घुम्दैफिर्दै, रामे र रोशन : रामारोशन

महेन्द्र चन्द ‘महासागर’

सुर्खेत,११ मंसिर ।
दाइले एउटा सानो केटोलाई केही निगालाहरु बाँधेर लतार्न लगाएका थिए जुन बोक्नुभन्दा लतार्न सजिलो हुन्छ । केही समय उनीसँग कुरा गरेपछि थाहा भयो कि उनी घरमा पुगेर भैँसी दुहुनु पर्ने बाध्यता रहेछ जुन निश्चित समयमा पुग्नु पर्छ नत्र भैँसीले दूध दिँदैन ।
उनले समस्या दर्शाएपछि हामीले कर गरेनौँ र उनलाई बिदा गरेर हामी पुनः अगाडि नै बढिरह्यौँ । केही ताल र केही पाटनहरु घुमिसकेपछि अलि थकाइ लागेको महसुस भयो हामीलाई । हामीले पारिलो घाम लागेको एउटा पाटनमा बसेर गफगाफ गर्दै केही गजलहरु पनि सुनायौँ, मैले जीवनमा पहिलो पटक रामारोशनलाई गजल सुनाएको थिएँ र असिमले पनि ।
यस्तै क्रममा पहल असिमको मुखबाट एउटा देउडा भाका पो निस्कियो “लेखै लाग्यो काँटे कुइणो लेखै बानिदोछ, घाम लाग्याको देश मधुरो क्यान मानिदो छ” मलाई यो देउडा भाकाले कतै पु¥याइदियो । देशको विगत सम्झाइदियो । कुनै समय घाम लाग्दा पनि देश मधुरो देखिन्थ्यो ।

देशमा द्वन्द्व थियो । देउडाका भाका र टुक्काहरुमा कति गम्भीर साहित्य छ ? हामी कति धनी छौँ साहित्य संस्कृतिहरुका ? त्यसपछि हामी अरु एक दुई ताल र मैदानहरु (पाटनहरु)मा पुग्यौँ अधिकांश ताल र पाटनहरुमा पुग्न सामान्य पदमार्गको व्यवस्था रहेछ भने कुनैमा अनुमानले हिड्नु पर्ने, अब हामी बढी नै थाकेको हुनाले बाँकी स्थानहरुमा अर्को दिन घुम्ने निधो गरी फर्कने निष्कर्षमा पुग्यौँ ।
हामी करिब तीन घण्टा जति घुमिसकेका थियौँ हामीलाई फर्कन पनि समय लाग्नेवाला थियो त्यसैले हामी फक्र्यौँ । फर्केर केही समय यता आइपुगेपछि फेरी भेटिए सरइ रोकाय जो अघि घाँसको भारीसहित भेटिएका थिए । उनी होटेल साहुका दाइ रहेछन् उनी होटेल पुगेपछि अरु दुईजना डोटीतिरका पर्यटकहरु आइपुगेछन् र उनीहरुले रामारोशन घुमाइदिन निकै कर गरेर उनलाई लिएर आएका रहेछन् ।

