सुर्खेतका ९ पालिकामा २२ सय २९ जनाकाे मनोनयन दर्ता

सुर्खेत, १४ बैशाख ।
यहीँ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुर्खेतमा दुई हजार बढीको मनोनयन दर्ता गरेका छन् । निर्वाचन कार्यतालिका अनुुसार आयोगले वैशाख ११ र १२ गते तोकेको उम्मेदवार मनोनयन दर्ताको अन्तिम मितिसम्म सुर्खेतका नौ वटै स्थानीय तहमा दुई हजार दुई सय २९ जनाको उम्मेदवारी दर्ता भएको हो ।
सुर्खेतका पाँच नगरपालिकाको प्रमुख पदमा ४८, उपप्रमुखमा ४१, चार गाउँपालिकाको अध्यक्षमा २३ र उपाध्यक्षमा २२ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यले नेपालीरैबारलाई जानकारी दिए । उनका अनुसार उम्मेदवारी दर्ता गराउनेमा जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा दर्ता भएका दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।
प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा प्रमुखका आकांक्षीहरु बढि देखिएका छन् । वीरेन्द्रनगरमा प्रमुख/उपप्रमुखसहित १६ वटै वडामा अध्यक्ष तथा सदस्यहरु गरी जम्मा चार सय ७७ जनाको उम्मेवारी दर्ता भएको छ ।
वीरेन्द्रनगर नगरपालिका
यीमध्य वीरेन्द्रनगरको प्रमुख पदमा विभिन्न राजनीतिक दल र स्वतन्त्रगरी १७ जनाको उम्मेदवारी परेको छ । उप–प्रमुखमा १५ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत आचार्यले बताए ।
१६ वडा रहेको वीरेन्द्रनगरमा एकसय सात जनाले वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् । साथै महिला वडा सदस्यमा ८५, दलित महिला सदस्यमा ७३ र खुला सदस्यमा एक सय ८० जनाले मनोनयन दर्ता गरेका छन् ।
पञ्चपुरी नगरपालिका
११ वडा रहेको पञ्चपुरी नगरपालिकामा दुई सय ९३ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । पञ्चपुरीको प्रमुखमा आठ र उपप्रमुखमा आठ जनाको उम्मेदवारी दर्ता भएको छ, भने ११ वडाध्यक्षका लागि ६३ जनाले उम्मेदवारी मनोनयन गरेको निर्वाचन अधिकृत नविनकुमार भट्टले नेपालीरैबारलाई जानकारी दिए । खुला सदस्य एकसय १२, दलित महिला सदस्य ३४ र महिला सदस्यमा ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
गुर्भाकोटमा २६२ जनाको मनोनयन दर्ता
पूर्वि सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्थानीय तहको निर्वाचनको लागि जम्मा २६२ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । नगर प्रमुखमा ७ उपप्रमुखमा ४, वडाध्यक्षमा ५८, महिला सदस्यमा ५०, दलित महिला सदस्यमा ४६ र खुला सदस्यमा ९७ जनाको उम्मेदवारी परेको छ । १३ वटा वडा रहेकाे छन् ।
गुर्भाकोट नगरपालिकाको नगर प्रमुखको लागि नेकपा एमालेबाट तिलक बहादुर खत्री, नेपाली काँग्रेसबाट हस्त पुन, नेकपा माओवादी केन्द्रबाट जयबहादुर डाँगी, एकीकृत समाजवादीबाट गौमाया ओली, रास्ट्रिय जनमोर्चाबाट टेकबहादुर घर्ती र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कलावती रेग्मीले उम्मेदवारी दिएको गुर्भाकोट नगरपालिकाका निर्वाचन अधिकृत तुलसा भण्डारीले जानकारी दिए ।
