कार्यपालिकाको चुनावका लागि चौकुनेमा एमाले–माओवादीबीच तालमेल

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा कार्यपालिकाको चुनावका लागि एमाले–माओवादीबीच तालमेल भएको छ ।
जेठ १८ गते हुने गाउँकार्यपालिकाको चुनावका लागि माआोवादीले एमालेसँग तालमेल गरेको हो ।
स्गानीय चुनावका लागि भने यहाँ माओवादी–काँग्रेसबीच तालमेल भएको थियो । कार्यपालिकाको चुनावका लागि दुई खुल्ला सदस्य र चार निर्वाचित महिला सदस्यहरु गरि ६ पदका लागि निर्वाचन हुँदैछ ।
निर्वाचनमा गठबन्धन दल नेपाली काङ्ग्रेस र माओवादी केन्द्रबीच कसले कति सदस्य पदमा उम्मेदवारी दिने भन्ने विषयमा सहमति नभएपछि एमालेसंग चुनावी तालमेल गरेको माओवादी केन्द्रले जनाएको छ ।
चौकुनेमा उपाध्यक्ष सहित चार वटा वडा जितेको काङ्ग्रेसले शुरुमा, चार कार्यपालिका सदस्य पदमा उम्मेदवारी दिने अडान राखेको थियो ।
सो प्रस्ताव माओवादी केन्द्रले अस्वीकार गरेर ३÷३ सदस्य पदमा उम्मेदवारी दिने प्रस्ताव ल्याउँदा गठबन्धनको मर्म र भावनासहि हुने अडान कायमै राख्यो । अन्तिम समयमा जिल्ला तहबाट पनि सोही अनुसारको सदस्य पदमा उम्मेदवारी दिने भन्ने विषयमा छलफल भइ उम्मेदवारी दिने विषयमा रहँदा एमालेले माओवादीलाई चार र आफू दुई सदस्य लिएर गठबन्धन गर्न तयार रहेको हो ।
नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट खुल्ला सदस्यमा शंकर कामी (नेकपा एमाले) र नेकपा माओवादीबाट उजिरे ढोलीले उम्मेदवारी दिएका छन् ।
यस्तै महिला सदस्यमा एमालेले कमला बिकलाई उम्मेदवार बनाएको छ भने माओवादीले अम्बि बिक, पदमा बिक र हजुरा बिष्टलाई उम्मेदवार बनाएको छ ।
काङ्ग्रेसले भने खुल्ला सदस्यमा दिपक बिक, अम्मरे कामीलाई उम्मेदवार बनाउँदा महिला सदस्यमा राधिका बिक, अमृता बोहरा, पंचकली बुढा र उज्जा देवी बिकलाई उम्मेदवार बनाएकाे छ ।






