साताको रेष्टुरेण्ट : स्वाद आफ्नै आमाको, बास आफ्नै मामाका

सृजना बुढाथोकी
सुर्खेत, ९ असोज ।
वीरेन्द्रनगर व्यस्त चोक, मंगलगढीभन्दा बढिमा ३ किमी मात्रै पश्चिमतिर होला, आमाको भान्सा घर, जहाँ आप्mनै आमाको हातले बनेको जस्तो स्वादमा खानाका विभिन्न परिकार पाइन्छन् । जिब्रो फड्कारेर खाँदै गर्दा पेट भरिएला तर मन, अँह भरिदैन । शहरको व्यस्त दैनिकीमा दिउँसोको समय खानालाई यसो उछारपाटो मिलेसम्म पुग्नैपर्ने ठाउँ हो आमाको भान्साघर । काठमाण्डौं, पोखरा लगायतका ठूला शहरमा खाना खाने भन्ने बित्तिकै अधिकांशको दिमागमा थकाली खानाकै सेट याद आउँछ ।
थकारी शैलीको खाना खुवाउने धेरै होटल रेष्टुरेण्ट नभएको सुर्खेतजस्तो ठाउँमा आमाको घर एउटा गतिलो विकल्प बनेर उभिएको छ, जहाँ थकाली शैलीमा पहाडी खानाको स्वाद चाख्न पाइन्छ । कर्णालीको विशेषता र पहिचा बोकेका अर्गानिकक खानाका परिकारहरु पाइन्छ यहाँ । सुर्खेत तथा कर्णाली भित्रिने आगन्तुक तथा पर्यटकका लागि आमाको भान्सा घर मुख्य आकर्षणको केन्द्र बनेको छ ।

ठेकीमा राखेको घिऊ र महि, सिलौटामा पिसेको अचार, मार्सी चामलको भात, जुम्ली सिमीको दाल आदि, समग्रमा भन्ने हो भने कर्णालीमा उत्पादन हुने अर्गानिकक खानाका हरेक परिकारदेखि थकाली खाना त पाउँछ नै यसका साथै लजिङ्ग, सेमिनार हल,रुफटप गार्डेन र रेष्टुरेन्टमा पाइने हरेक सुविधा यस आमाको भान्सा घरमा उपलब्ध छ । ‘एकपल्ट हाम्रोमा आएर खानाको स्वाद चाखेको पाहुना, अन्त कतै जाँदै जाँदैन’ सुर्खेतको वीरेन्द्रनगरमा करिब ८ महिनाअघि आमाको भान्सा घर सञ्चालनमा ल्याएका नवराजले ठोकुवा गरे ।
करिब ३ करोडको लगानीमा आमाको भान्सा घर सञ्चालनमा ल्याएका उनका अनुसार पहिले पहिले ग्रामीण भेगमा बसेर, घाँस दाउरामा हुर्किएका हामीलाई हाम्रो आमाले पकाएर खुवाउने कालो फलामको कराईमा पकाएको मासको दाल, कराईमा पकाएको खिर, कर्णालीको मुख्य वस्तु रातो मार्सी चामलको भात पकाएर खुवाउन र रेष्टुरेण्टमा विदेशी खाना बर्गर, पिज्जा जस्ता खाएर हुर्किएका अहिलेका पुस्तालाई बुझाउन र स्वाद चखाउन यो नाम राखेर खोलिएको हो ।
काम विशेषले सुर्खेत आउने अन्य जिल्लाका आन्तरिक पर्यटक मात्र नभई विदेशी पर्यटकपनि विशुद्ध नेपाली खानाको परिकार चाख्नकै लागि भएपनि आप्mनोमा आउने गरेको नवराजले सुनाए । आप्mनै आमा र हजुरआमाले पकाएको खानाको स्वादमा खाना तयार गरेर कर्णालीमा आउने पर्यटकलाई खुवाउँदै आएको उनले सुनाए। अहिलेको अवस्थामा आउँदा बाहिरी देखासिकी र विदेशी खानाका स्वादले अहिलेका पुस्ताको स्वादमा परिवर्तन ल्याएको र यसले स्वास्थ्यमा पनि राम्रो नगर्ने भएकाले हरेक कुरामा मूल्याकंन गर्दा पुरानो स्वाद मानिसले कुरिराखेको अवस्थामा आफ्नो योजना बनेको उनको भनाई छ ।

