चार छोराछोरीसहित सामूहिक कर्णालीमा हाम फाल्ने सुकीका श्रीमानलाई डेढ वर्ष कैद

अमर सुनार
दैलेख, १६ फागुन ।
चार छोराछोरीसहित कर्णाली नदीमा सामुहिक हाम्फाल्ने सुकी बडुवालका श्रीमानलाइ कैद सजाय भएकाे छ । गत बर्ष महिला हिसा विरुद्धकाे १६ दिने अभियानकै क्रममा गत फागुन २४ गते सुकीले चार सन्तानसहित अात्महत्या गरेकी थिइन ।
आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले एक वर्ष अघि आत्महत्या गरेको घटनामा दैलेख जिल्ला अदालतले सुकीका श्रीमान ३८ वर्षीय मानसिंह बडुवाललाई डेढ वर्ष कैद र १५ हजार रुपैंयाँ जरिवाना गरेको छ ।
गत वर्ष ०७७ फागुन २३ गते कर्णाली नदीमा सुकी बडुवाल, उनकी जेठी छोरी १५ वर्षीया कल्पना बडुवाल, माहिली छोरी १२ वर्षीया सरिता बडुवाल, कान्छी छोरी ७ वर्षीया रजनी बडुवाल र छोरा १० वर्षीय ललित बडुवाललाई आत्महत्या गर्न वाध्य पारेको भन्दै ०७७ चैत ११ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी परेको थियो ।
मुुलुकी अपराध सहिंता ऐन २०७४ को दफा १८५ को उपदफा (२) बमोजिम जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट कसूरदारलाई सोमवार उक्त सजाय भएको दैलेख जिलला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानले जानकारी दिनुभयो ।
पारिवारिक विवादका कारण फागुन २४ गते १११ औं अन्तरराष्ट्रिय महिला दिवसका दिन विहान ४ वटै सन्तानलाई लिई सुकी समेत पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आठबीस नगरपालिका–३ निमायलका वासिन्दा सुकीका भाई बजीरसिंह थापाले दिएको जाहेरीमा उल्लेख छ ।
सुकी र चार छोराछोरी समेतलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै दिइएको जाहेरीको आधारमा प्रहरीले ०७७ चैत १२ गते प्रहरीले सुकीका श्रीमान मानसिंह बडुवाललाई पक्राउ गरेको थियो ।
आठबीस नगरपालिका–३ जाक्सी गाउँको तल कर्णाली नदीमा हाम फालेर ज्यान गुमाएका सुकी सहित पाँचै जनाको शव अछामको पञ्चदेवलबिनायक नगरपालिका–४ बेलखेत र अछामकै तुर्माखाँद गाउँपालिका–३ असाराघाट नजिक कर्णाली नदी किनारमा फरक फरक दिनमा फेला परेपछि अछामको मङ्गगलसेन अस्पतालमा ०७७ फागुन २५ गते र फागुन २७ गते शव परीक्षण गरिएको थियो ।
अछामको भूभागमा शव फेला परेको कारण मङ्गगलसेन अस्पतालमा शव परीक्षण गरिए पनि मृतकहरु दैलेखका बासिन्दा भएको कारण जिल्ला प्रहरी कार्यालय दैलेखमा मुद्दा चलाइएको थियो । घटनाका सम्वन्धमा प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकील कार्यालय मार्फत ०७७ चैत २९ गते दैलेख जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको थियो ।
मुद्दा दर्ता भएकै दिन दैलेख जिल्ला अदालतमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेकै इजलासबाट कसूरदारलाई पुर्पक्षका लागि थुनामा दैलेख कारागारमा राखिएको थियो ।
जिल्ला सरकारी वकील कार्यालयका कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता हरि घिमिरेले कानूनमा तोकिए अनुसार पाँच वर्ष कैद र ५० हजार जरिवानाको सजायको मागदावी गर्नु भएको थियो भने दैलेख जिल्ला अदालतका वैतनिक वकील टेकबहादुर केसीले परिवारका सबैलाई आत्महत्या गर्न वाध्य पारेको नभई आमा सुकीको मनोगत उत्तेजनामा पाँच जनाको ज्यान गएको भन्दै कसूरदारलाई न्यूनतम् सजायको जिरह गर्नुभएको थियो ।









