लेकबेशी नगरको डाक्टर पढाउने छात्रवृत्ति ऐन जारी

सुर्खेत, १३ भदौं ।
सुर्खेको लेकबेसी नगरपालिकाले हरेक बर्ष नगरपालिकाबाटै एक जना एमबिबिएस डाक्टर जनशक्ति उत्पादन गर्ने गरी एमबिबिएस अध्ययन छात्रवृत्ति सम्बन्धि ऐन, २०७९ जारी गरेको छ । नगरपालिकाभित्रकै जेहेन्दार र गरिव विद्यार्थीलाई निःशुल्क एमबिबिएस डाक्टर पढाउने गरी ऐल ल्याएको हो ।
आफ्नै पालिकाको बजेट स्रोत, लगानीबाट हरेक बर्ष एक एक जना डाक्टर उत्पादन गर्ने गरी लेकबेशी नगरपालिकाले एमबिबिएस अध्ययन छात्रवृत्ति सम्बन्धि ऐन, २०७९ जारी गरेको नगर प्रमुख उमेशकुमार पौडेलले बताए ।

आफ्नो पाँच बर्षीय कार्यकालमा पाँच जना विद्यार्थीलाई निःशुल्क डाक्टर पढाउने उद्देश्यले सबै तयार सकेर ऐन जारी गरिएको मेयर पौडेलको भनाई छ । ऐन जारी भएसंगै लेकवेशी नगरपालिकाले प्रत्येक वर्ष एक जनालाई निःशुल्क डाक्टर पढाउने छ ।
ऐनबाटै एमबिबिएस डाक्टर अध्ययनका लागि छनौंट प्रक्रिया, आवेदन प्रक्रिया, आर्थिक स्रोत सहयोग प्रक्रिया, आवश्यक सर्तहरु उल्लेख गरिएको छ । एमबिबिएस अध्ययन छात्रवृत्ति छनौंट समिति, आवश्यक योग्यता, क्षमता सबै ऐनमा उल्लेख गरिएको छ ।
ऐन अनुसार नगरपालिकाले हरेक बर्ष एमबिबिएस अध्ययन छात्रवृत्तिका लागि अक्षय कोषमा ५० लाख बजेट विनियोजन गर्ने भएको छ । हरेक बर्षमा त्यही ५०–५० लाख कोषमा जम्मा गर्ने र हरेक बर्ष एक एक जनालाई डाक्टर अध्ययनका लागि रकम सहयोग गरिने मेयर पौडेलले बताए ।
यसरी नगरको रकमबाट निःशूल्क एमबिबिएस पढ्ने डाक्टरले पाँच बर्ष नगरभित्र सेवा गर्नुपर्ने सर्त समेत राखिएको छ । नगरपालिकामा प्राथमिक स्वास्थ्य चौकी भएपनि विशेषज्ञ डाक्टरहरु नहुँदा स्थानीयले उपचार नपाएको भन्दै पाँच वर्षको अवधिमा छात्रवृत्ति मार्फत डाक्टर पढाउने निर्णय नगरपालिकाले गरेको थियो ।





