जब किशोरी बुवाबाटै बलात्कार भईन : गाउँ छोड्न बाध्य, आफ्न्तबाटै धम्की र आरोप

सुर्खेत, १५ जेठ ।
अहिले देशभर बलात्कारको विषयमा बहस भइरहेको छ । अधिकांश यस्ता घटनाहरु गाउँघरमै मिलाउने गरिएको पाइन्छ । यदि बाहिर प्रकट भएपनि पीडितले पीडामाथि पीडा खेप्नुपर्ने अवस्था छ ।

समाजले पीडतलाई न्यायको बाटोतिर लानको सट्टा पीडा दिन्छ अनि कसरी खुल्न सक्छन् त पीडित ? आफुमाथी बलात्कार भएको विषयमा बाहिर आफन्तलाई सुनाएपछि आझै पीडित भएकी छन् दैलेखकी एक किशोरी । यति मात्र होइन आफुमाथि अन्याय भयो भनेर बाहिर घटना ल्याउँदा पीडित आफैले गाउँ नै छोड्नुपरेको छ ।

आफ्नै बुवाद्धारा बलात्कार भएको कुरा बाहिर ल्याएपछि दैलेखकी १७ वर्षिय सुनिता बिक (नाम परिवर्तन) गाउँ छोड्न बाध्य भएकी छन् । विगत तीन बर्षदेखि बलात्कार हुँदै आएकी उक्त किशोरीले न्याय पाउने आसमा आफन्तलाई पीडा सुनाइन् । तर, उल्टै न्याय त परै जाओस् अनेक आरोपहरु लगाएर पीडितमाथि पीडा थपे । विभिन्न आरोप लगाए, धम्की दिए ।

अहिले ती किशोरी १२ कक्षामा पढ्दैछन् । ‘नौ कक्षा पढ्दादेखि नै आमा नभएको बेलामा राती म माथी बलात्कार गर्नुहुन्थ्यो, मुख बुजिदिएकाले चिच्याउन पनि पाउँदैनथे’ उनले भनिन्, ‘नाई यस्तो नगर्नु भनेर जति भन्दा पनि मान्नुभएन, घरमा मम्मी नभएको बेलामा संवेशनशिल अंगमा छुने गर्नुहुन्थ्यो’

सुनिताका दुई वटा बहिनी र एउटा भाई छन् । उनी घरकी जेठी छोरी हुन् । अरु बहिनी सानै भएकाले उनीहरुलाई केही गरेको थाह नपाएको बताउँछिन् । सुरुवातमा डरले गर्दा यो समस्या उनी कसैलाई यो पीडा भन्न सकिनन् ।

‘त्यतिबेला १४ वर्षकी थिए बिवाह गरेर जाउँ भने पनि उमेर पुगेको थिएन, अन्त जाने ठाउँ थिएन, कहिलेकाहि दिक्क भएर मामाघरमा बस्न जान्थे’ सुनिताले भनिन्, ‘कर्णाली नदीमा गएर हाम फालेर मन सजिलो भनेर हिडे फेरी केही गर्छकि भनेर बाटैबाट फर्केर आए ।’

सुनिता घर छोडेपछि केही समयसम्म दैलेखकै एक होटलमा भाँडा धोएर बसिन् । उनी त्यहाँ रहँदा उनका साथीहरुमार्फत संघ संस्थासँग जोडिदिए ।

त्यसपछि उनी संस्थाहरुले नै बसाल्यो र उनको न्यायको लडाई लड्न पनि सजिलो भयो । संघ संस्थाहरुले पनि जाहेरी दिने र मुद्दा लड्न उनलाई सजिलो बनाइदिए । अधिवक्ता गीता कोइरालाले पनि मुद्दा लड्नको लागि सहयोग गरिन् ।

जिल्ला अदालत दैलेखले सुनिताकै पक्षमा फैसला सुनायो । सुनिताको बुवालाई ३५ वर्ष कैद सजाए सुनायो । अहिले उनी अधिवक्ता कोइरालाले सबै सहयोगीसँग खाना र कपडा जुटाएर वीरेन्द्रनगरमा राखेकी छन् ।

बुवालाई कारवाहीको फैसला भएपछि गाउँमा रहेका सुनिताका आमा र भाइबहिनीलाई गाउँमा बसिसक्नु छैन । गाउँले तथा आफन्तहरुले उनीहरुलाई अनेक लान्छना लगाएपछि उनीहरु प्नि गाउँ छोड्ने तरखरमा रहेको सुनिताले बताइन् ।