हामी आधा जति घुमेर फर्किँदै गरेको देखेर उनले सोधे, “कति घुम्नु भयो सर हामीले कति घुमेका थियौँ हामीलाई पनि थाहा थिएन तर तीन घण्टा जति घुमिसकेका थियौँ हामी आधा जति घुमेको कुरा जानकारी दियौँ उनले भने,“यो दिशामा अरु पनि ताल र पाटनहरु छन् घुम्ने भए हिँड्नुस् उहाँहरुले मान्नु भएन म भैँसी अरुलाई नै दुहुन लगाएर फर्केको ।
” हामी थाकेका त थियौँ तर घुम्नलाई त्यहाँका बारेमा सबै कुरा थाहा पाएका गाइड भेटाएका थियौँ । हामीले यसो सामान्य सल्लाह ग¥यौँ र फेरि फर्केर घुम्न जाने निर्णय ग¥यौँ अनि लाग्यौँ सरइ दाइको पछि पछि । उनी कुरा गर्थे आफ् नो गाउँठाउँको, देशको, विदेशको, विदेश जानु पर्ने बाध्यताको हामी हो हजुर भन्दै कुरामा कुरा मात्र मिलाउँथ्यौँ र उहाँका कुराहरुलाई घुमाएर फेरि रामारोशन मै ल्याउँथ्यौँ ।
उनी सुनाउँथे रामारोशनको कथा पहिलेको जमानामा रामारोशन दुई भाइ रामे र रोशनको क्षेत्र थियो रे । आधा रामेको र आधा रोशनको । रामारोशनको प्रवेशद्वार तिर रोशनको र ‘रामे’ पाटनतिर रामेको इलाका रहेको र के कारणले हो उनीहरुको बिचमा झगडा भएर इलाका छुट्याएको कुरा थाहा पाइयो ।
उनी विभिन्न कथाहरु सुनाउँदै हिँड्थे हामी सुन्दै र प्राकृतिक छटाले भरिएका विभिन्न अवस्थाको अवलोकन गर्दै हिँडिरहेका थियौँ । त्यहाँ मनमोहक ताल र पाटनहरु त थिए नै साना खोलाहरु, झरनाहरु, विभिन्न जातका वनस्पतिहरु, चराचुङ्गीहरु, जनावरहरु ,बुट्यानहरु, अग्ला डाँडाहरु आदि प्राकृतिक विविधताहरुले हामीलाई मोहित बनाइ रहेका थिए ।
सरइ दाइले ‘रामे’ पाटनमा पुगेपछि हामीलाई एउटा निकै अप्ठेरो लाग्ने भिर देखाएर उनले भने उ…. त्यो अग्लो डाँडामा पुगेपछि रामारोशनको पुरा तस्बिर देख्न सकिन्छ । भिर निकै अप्ठेरो थियो त्यही बाटो भएर मान्छेहरु बडिमालिका उक्लँदा रहेछन् । अप्ठ्यारो भए पनि हामी त्यहाँ पनि पुग्न तयार भयौँ ।
एकएक वटा लठ्ठी हातमा लिएर हामी लाग्यौँ उकालो । उकालो पनि निकै उकालो थियो, डर लाग्दो, म पहाडमै जन्मे हुर्केको भए पनि म पहिलो चोटी त्यस्तो उकालो चढेको थिएँ । हामी निकै थाकेका थियौँ र पनि पुग्यौँ अग्लो डाँडा र जित्यौँ एउटा युद्ध ।
त्यहाँबाट रामारोशनलाई नियाल्दा हामी पृथ्वी भन्दा अलि माथि कतै बसेर पृथ्वी नियालिरहेको भानमा थियौँ । सबै पाटन र तालहरुलाई एकैचोटी नियाल्न त्यो डाँडाले भ्यू टावरको काम गर्दो रहेछ । हामी छिट्टै फर्कनु थियो तर निकै टाढा थियौँ । हतार हतार गरेर झ¥यौँ ओरालो पिँडौला फर्केला झैँ भइरहेका थिए । तल रामे पाटनको छेउमा निस्किएर हामी बाँकी अन्य ठाउँहरु घुम्दै ओरालो झर्दै थियौँ ।
त्यहाँबाट करिब एक घण्टा जति हिँडेपछि एउटा सुन्दर खोला आइपुग्यो जहाँ काठको निकै सुन्दर पुल निर्माण गरिएको रहेछ । त्यो पुलमा एकछिन सुस्ताएर हामी ओरालो झरिरह्यौँ । ‘किनिमिनी’ पाटनमा पुग्दा नपुग्दै साँझ पर्न थालिहाल्यो अझै दुईवटा ताल र केही पाटनहरु घुम्न बाँकी नै थियो ।
पाटनहरुमा बँदेलले खनेका खाल्डाहरुले अब हामीलाई तर्साउन पो थाले कतै बँदेलले आक्रमण गर्ने त होइन ? तर त्यहाँ दुईवटा जुम्लातिर लैजान हिँडेका भेडाहरुका भेडीगोठ रहेछन् जुन चिसोले गुजुमुजु भएर बसेका थिए, मान्छेहरु र घोडाहरु पनि थिए, हामी डराएनौँ ।
अब हामी छिटो भन्दा छिटो होटेल फर्कनु थियो तर हामी अझै दुई घण्टा टाढा थियौँ । हामी हात हातमा मोबाइलहरु बालेर जङ्गलमा बास बसेका कालिजहरुलाई तर्साउँदै, मृगहरुलाई धपाउँदै आफू पनि तर्सिँदै होटेल तिर लाग्यौँ । निकै थाकेर हामी होटेल पुग्यौँ ।
होटलमा पुग्दा हामी थाकेका मात्र थिएनौँ, बहुत थोकेका थियौँ र भोकाएका पनि थियौँ । हामी करिब साढे पाँच घण्टा हिँडेका थियौँ जङ्गल सफारीमा । होटलमा पुगेर ‘फाइर क्याम्प’ खडा ग¥यौँ र निकै चिसो मौसमलाई न्यानो बनाउने प्रयास ग¥यौँ । निकै मजाले खाना खायौँ र रमाइलो गरेर सुत्यौँ ।
बिहान हामी उठ्दा सात बजिसकेको थियो । उठ्न हामीलाई गाह्रो परिरहेको थियो किन भने एक त त्यहाँ बिहानीमा चिसो बढी नै थियो र हिजोको यात्राले दुःख्न बाँकी शरीरको कुनै ठाउँ राखेको थिएन । हामीलाई बाँकी केही ठाउँ अझै घुम्न बाँकी थियो तर जाँगर थिएनन् र पनि हामीले चिया खाएर बाँकी ठाउँहरुलाई पनि बाँकी राखेनाँै । अब सपनाको रामारोशनलाई हामीले घुमीसकेका थियौँ, पदार्पण गरिसकेका थियौँ, या भनौँ निकै उत्साहका साथ फन्को लगाइसकेका थियौँ ।
अब हामीलाई रामारोशनको लोकल कुखुराको सुपसँग अछाम मै फलेको धानको भातको पूजा गरेर लाग्नु थियो, अछामकै साँफेबगर । सुन्दरताले भरिपूर्ण प्राकृतिक विविधतायुक्त स्थल रामारोशन साँच्चिकै पुग्नै पर्ने देशको एक भूगोल हो । रमाउनका लागि एक पटक नबिर्सेर टेक्नै पर्ने ठाउँ हो तर त्यहाँ पुग्नको लागि भौगोलिक कठिनाइ, बाटोको समस्याका कारण यात्रा अलि कठिन बन्न पुगेको महसुस हुन्छ ।
खान बस्नको लागि खासै समस्या नभएको भए पनि बाटोको सुधारमा राज्यको आफ्नो नजर छिटो पुग्नु पर्ने देखिन्छ । भ्रमणको लागि निकै उपयुक्त लाग्ने रामारोशन पदयात्राका लागि निकै सम्भावना बोकेको ठाउँ हो । यहाँ पुरै रामारोशन घुम्न पैदल यात्रामा करिब छ सात घण्टा लाग्छ यहाँ ट्रेकिङको निकै राम्रो सम्भावना रहेको हामीले महसुस गरेर फिर्ता भयौँ ।






