बैंकको पत्रले सुर्खेतका व्यवसायी त्रसित

सिर्जना बुढाथोकी ।
सुर्खेत, १० असोज ।
तरलता अभावका कारण देखाउँदै बैंकहरुले विगत केहि समय यता कर्जा लगानी नगर्दा उद्योगी व्यापारीहरु मर्कामा परिरहेका बेला बैंकले साँवाब्याज भुक्तानीका लागि भन्दै सात दिने म्याद राखेर धमाधम पत्र काट्न थालेपछि सुर्खेतका उद्योगी व्यापारी मारमा परेका छन् ।
अपेक्षित रुपमा व्यापार व्यवसाय नभएको अवस्थामा बैंकले ऋणको साँवा ब्याज नै असुलीका लागि दवाबमूलक ताकेता गर्दै पत्र पठाउन थालेपछि उद्योगी व्यापारीहरु मानसिक रुपले तनावग्रस्त बनेको गुनासो गरेका छन् ।
निक्षेपमा १५ प्रतिशतसम्म ब्याज दिने प्रलोभन देखाउँदै बैंकहरुले उत्पादनमूलक क्षेत्रमा भन्दा बसी बसी ब्याज खान निक्षेपकर्तालाई प्रलोभन दिएको भन्दै व्यापारी व्यवसायीले आपत्ति पनि जनाएका छन् ।
तरलता अभाव र पछिल्लो आर्थिक मन्दीलाई कारण देखाउँदै राष्ट्रबैंक समेतले मौद्रिक नीतिमार्फत अधिकीवर्ष कर्जा (ओभरड्राप्mट) लगायतका कर्जामा कडिकसाउ गरेपछि लाखौं करोडौं रुपैयाँ लगानी गरेका उद्योगी व्यापारी अहिले आपूm फन्दामा परेको टिप्पणी भन्दै गुनासो गर्न थालेका छन् ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका सुर्खेतका ठूला अटो व्यवसायी लक्ष्मण कँडेलले करिब दुई वर्ष अगाडि व्यवसायिक प्रयोजनका लागि भन्दै माछापुच्छ्रे बैंकबाट सात करोड रुपैयाँ कर्जा लिए ।
उक्त कर्जाको सुरुको समयमा ७ दशमलव ७५ प्रतिशत ब्याजदर थियो । विभिन्न चरणमा बैंकले ब्याजदर बढाएपछि उनले लिएको कर्जाको अहिले करिब १३ प्रतिशत ब्याजदर पुगेको छ । ‘एकातिर आर्थिक मन्दीले गर्दा व्यापार व्यवसाय ठप्प छ,’ उनले भने, ‘सातदेखि आठ÷नौ हुँदै १३ प्रतिशतसम्म ब्याजदर बढाएको छ, बैंकले ब्याजदर बढाएपछि सबै व्यवसायीलाई व्यवसाय धान्न गा¥हो परिरहेको स्थिति छ ।’

बैंक तथा वित्तीय संस्थाहरुले असोज १ गतेदेखि लागू हुने गरी बढाएको ब्याजदर वृद्धिले सुर्खेतका उद्योगी व्यवसायीहरु पनि मर्कामा परेका छन् । कोभिड महामारी र त्यसपछि बाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी ब्याजदर वृद्धिले थप मर्माहत हुनेतर्फ सरकार, केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थाहरु गम्भीर नभएको आरोप व्यवसायीहरुको छ ।
बैंकहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण व्यवसायीहरु मारमा परेको व्यवसायीहरुको भनाइ छ । विगत तीन वर्षमा बैंकहरु नाफामा गइरहेको सुर्खेतका व्यवसायी राजु पाण्डेले बताए । ‘देशको अर्थतन्त्रमा प्रत्यक्ष योगदान दिने उद्योग, व्यवसाय धराशायी बन्दा बैंक तथा वित्तीय संस्थाहरु मोटाएका छन्,’ उनले भने, ‘मैले एभरेष्ट बैंकमा पाँच÷सात प्रतिशत ब्याज तिर्दै गर्दा नौ हुँदै १४ प्रतिशत ब्याज तिर्नुपर्ने अवस्था छ ।’
बैंकले अकल्पनीय ढंगले एकतर्फी रुपमा ब्याजदर बढाउँदा व्यवसाय बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ । समयानुकुल नहुँदा प्रतिकुल समयमा पनि बैंकले ब्याजदर निरन्तर बढाएर बैंकले ज्यादति गरिरहेको कम्प्युटर एशोसिएशन महासंघ कर्णाली प्रदेशका निवर्तमान अध्यक्ष पूर्णदेव अधिकारीले गुनासो गरे ।