‘अब आमा र भाइबहिनीलाई पनि यतै (सुर्खेत) बोलाउँछु र कतै काम पाइन्छ कि खोजेर यतै व्यवस्था गर्नुपर्ला’ सुनिताले भनिन्, ‘गाउँमा त्यसरी बस्नुभन्दा यता केही काम गरेर बस्दा तनाव कम होला, जथाभावि आरोप सुनिरहन त नपर्ला ।’

सुनिता पनि १२ कक्षाको परीक्षाको तयारीमा छिन् । तर, उनका आफन्तबाट फोनबाट आउने धम्कीले हैरानीमा छन् । ‘किताब हेर्छु र पढ्न थाल्यो फोन आइहाल्छ बुवातिरका आफ्न्तबाट जे पायो त्यही भन्छन्, राम्रोसँग पढ्नै पाएको छैन’ उनले भनिन्, ‘यो परीक्षा राम्रोसँग दिन पाए अगाडी बढ्थे होला सोच्छु तर, डिस्र्टब भइरहन्छ ।’

उनको अब कानून पढेर आफु जस्तै अन्यायमा रहेकालाई न्याय दिने सोच छ । ‘पढाई भन्दा ठूलो केही रहेनछ त्यसैले राम्रोसँग पढेर हामीलाई आरोप लगाउने आफ्न्तहरुको अगाडी केही बनेर देखाइदिन्छु’ उनी भन्छिन्, ‘मैले पढेर जागिर गरे भने त आमा र भाईबहिनीलाई पनि राम्रोसँग हेर्न सक्छु ।’

कानून व्यवसायी अधिवक्ता गीता कोइरालाले बलात्कारका पीडतलाई न्याय पाउन कठिन रहेको बताइन् । ‘प्राय बलात्कार भयो भनेर खुल्न चाहदैनन र खुलिहाले पनि न्याय पाउन सजिलो छैन’ उनी भन्छिन्, ‘हाम्रो समाजमा पीडित अझै पीडा सहेरै बस्नुपरेको अवस्था रहेको छ ।’

उनले न्यायको लागि पिडा लुकाएर बस्न नहुने बताउँछिन् । ‘पिडा लुकाएर बस्यो भने पिड्क अझै बलिया हुन्छन् र अन्य पीडितले पनि न्याय पाउन मुस्किल बन्छ’ कोइराला भन्छिन्, ‘घटना बाहिर ल्याउनै पर्छ र यसमा समाजले पनि साथ दिन जरुरी हुन्छ ।’

जर्वजस्ती करणीको कसुरमा हुने कैदको सजाय
दश बर्षभन्दा कम उमेरकी बालिका भए १६ बर्ष देखी २० बर्ष सम्म ।

१० बर्ष वा १० बर्ष भन्दा बढि १४ बर्ष भन्दा कम उमेरकी बालिका भए १४ बर्ष देखी १६ बर्ष सम्म

१४ बर्ष वा १४ बर्ष भन्दा बढि १६ बर्ष भन्दा कम उमेरकी बालिका भए १२ बर्ष देखी १४ बर्ष सम्म

१६ बर्ष वा १६ बर्ष भन्दा बढि १८ बर्ष भन्दा कम उमेरकी महिला भए दश(१०) बर्ष देखी १२ बर्ष सम्म ।

१८ बर्ष वा १८ बर्ष भन्दा बढि उमेरकी महिला भए ७ बर्ष देखी १० बर्ष सम्म ।

जर्वजस्ती करणी (बलात्कार) मा हुने थप सजाय
सामुहिक रुपमा जर्वजस्ती करणी गरेमा थप ५ बर्ष सम्म कैद सँजाय हुन्छ ।

६ महिनाभन्दा बढिको गर्भवती महिलालाई जर्वजस्ती करणी गरेमा थप ५ बर्ष सम्म

अशक्त वा अपाङ्ग वा शारीरिक, मानसिक रुपमा अस्वस्थ महिलालाई जर्वजस्ती करणी गरेमा थप ५ बर्षसम्म कैद ।

हातहतियार देखाई जर्वजस्ती करणी गरेमा थप ५ बर्ष कैद ।

हाड नाताको महिलालाई जर्वजस्ती करणी गरेमा,

जर्वजस्ती करणीमा हुने सजाँयमा हाडनाता करणीमा हुने सजाँय थप हुनेछ ।

कैद वा थुनामा रहेको महिलासंग कुनै सरकारी कर्मचारीले करणी गरेमा वा अरु कसैलाई करणी गर्न संयोग मिलाई दिएमा ३ बर्ष सम्म थप कैदको सजाँय ।

