कथा : सन्तोकी गाई

सुरज सुवेदि


सुर्खेत,१७ पौष ।

“के पाया“के पायो “ मैले सोधे । “छोरी । सपक्क परेकी आफु जस्तै कोईली छोरी ।“ बोलीको लवज सुन्दा थाहा हुन्थ्यो आमा खुशी हुनुहुन्थ्यो । कोईली गाई थियो हाम्रो घरमा । हामी सानो हुँदादेखिनै पालेको । बच्चा हुञ्जेल उसको सिङसँग डर लाग्थ्यो हामीलाई । भरसक उसको नजिक नपरी परपर भाग्थ्यौ ।

तर घाँस काट्न सक्ने भएपछि दूरि कम भयो । घाँस हालेको गुन कोइलीले बिर्सिएन। चिन्न थाल्यो । मित्रता झाङ्गियो । ’कोईली’ भन्दै टाँङमुनिबाट छिर्दा पनि केहि गर्न छोड्यो । भोक लाग्यो भनेर कोइली कहिल्यै कराएको याद छैन । दिनभर खान नपाउँदा पनि उसको पेट कहिल्यै टाँसिदैनथ्यो । सानो कदको होचो पुन्टे गाई, आफ्नाे  बाच्छो चाटेरै अघाउँथ्यों । गाउँका मान्छेले नाम राखिदिएका थिए ’सन्तोकी गाई’ ।

बिठ्याई नभएको होईन। कोईली दूध लुकाउँथ्यो । उसले ढाड कुप्रो पारेर बल गरेपछि दूधको छिर्कै झर्दैनथ्यो । बाच्छोले खाएको थुनपट्टि भने दिन्थ्यो । “बानी बिगारेको तपाईले हो, अलिकति दुहेर छोड्दिी हाल्नुहुन्छ अनि।“ आमा बुवासँग रिसाउनुहुन्थ्यो । “ठीकै छ । बाच्छो हुर्काउँछ ।“ बुवाको रेडिमेड जवाफ थियो यो । मैले पनि दूध दुहुन कोहिली गाईकै थुनबाट सिके । दुई चारपटक लात्ति पनि हान्यो । गल्ति मेरै रहेछ ।

नङ नकाटी दुहेको कुरो बुवाले थाहा पाउनुभयो । गाली गर्नुभयो । नङले थुनमा चोट लागेकाले पो रिसाएको रहेछ गाई । कोईली बुढी हुँदै गएको थियो । हामीले जानिकनै आठ बाच्छाबाच्छी जन्माईसकेको । अगाडि तीन होला । ’एघार बेते’ भन्थे सबैले । एकदिन सुँईके खेतमा चर्न गएको बेला कोईली बितेछ । गाउँलेले मरेको खबर सुनाईदिएन् । उकालो चढ्ने बेला नसकेर ढलेछ अनि उठ्न सकेनछ ।

देख्नेहरुले भनेअनुसार सँगै चर्न गएकी बाच्छी कस्तरी अत्तालिएर यता र उता कुदिछे । कसैसँग सहयोगको याचना मागेजस्तोगरी । बुवाहरू हेर्न जाँदा कोईलीको लाश नजिकै उभिईरहेकि थिई रे । सानै त थिई । कोईलीलाई पुरेर उकालो ल्याउने बेलामा घर आउनै नमानेकि रे । आमा त सुनेर रूनुभएछ । आमाले फोनमा सुनाउदा म भावुक भएको थिँए । कोईली निकैबेरसम्म दिमागमा घुमिरह्यो ।

कोईलीले बहर तथा बाच्छी दुबै जन्मायो । कुनै काला तथा कुनै झाली त कुनै माली । तर अन्तिमपटक जन्माएकि बाच्छी भने कोईली थिई । त्यहि खेतमा यताउता अत्तालिएर कुद्ने । ठ्याक्कै आमाजस्तै । रूप,स्वभाव, व्यवहार सप्पै । दशैमा घर जाँदा पुरानै गाई नयाँ भएर आएजस्तो लागेको थियो । अवतार नै जस्तो । सानी बाच्छी बढ्दै गएसँगै गाईको थलामा रौनक आयो । ’बाबा’ राखिदिनुभएछ आमाले नाम । उ सबैकी बाबा भई ।