अहिलेको जेनेरेशनले पनि पहिलाको स्वाद खोजेको अनुभूति भएकाले आपूmहरु कर्णालीमा सफल र स्थापित हुनेमा ढुक्क भएको सञ्चालक नवराजले बताए । जुम्लारोडको आडैमा भएकाले गाडी पार्किंगका लागि स्थान अभाव हुँदा थोरै समस्या भने देखिन्छ त्यहाँ । तैपनि आफ्नो भान्साघरको पछाडिपट्टी जग्गा भाडामा लिएर छिटै पार्किगंको व्यवस्थापनपनि गरिने उनले बताए ।
सुर्खेतमा कर्णालीलाई चिनाउनका लागि आमाको भान्सा घरमा पाइने हरेक अर्गानिक परिकालाई ब्राण्डका रुपमा स्थापित गर्ने योजना छ । यसरी रेष्टुरेण्ट सञ्चालन गरिरहँदा सबै भन्दा समस्या भनेको जनशक्तिको भएको सन्चालक नवराजले बताए । धेरै तलब दिन सकिने अवस्था नरहँदा विदेशमा पाउने बराबरका तलबको माग आउँछ जसले गर्दा जनशक्ति टिकाई राख्न समस्या भएको उनको अनुभव छ । योसंगै अर्को समस्या भनेको फोहोर मैला व्यवस्थापनको छ ।
भान्साबाट निष्किने फोहोर दुई चार दिनको जम्मा गरेर नगरपालिकाको गाडीमा हाल्ने गरिएपनि समयमा गाडी आएन भने पनि बगुंर पालकलाई खोजेर दिने गरिएको उनको भनाई छ । अहिले आमाको भान्सा घरमा दैनिक जसो ६० देखि ७० जना आगन्तुकको आगमन हुन्छ । बाहिर जिल्लाबाट आउनेहरु गुगलमा हेरेर लोकेशन पछयउँदै भएपनि आमाको भान्सा घर खोज्दै आउने गरेको सञ्चालकको भनाई छ । एकपटक आएर यहाँको स्वाद चाखिसकेकाले फर्केर आइराख्ने भएकाले पनि स्वाद र क्वालिटिमा कुनै सम्झौता नहुने उनले बताए ।
रारा जना आउने ग्रपमा २ जना एउटै रुममा बस्ने गरी आउँदा एउटा कोठा एक जना बराबरको पैसा लाग्ने सुविधा यहाँ छ । एक पटकको लञ्च वा डिनर, ब्रेक फास्ट, थकाली खानालाई १२ सयमा प्याकेज गरिएको छ । सुर्खेतको भ्यालीको दृष्य अवलोकन गर्न र प्याराग्लाइडीगं गर्नका लागि बयलकाडाँमा पुग्ने ग्राहकका लागि सहजताको स्वरुप त्यहा रिसोर्ट खोल्ने योजना पनि छ, आमाको भान्सा घरको । राम्रो लगानीकर्ता भयो भने आन्तरिक पर्यटकलाई सहज सेवा दिन रिसोर्ट खोल्ने योजना बनेको छ ।
आमाको भान्सा घरमा आइसकेपछि होटेलको खानाको फिल नभएर आफ्नै भान्सामा आफ्नै आमा हजुरआमाले पकाएको खानाको स्वादमा खान पाउँदाको आनन्द यस आमाको भान्सा घरमा पाइनेमा सञ्चालकले ढुक्क हुन सबैमा आग्रह समेत गरेका छन् ।

