आगामी आर्थिक वर्षको बजेट सकारात्मक, हस्तकला क्षेत्र उत्साहित

काठमाडौँ, २१ जेठ । 

नेपाल हस्तकला महासङ्घले आगामी आर्थिक वर्षको बजेट सकारात्मक भएको बताएको छ । महासङ्घका कार्यवाहक अध्यक्ष राजमान बज्राचार्यले आज एक विज्ञप्ति जारी गरी आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले स्वदेशी उद्योग र हस्तकला क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका हुन ।

महासङ्घले बजेटले आर्थिक सुधार, निजी क्षेत्रको प्रवद्र्धन र कर प्रणालीमा सरलीकरणलाई प्राथमिकता दिएको भन्दै यसको स्वागत गरेको छ । बजेटले २७३ प्रकारका औद्योगिक कच्चापदार्थमा भन्सार दर घटाएको र ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेको विषयलाई सकारात्मक रूपमा लिएको छ ।

“कच्चापदार्थ र तयारी वस्तुको करको दरबीच सन्तुलन कायम गर्ने प्रयासले स्वदेशी उद्योगको उत्पादन लागत घट्ने र निर्यात बढ्ने हाम्रो विश्वास छ,” महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, अधिकतम आयकरको दर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशतमा कायम गरिनु र वार्षिक रु १० लाखसम्म आय गर्नेलाई न्यून करको दायरामा ल्याइनुले हस्तकला क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरू लाभान्वित हुने महासङ्घको अपेक्षा छ । बजेटमा उल्लिखित सहुलियतपूर्ण कर्जाको व्यवस्थाले हस्तकला क्षेत्रमा संलग्न ठूलो सङ्ख्याका महिला उद्यमी प्रोत्साहित हुने महासङ्घले जनाएको छ । 

त्यस्तै, स्वदेशी काष्ठ उद्योगलाई प्रोत्साहित गर्ने बजेटको नीतिले काष्ठकला क्षेत्रमा कच्चापदार्थको आपूर्ति सहज भई अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धी क्षमता बढ्ने विश्वास महासङ्घले लिएको छ । त्यसैगरी, कम्पनी बन्द गर्ने प्रक्रिया सहज बनाउने, बौद्धिक सम्पत्तिसम्बन्धी कानुन तर्जुमा गर्ने र निर्यातमा दिइँदै आएको नगद प्रोत्साहनलाई निरन्तरता दिनेजस्ता घोषणाले उद्योगीमा उत्साह थपेको महासङ्घले जनाएको छ । 

‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई अगाडि बढाउन बजेट सहयोगी हुने देखिएको छ । महासङ्घले नेपाल व्यापार एकीकृत रणनीतिको दायरा फराकिलो बनाउँदा हस्तकलाका ३६ विधा र झण्डै ८३ प्रकारका वस्तुलाई स्पष्ट रूपमा नसमेटिएको बताएको छ । 

त्यसैगरी, हस्तकलाको सीपलाई युवा पुस्तामा हस्तान्तरण गर्ने ठोस योजना, प्राकृतिक रेसाजन्य कपडा उद्योगका लागि विशेष नीति र उत्पादन क्षेत्रका लागि स्पष्ट रणनीतिको अभाव देखिएको महासङ्घले जनाएको छ ।

आगामी आर्थिक वर्षको बजेट सकारात्मक, हस्तकला क्षेत्र उत्साहित

बजेटले अर्थतन्त्रलाई नयाँ दिशा दिने सिएनआईको विश्वास

आगामी आर्थिक वर्षको बजेट सकारात्मक, हस्तकला क्षेत्र उत्साहित

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न

Leave a comment

Your email address will not be published. Required fields are marked *