हामीले ’सानी कोईली’ पनि भन्यौ । उसका नाम धेरै भए । उ प्यारी हुँदै गई । उसको दाजु र सानीमा पनि थिए, बुबाले बेचिदिनुभएछ । उनीहरू सार्है छुच्चा थिए । हान्थे । त्यसैले माया लाएनन् । सानी कोइली भने बिल्कुलै भिन्न। उसलाई हामी गएर कन्याईदिए आनन्द लाग्थ्यो । हामीले खाएको हेर्दै बल गर्थि ।

जे खुवाईदिएपनि खाने । अझ खोले दिँदा त भुस उघाएर खुवाईदिनुपर्ने । खस्रो जिब्रोले चाटी चाटी खान्थी । घरमुन्तिर सुर्काका गरा थिए । बाँसले बारेको थियो वरिपरिबाट । कोइलीलाई त्यहि लगेर पगाहा लगाउनुहुन्थ्यो बुवा । मान्छेले काटेजसरी मिहिन पारेर घाँस चथीए उ । त्यति गरेर थोरै पानी दिनासाथ अघाईथाल्थी । पाल्नलाई सारै सजिलो । फेरि थलामा लगाईदिएको घाँसपनि छर्दिन्थि । खोले घोप्ट्याएको थाहा छैन ।

विस्तारै हामी छोराछोरी पढ् नलाई शहर निस्किएपछि कोहि घरमा भएनौ । । उ नै घरकी छोरी थिई । हामी दशैमा घर जाँदा उ ब्याउने थिई । आमा अफिसबाट आउनसाथ ’बाबा’ भनेर बोलाउनुहुन्थ्यो । उ चंख भएर हेर्थी । दशैं सकिएपछिको एकदिनः बाबाले घाँस खाईन । पानी पनि खाईन । स्वाँ स्वाँ गरेर नाकबाट हावा मात्र फालिराखी । बसेपछि उठ्न र उठेपछि बस्न सकिन ।

जिउ थेग्न नसकेर थर्थर काँपेजस्ति भई । हामी चिन्तित भयौ, बाबा विरामी परि । भोलिसम्म हेरौ भन्ने कुरा भयो । तर भोलिपल्ट पनि निकै भएन। आमा राती १२ बजे हेर्न जानुभएछ । त्यसरी नै उभिईरहेकी थिई रे ! भोलिपल्ट बेलुकीपख दबाई खुवाउने भयौ । पेटको बाच्छालाई असर गर्छ कि भनेर पर्खिएका थियौ ।

निको नभएपछि जोखिम लिनैपर्यो । उसलाई मनपर्ने केरामा दबाई मिसाएर खुवाउन खोज्यौ । निल्नै सकिन । घाँटिमा केहि अड्किएजसरी खोकिरही । जेनतेन तातो पानीले ठेलेर खुवायौ । भोलिपल्ट पनि दबाई खुवाउन उस्तै चर्को पर्यो । पर्सिदेखि परेन । कलिलो घाँस खाने भई । उसलाई बिहानै कलिलो घाँस खुवाउन शीतमा घाँस काट्न पनि गए । बाबा निको भई ।

तिहारमा उसलाई पूजा गर्यौ । पूजामा भन्दा पनि नाङ्लाको रोटीमा वल गरि उसले । टीका, माला लगाईदिएर सिँगार्यौ । तिहार सकेर यता फर्कनेबेला “चाँडै ब्याउनु है“ भन्दै कान तान्देर हिँडेको थिए। पछि आमाले फोन गरेर सुनाउनुभयो । “ के पाईन्? “ मैले सोधेको थिएँ । “छोरो ।“ आमा हाँस्नुभएको थियो ।

आमाको फोन आयो। उहाँको आवाजमा मिसिएको गम्भीरताले मलाई विचलित पार्यो । “बोली मधुर छ त , के भयो? विरामी हुनुहुन्छ? “ मलाई बाच्छोको पिर पर्यो । बाच्छो एकमहिनाको मात्र भएको थियो । दूधानी किनेर दूध खुवाउन थाल्नुभएछ । आमाको काखमा अर्को बच्चा थपिएको थियो ।

तपाईको प्रतिक्रिया