आफनो संरक्षण वा सुरक्षामा रहेको महिला वा बालबालिकासंग करणी गर्न वा करणी गर्न अरुलाई सहयोग गर्न वा होस ठेगान नरहेको वा शारीरिक वा मानसिक रोग लागी उपचार वा पुनरस्थापना गर्ने कुनै संस्थामा राखिएको कुनै महिलासंग संस्थाका पदाधिकारी वा कर्मचारीले करणी गरेमा थप ३ बर्ष सम्म कैद ।

सरकारी वा निजी कार्यालयमा कार्यरत वा कुनै पेशागत सेवा वा ब्यवसायिक कामको लागि सम्र्पकमा आएका वा रहेको कुनै ब्यक्तिसंग त्यस्तो कार्यालयमा काम गर्ने कर्मचारी वा त्यस्तो सेवा उपलब्ध गराउने ब्यक्तिले कार्यालयको काम गर्दा वा त्यस्तो सेवा उपलब्ध गराउँदा वा गराउने स्थानमा करणी गर्न वा आफुलाई करणी गर्न सहयोग गरेमा ४ बर्षसम्म कैद र रु. ४०,०००।– जरिवाना हुनेछ ।

हाडनाता करणीमा सजाय
कसैले आफ्नो जात वा कुलमा चलि आएको चलन, परम्परा वा मान्यता अनुसार बिवाह गर्न नहुने नाताको ब्यक्ति हो भन्ने जानी जानी त्यस्तो ब्यक्तिसंग करणी लिनु दिनु गरेमा हाडनाता करणी हुन्छ ।

आफुलाई जन्माउने आमालाई करणी गरेमा जन्मकैद सजायँ हुन्छ ।

आफ्नो छोरीलाई करणी गरेमा जन्मकैदको सजायँ हुन्छ ।

सौतेनी आमालाई करणी गरेमा

सौतेनी छोरीलाई करणी गरेमा

सहोदर दिदिलाई करणी गरेमा

सहोदर बहिनीलाई करणी गरेमा

ससुराले बुहारीलाई करणी गरेमा

बाजेले नातिनी, पनातिनीलाई करणी गरेमा

जेठाजुले भाई बुहारीलाई करणी गरेमा

देवरले भाउजुलाई करणी गरेमा माथि उल्ल्ोखीत नाताका ब्यक्तिहरूलाई करणी गरेमा चार बर्ष देखी १० बर्ष सम्म कैद र ४० हजार देखी १ लाख रुपैयाँ सम्म जरिवाना हुन्छ ।

एकै हाँगाको बजैलाई नाति वा पनातिले करणी गरेमा

एकै हाँगाको ठुलो बाबु वा काकाले भतिजीलाई करणी गरेमा

एकै हाँगाका भतिजाले ठुलीआमा वा काकीलाई करणी गरेमा

एकै हाँगाका ससुराले भतिजी बुहारीलाई करणी गरेमा

आफनै मामाले भान्जीलाई करणी गरेमा

आफ्नै भान्जाले माइजुलाई करणी गरेमा

आमा तर्फका ठुलीआमा वा सानी आमालाई छोराले करणी गरेमा

आफ्नै सासुलाई ज्वाँइले करणी गरेमा माथि उल्लेखीत नातामा करणी भएमा तिन बर्ष देखी ६ बर्ष सम्म कैद र ३० हजार रुपैयाँ देखी ६० हजार रुपैया सम्म जरिवाना हुन्छ । माथि उल्लेख भएको नाता देखी बाहेक आफ्नो बंशका सात पुस्ता सम्मका अन्य नातामा करणी भएमा हाँगो नाता र पुस्ता समेत बिचार गरी एक (१) बर्ष देखी (३) तिन बर्ष सम्म कैद र १० हजार रुपैयाँ देखी ३० हजार रुपैयाँ सम्म जरिवाना हुन्छ ।

जब किशोरी बुवाबाटै बलात्कार भईन : गाउँ छोड्न बाध्य, आफ्न्तबाटै धम्की र आरोप

असारे विकासमै अल्झियो प्रदेश सरकार, सन्तोषजनक छैन्

जब किशोरी बुवाबाटै बलात्कार भईन : गाउँ छोड्न बाध्य, आफ्न्तबाटै धम्की र आरोप

‘‘विद्रोही स्वभाव, कम्यूनिष्ट आचरणका उज्यालो बत्ती”

Leave a comment

Your email address will not be published. Required fields are marked *