आमाको भान्सा घर स्पेशल
विशेषगरी कर्णालीमा पाइने अर्गानिक खानाको परिकार यहाँ पाइन्छ । मार्सी चामलको भात, खिर, ठेकीमा जमाएको दहि र मोहि, भटमास साँधेको गुन्द्रकको अचार, वर्षाको सिजनमा वर्षे तरकारी, हिउँदको समयमा हिउदे तरकारी, गाभा, कोदोको मःम, फापरको रोटी, मकैको रोटी (पोलेको खुर्सानी र नुन पिसेर), फापरको ढेडो, मकैको ढेडो, सिस्नो, लोकल कुखुरा, लोकल घ्युहरु यहाँका स्पेशल हुन् । मैदालाई विस्थापित गरेर कोदोको पिठोलाई स्थापित गर्ने योजनाका साथ कोदोको मःमलाई स्पेशल बनाइएको छ ।
भेज, मटन तथा लोकल चिकेनको पनि स्वाद लिन सकिन्छ । कुनै पनि परिवारहरु साथमा आउँदा लोकल कुखुरा जोखेर कराइमा पकाएर कराई नै दिने गरिन्छ । परिवार सबै बसेर आफैले खाना पस्केर खाने व्यवस्था मिलाइएको छ । परिवार आउँदा चिकेनको प्लेट नभएर कराई नै दिईन्छ जसले गर्दा उसलाई घरमै खाएको अनुभूति होस् । (कर्णालीको मुगु, डोल्पा जिल्ला जो तिब्बत संग नजिक छ त्यहाँको स्पेशल परिकारमा पर्ने ‘रिग्मा’ पनि यहाँ पाइन्छ ।
‘रिग्मा’ भन्नाले खसीको बोसे आन्द्राभित्र खसीको मुटु कलेजो र रगतलाई राखेर ससेज बनाइन्छ । शुरु गरिएको करिब ८ महिनाको यो अवधिमा आमाको भान्सा घरमा आएर बसेर खाएर गएका ग्राहकले असाध्यै राम्रो र पूरै लोकल र अर्गानिक खान पाउँदा निकै खुशी भएको अनुभव सुनाउँदा आपूmहरुलाई झन खुशी र हौंसला मिलेको महशुस हुने सञ्चालक नवराजको भनाई छ ।
आफ्नो चाहना भनेको पैसा मात्रै कमाउने नभई सबैको मन मष्तिष्कमा बस्न सफल हुने योजना छ जसको लागि आपूmले जुनसुकै समस्या सामना गर्न तत्पर रहेको उनले सुनाए । आप्mनो होटलमा आउने खाना बस्न आउने पाहुनलाई आमाको स्वादको खाना खुवाई मामाको घरमा पाईने स्वागत सत्कारसहितको आतिथ्यता दिने गरी नै व्यवसायको ट्याग लाईन ‘स्वाद आफ्नै आमाकोः बास आफ्नै मामाको’ राखिएको नवराजले सुनाए ।

सधै व्यस्तः सेफ रवि
हामी आमाको भान्सा घरमा पुग्दा जिल्ला बाहिरबाट आएका आगन्तुकका लागि खाना बनाउनमै व्यस्त थिए रवि आले । उनको व्यस्त समयबाट थोरै समय मागेर हामीले केहि कुराकानी ग¥यौ । उमेरले मात्रै २३ वर्ष पुगेका उनी होटेल म्यानेजमेन्टका विद्यार्थी हुन् । उनले पढाई सकेपछि उनी काठमाडौंको एउटा बारमा बरिष्ता (कफी बनाउने)को रुपमा काम गरे ।
त्यहाँ उनको विशेष काम भनेको कफीको डिजाईन बनाउने थियो तर उनले बिस्तारै खाजा तथा खानाका परिकार बनाउन सिके । नेपालगञ्जका रवि पढाईको सिलसिलामा काठमाडौं पुगेका हुन् । पढाई सकेर करिब साढे पाँच वर्ष उनले काठमाडौंमै काम गरे ।
उनको काम र लगनशिलता देखेर आमाको भान्सा घरका सञ्चालक नवराज पौडेलले उनलाई सुर्खेतमा बोलाए र उनी आमाको भान्सा घरको सञ्चालन अवधिबाटै सेफको रुपमा काम गरिरहेका छन् । उनले यहाँ बन्ने हरेक परिकार तयार पार्छन् । हरेक काममा परिपक्क भएर आफ्नै व्यवसाय गर्ने रविको योजना छ । ‘भविष्यमा आफ्नै रेष्टुरेण्ट व्यवसाय चलाउने योजना छ’, उनले सुनाए, ‘त्यसैले किचनदेखि मेनेजमेन्टको सबै काम सिक्दै छु’ ।