‘पहिले शिथिल अवस्थामा हामीलाई कर्जा लैजानुस् भनेर बैंक आफैले भन्यो,’ उनले भने, ‘त्यतिबेला हाम्रो धितोको बढी मूल्यांकन गरेर चाहेजति कर्जा दिन्छौँ भनेपछि व्यवसायीले ऋण पनि लिए र लगानी पनि गरिसके तर अहिले व्यवसायी त्यो कर्जामा फँसिरहेको अवस्था छ ।’ अहिले सबै पैसा निर्यातको नाममा देशबाहिर गएको भन्दै अधिकारीले व्यवसायीको स्टोरमा सामान मात्रै थन्किएको गुनासो गरे ।
यस्तो अवस्थामा निरन्तर ब्याजदर बढाईरहनु नेपाल राष्ट्र बैंकको गैरजिम्मेवारपन भएको व्यवसायीहरुको टिप्पणी छ । ‘बैंकहरुको नियामक निकाय राष्ट्र बैंक हो,’ अधिकारीले भने, ‘कोभिड र निषेधाज्ञाको मारमा व्यवसायी छन् भन्ने बैंकलाई थाहा छ, यस्तो अवस्थामा निजी क्षेत्रले ब्याजबाहेक अरु विकल्प हुँदैन भनेर राष्ट्र बैंकले कडी लगाएको मात्र हो ।’
यसरी नै बैंकले ब्याजदर बढाउने र निजी क्षेत्रले तिर्दै जानेहो भने एक दिन सबै उद्योग व्यवसाय सबै बैंकलाई सुम्पिने अवस्था आउने व्यवसायीहरुको भनाइ छ । राष्ट्र निर्माणको खम्बाको रुपमा रहेको निजी क्षेत्रलाई सरकारले विभिन्न बहानामा राष्ट्र बैंकमार्फत निजी क्षेत्रलाई पेलिरहेको सुर्खेतका व्यवसायीको भनाइ छ । यता बैंकर्स एशोशियन कर्णाली प्रदेशका अध्यक्ष राजनप्रसाद पोखरेलले आफूहरु पनि ब्याजदर बढेकोमा चिन्तित रहेको उल्लेख गरे ।
‘कर्जाको ब्याजदर बढ्दा बैंकलाईपनि घाटा नै हुन्छ,’ उनले भने, ‘हामीपनि व्यवसाय नै गर्ने भएकाले ब्याजदर घटाउनेबारे विभिन्न तहमा छलफल गरिरहेका छौं । अध्यक्ष पोखरेलले निक्षेपकर्ताको निक्षेपको पनि अहिले ब्याज दर बढेको हुनाले त्यसमा थपेर लिएको उनको भनाइ छ ।
‘ब्याज बढेको त हो तर बैंकलाई पनि ब्याज बढेको भन्दा नबढेको फाइदा हुन्छ,’ उनले भने, ‘ब्याज कसरी कम गर्न सकिन्छ भनेर हामी सचेत छौँ, यस विषयमा हामीले उद्योग वाणिज्य संघ र राष्ट्र बैंकसँग पनि छलफल गरिरहेका छौँ ।’
बैंकहरुले पनि महंगो ब्याज भएको भन्दा सस्तो भएको बेला कमाउने उनको भनाइ छ । ‘महंगो ब्याज भएको बेला हामीले पनि कर्जा दिन नसकिरहेको अवस्था छ,’ उनले भने, ‘कतिले ब्याज महंगो भयो भनेर लोन फिर्ता पनि गरेका छन्, यस्तो अवस्थामा कर्जा लिनेहरु आउनुहुन्न ।’
उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष कँडेलले ब्याजदर बढेछि व्यवसायीले भोगेको समस्यालाई मध्यनजर गर्दै विभिन्न क्षेत्रसँग छलफल गरिरहेको बताए । अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक समस्याको समाधानका लागि संघका तर्फबाट १७ बुँदे ज्ञापनपत्र बुझाउनुका साथै राष्ट्र बैंक र जिल्लास्थित सम्पूर्ण बैंकहरुलाई विरोधपत्र बुझाउँदै दवाबमूलक रुपमा निरन्तर विरोध गरिरहेको अध्यक्ष कँडेलले जनाए ।
बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ भने उत्पादित सामानको मूल्य आकाशिएर आम सर्वसाधारणको जिविका पनि कष्टकर हुँदै गएको उद्योगी व्यवसायीहरुको गुनासो छ ।