निर्वाचन अधिकृत भण्डारीका अनुसार स्वतन्त्र उम्मेदवार जयबहादुर खत्रीले पनि नगर प्रमुख पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै गुर्भाकोट नगरपालिकाको उपप्रमुखको लागि नेकपा एमालेबाट सुशीला बिश्वकर्मा, नेपाली काँग्रेसबाट मैना विक, नेकपा माओवादी केन्द्रबाट टिका शर्मा र राप्रपा बाट मोहन सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । एकीकृत समाजवादी र जनमोर्चाबाट उपप्रमुखमा उम्मेदवारी नपरेको निर्वाचन अधिकृत तुलसा भण्डारीले जानकारी दिए ।
भेरीगंगा नगरपालिका
१३ वटा वडा रहेको भेरीगंगा नगरपालिकामा दुई सय ९७ जनाको उम्मेदवारी दर्ता हुँदा प्रमुख र उपप्रमुखमा क्रमश आठ÷आठ जनाले मनोनयन दर्ता गरेको निर्वाचन अधिकारी नगेन्द्र लम्सालले नेपालीरैबारलाई जानकारी दिए ।
उनकाअनुसार १३ जना वडाध्यक्षका लागि ६६, खुला सदस्यमा एकसय एघार, दलित महिला सदस्यमा ४९ र महिला सदस्यमा ५० जनाको उम्मेदवारी परेको छ ।
लेकवेशी नगरपालिका
लेकवेशी नगरपालिकामा प्रमुखमा आठ जना र उपप्रमुखमा सात जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत दिपेन्द्रनाथ योगीले जानकारी दिए ।
१० वडा रहेको लेकवेशीमा वडाध्यक्षकोे लागि ४९ जनाको उम्मेदवारी दर्ता हुँदा खुला सदस्य ९७, दलित महिला सदस्य ४६ र महिला सदस्यका लागि ५० जनाले उम्मेदवारी दर्ता गराएको योगीले नेपालीरैबारलाईजानकारी दिए ।
सिम्ता गाउँपालिका
८ वडा रहेको सिम्ता गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षका लागि चार÷चार जनाको उम्मेदवारी परेको छ । ८ जना वडाध्यक्षका लागि ३३ जना भिड्ने भएका छन् ।
खुला सदस्य ५५, दलित महिला सदस्य २३ र महिला सदस्यका लागि २७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत नारायण सापकोटाले नेपालीरैबारलाई जानकारी दिए ।
चिङ्गाड गाउँपालिका
६ वटा वडा रहेको चिङ्गाड गाउँपालिकामा अध्यक्ष पाँच र उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ भने, ६ जना वडाध्यक्षका लागि लागि २५ जनाले उम्मेद्वारी दर्ता गरेको उपेन्द्रकेशर खनालले बताए । चिङ्गाडमा खुला सदस्य ५५, दलित महिला सदस्य २३ र महिला सदस्यमा २७ जनाको उम्मेदवारी दर्ता भएको हो ।
बराहताल गाउँपालिका
१० वडा वडा रहेको बराहताल गाउँपालिका विभिन्न पदका लागि एकसय ९५ जनाले मनोनयन दर्ता गराएका छन् । अध्यक्ष पदका लागि सात जना र उपाध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको छ ।
१० जना वडाध्यक्षका लागि ४५ जनाले दावी पेश गरेका छन् । यस्तै खुला सदस्यमा ६८, दलित महिला सदस्य ३२ र महिला सदस्यमा ३७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत ठाकुरप्रसाद पौडेलले नेपालीरैबारलाई जानकारी दिए ।
चौकुने गाउँपालिका
७ वटा वडा रहेको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र सदस्य पदका लागि दुई सया २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
चौकुने अध्यक्ष र उपाध्यक्षमा साता/सात जनाको उम्मेदवारी परेको छ । सात जना वडाध्यक्षका लागि ५४ जनाको दावी परेको निर्वाचन अधिकृत सरोजनिधी वाग्लेले जानकारी दिए । खुला सदस्यमा ८१, दलित महिला सदस्य ३६ र महिला सदस्यमा ३९ जनाको उम्मेदवारी दर्ता भएको वाग्लेले जानकारी दिए ।






