायका लागि ठाउँ व्यवस्थापन । नगरपालिकाले फुटपाथ व्यवसायीका लागि व्यवस्थित ठाउँको व्यवस्थापन गरी निर्धक्कसँग व्यवसाय गर्न पाउनेगरी कानून निर्माण गर्न जरुरी रहेको उनीहरुले बताएको अध्ययनले जनाएको छ ।

वीरेन्द्रनगरका फुटपाथ क्षेत्रमा अधिकांश व्यवसायीले कृषि उपजहरु बिक्रि गर्छन् । हालको समयमा दुई सय विस जना फुटपाथ व्यवसायी मध्य ९३ जनाले कृषि उपजहरु बिक्रि गर्दै आएका छन् । अन्य व्यवसायीले, तयारी खाद्यवस्तु, खुद्रा तथा लत्ताकपडाको व्यवसाय सञ्चालन गर्छन् ।

यसरी फुटपाथमा बिक्रि हुने वस्तुहरु सबै यहीको स्थानीय बजारबाटै खरिद गरिएका हुन्छन् । अध्ययनका अनुसार फुटपाथमा बिक्रि हुने वस्तुहरु मध्य ९२ प्रतिशत सामाग्री स्थानीय बजारबाटै खरिद गरिएको हुन्छ ।

वर्गीकरण सहितको व्यवस्थित फुटपाथ

‘फुटपाथले दक्षिण एसियाभरी लाखौं परिवारलाई रोजगारी दिन्छ, जहाँ हजारौंले सडक, फुटपाथ र अन्य खुला सार्वजनिक ठाउँहरुमा सामान बेचेर आफ्नो जीविको पार्जन गर्छन् ।

यो सहरी गरिबहरुका लागि आउको मुख्य स्रोतका साथै सहरका बासिन्दाहरुका लागि अपेक्षाकृत सस्तो वस्तुहरुको स्रोतको रुपमा रहन्छ’, फुटपाथ व्यवसायको अवस्था अध्ययन गरेको संस्था ऋति फाउन्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले भने, ‘फुटपाथ व्यवसायलाई सहजरुपमा व्यवस्थापन गर्न सकेमा समस्या नभई स्रोत हुनसक्ने हाम्रो अध्ययनले देखाएको छ ।

यसले गरिब जनतालाई काम, रोजगारी र जीविकोपार्जन प्रदान गर्दै आएको हुनाले यो बढ्दो बेरोजगारी दरलाई समाधान गर्ने स्रोत बन्न सक्छ ।’ वीरेन्द्रनगरका हकमा यहाँ मुख्य बजार आसपास जोडिएका खुला सडकहरुमा फुटपाथलाई व्यवस्थित गर्न सकिने अध्ययनले सुझाएको छ । यसका लागि ‘रेड, एल्लो र ग्रिन जोन’का रुपमा छुट्टाएर तीन प्रकारमा बर्गिकरण गर्न सकिने उनले बताए ।

गणेशचोकदेखि मंगलगढी चोकसम्मको मुख्य सडक, बुद्धपथ सडक, वीरेन्द्रनचोकबाट एरिचोक जाने सडक, जुम्लारोड वडा नं. ६ मा पर्ने अधिकांश फुटपाथहरुलाई रेड जोन घोषित गरी यहाँ पूर्णरुपमा फुटपाथ व्यवसाय निषेधित गर्न सकिन्छ । यसैगरी हटियाचोकदेखि शिक्षा क्याम्पससम्म पुग्ने सडक, पिपलचौतारा वरिपरीको क्षेत्रलगायतका विद्यालय र प्रमुख प्रशासनिक भवनहरुको नजिक सवारी चाप अनुसार निश्चित समयका लागि फुटपाथ व्यवसाय सञ्चालन गराउन सकिन्छ । यसलाई एल्लो जोनका रुपमा लिन सकिने उनले बताए ।

यसैगरी जुनसुकै समयमा पनि फुटपाथ व्यवसायको लागि उपयुक्त क्षेत्रका रुपमा ग्रिन जोन घोषणा गरी घण्टाघरको पश्चिम पर्खाल पछाडी रहेको खाली सडक, जिल्ला प्रहरी कार्यालय अगाडीदेखि कालिञ्चोक सम्मको धेरै चौडाई भएको हटलाइन सडक, घण्टाघरदेखि नगरपालिकासम्मको सडकको कुइनेपानी जंगलतिरको क्षेत्र, गणेशचोक, आँखा अस्पताल अगाडी, मंगललढीदेखि लाटिकोइली जाने बाटोको पुर्व, श्री संस्कृत विद्यालय नजिक, सुर्खेत उपत्यका खानेपानीको कार्यालय अगाडीलगायतका कम सवारी चाप हुने स्थान उपयुक्त हुने उनको सुझाव छ ।

कहिले बन्ने व्यवस्थित ?

सुर्खेत उद्योग वाणिज्य संघकका अध्यक्ष लक्ष्मण कँडेल समेत फुटपाथ व्यवसायीहरुको लागि उपयुक्त स्थान घोषित गर्नुपर्ने सुझाव दिन्छन् । उनले भने, ‘फुटपाथ व्यवसाय भनेको रोजगारीसँग जोडिएको छ । विपन्न समुदायका नागरिक यस व्यवसायमा लागेका छन् । उनीहरुलाई व्यवसाय नै नगर भन्दा पनि राम्रो हुदैन । त्यसैले तोकिएको स्थानमा फुटपाथ व्यवसाय सञ्चालन वाहेकको विकल्प भने छैन ।’

फुटपाथ व्यवस्थापनको दायित्व रहेको वीरेन्द्रनगर नगरपालिका यस विषयमा मौन बसेको अध्यक्ष कँडेलको आरोप छ । उनले भने, ‘अव्यवस्थित फुटपाथ व्यवसायले सबैलाई प्रभाव पार्छ । व्यवस्थित बनाउन तफृ भने वीरेन्द्रनगर नगरपालिकाले चासो दिएको छैन ।’

यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले फुटपाथ व्यवस्थापनको योजनामा वीरेन्द्रनगर नगरपालिका रहेको जानकारी दिए । फुटपाथ क्षेत्र खाली गराउने तर्फ जनाउदै उनले यस विषयमा नगरपालिकाले निर्णय गर्ने जनाए ।

तपाईको प्रतिक्रिया