पहिरोले घर भत्किदा तीन जनाको मृत्यु

अछाम,९ साउन ।
पहिरोले घर भत्किएपछि अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीया हिरकला विष्ट, २५ वर्षीय विरेन्द्र विष्ट र १५ वर्षीय संविधान विष्ट रहेको प्रहरीले जनाएको छ ।
घरभित्र सुतेरहेको अवस्थामा राती करिब १२ बजेतिर घरमाथिबाट आएको पहिरोले घर भत्किएपछि एकै कोठामा रहेका विरेन्द्र र संविधान कोठामै पुरिएर मृत्यु भएको हो । बाहिरी कोठामा सुुतेकी हरिकलाको मृत्यु भएको छ भने नैना विष्टलाई च्यापिएको अवस्थामा उद्धार गरिएको वडा सदस्य दिपेन्द्र कामीले जानकारी दिए ।

मृत्यु हुनेमा विरेन्द्र विष्ट घरमुली अमर विष्टको छोरा र हरिकला विष्ट भाउजु र संविधान विष्ट भतिजा रहेको वडा सदस्य कामीले जानकारी दिए । हरिकला र संविधान विष्ट आफ्नो घर भत्किने जोखिमका कारण त्यस घरमा सुत्न आएको बताइएको छ । तीन तलाको १० कोठा रहेको घर भत्किएसँगै आठ बाख्रा च्यापिएर मरेको छ । प्रहरीले मुचुल्का तयार पारी शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल लागिएको छ ।
स्राेत ः गाेरखापत्र






