सुर्खेतमा स्थानीय तहको चुनावी चहलपहल, गाउँ पसे दलहरु

सुर्खेत, ११ चैत ।
स्थानीय तहको निर्वाचन आउन अब करिव ४९ दिन मात्र बाँकी छ । तर दलहरुले उम्मेद्वार छनौट भने एक महिनाभित्र गरिसक्नु पर्नेछ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गर्नुपर्नेछ । यहीकारण दलहरु अहिलेदेखि नै आफ्नै दलप्रतिको नागरिकको बुझाइ र कुन नेता कति लोकप्रिय छन् भनेर बुझ्न थालेका छन् ।

निर्वाचनको माहोल बनाउन र जनमत परीक्षण गर्ने उद्देश्यले सानादेखि ठूला दलका नेताहरु यतिबेला गाउँ पसेका हुन् । ‘पार्टीप्रतिको जनतामा रहेको धारणा बुझ्न टोलटोलमा पुगेको छु’ वीरेन्द्रनगरको मेयरका आँकाक्षी नेपाली काँग्रेसका एक नेताले भने, ‘जनताको मत बुझेपछि टिकटका लागि पार्टीसँग लबिङ गर्नेछु ।’

टिकटको लविङ गर्नुअघि कार्यकर्ता र आम नागरिकले पार्टीप्रति अपेक्षा बुझ्ने ति नेताले जनाए । ‘पहिले आफ्नो नाडी छाम्नुपरयो, त्यसपछि टिकटका लागि पार्टीसँग पहल गरौँला’ ति नेताले भने, ‘पार्टीको केन्द्रले समय नतोक्दै कार्यकर्ता र जनताको भावना बुझ्छु ।’

सबै दलका नेताहरु हिजोआज गाउँ–गाउँमा पुगेका छन् । प्रायः सदरमुकाम वीरेन्द्रनगरमा बस्ने नेताहरु पनि गाउँमा पुगेर चुनावी प्रचारमा जुटेका छन् ।

गाउँ पुगेका नेताहरुले भेला, विभिन्न जनबर्गिय कमिटी गठन लगायतका गतिविधि गर्न थालेका छन् । उनीहरुले स्थानीय तहको विकास र भ्रष्ट्राचार न्यूनिकरण हुने आफ्ना पार्टीको पक्षमा उभिन आह्वान गरेका छन् । सबै नेताहरु गाउँ पुगेर पार्टीप्रतिको माहोल बुझ्ने र सोहीअनुसार टिकटका पार्टी दाबी प्रस्तुत गर्ने रणनीतिमा छन् ।

एमालेले पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मुल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता भएका व्यक्तिलाई उम्मेद्वार बनाउने मापदण्ड बनाएको छ । पार्टी केन्द्रले नै यही चैत मसान्तसम्म एक महिलासहित तीन जना व्यक्तिलाई उम्मेदवार लागि सिफारिस गर्न निर्देशन दिइएको छ ।

एमालेका नेताहरु सोही मापदण्डका आधारमा उम्मेदवारको पहिचान गरिरहेका छन् । अन्य दलहरुले भने उम्मेद्वारको मादण्ड बनाउनुअघि नै जनतासँग पुगेर आफ्नो लोकप्रियता नाप्ने रणनीतिमा छन् । सत्ता गठबन्धनका दलहरुबीच चुनावी तालमेलको निर्णय नभइसकेका कारण पनि ती दलहरुले उम्मेदवार छनौटको रणनीति बनाएका छैनन् ।

‘अहिलेसम्म उम्मेद्वार छनौटको कुनै परिपत्र भएको छैन’ नेपाली काँग्रेस सुर्खेतका सभापति खड्क पोखरेलले भने, ‘केन्द्रबाट निर्देशन आएपछि मात्रै उम्मेदवारको छनौट गरौला, अहिले निर्वाचनको माहोल बनाउन सबै नेताहरु जनतासँग पुगेका छौँ ।’ काँग्रेससहित माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई केन्द्रीय कमिटीले उम्मेदवार छनौटका लागि परिपत्र गरेका छैनन् ।

माओवादी केन्द्रले सकेसम्म यसअघिको निर्वाचनमा लडेका उम्मेदवारलाई पुनः दोहो¥याउने रणनीति बनाएको छ । सोहीअनुसार यसअघिको निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिहरुको दौडधुप धेरै छ । ‘थोरै मतले जितको ठाउँहरुमा पुरानै व्यक्ति दोहोरिने रणनीति छ’ माओवादीका एक नेताले भने, ‘गठबन्धन भए पनि थोरै मतले हारेका स्थानमा हाम्रो दाबी रहन्छ ।’

२०७४ यता स्थानीय तहमा पार्टीको अवस्था बुझेर सोही अनुसार उम्मेदवार छनौट गर्ने माओवादीको रणनीति छ । यता समाजवादीले पार्टीको चुनावी अभियान र कमिटी गठनलाई सँगसँगै अगाडि बढाएको छ । ‘चुनावी अभियान र कमिटी संगठन निर्माणलाई एकैसाथ अगाडि बढाएका छौँ’ नेकपा समाजवादीका सुर्खेत अध्यक्ष मोहनसिंह बडुवाल भन्छन्, ‘उम्मेदवारको विषयको निर्णय भइसकेको छैन ।’

समाजवादीले पनि पहिलो जनतमत परीक्षण गर्ने र सोहीअनुसार उम्मेदवारका विषयमा लविङ गर्ने रणनीति बनाएको छ । उम्मेदवार छनौट गर्नुअघि सबै दलहरुले अघिल्लो निर्वाचनमा उम्मेदवारले ल्याएको मतपरिणाम र त्यसपछिको अवस्था आँकलन गर्न गाउँ पुगेका छन् ।

चार बर्षका धेरै नेताहरुले पार्टी अदलबदल गरेका छन् । पार्टी प्रवेश गर्ने र पार्टी छोड्ने होडबाजी छ । यहीकारण दलहरुले उम्मेद्वार छनौट गर्नुअघि पार्टीको शक्ति परीक्षण गर्नका लागि गाउँगाउँमा पुगेका हुन् ।

२०७४ मा कसको मत कति थियो ?
सुर्खेतमा २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस पहिलो दल बनेको थियो । सबै स्थानीय तहमा प्रमुख तीन (काँग्रेस, एमाले र माअ‍ोवादी केन्द्र) दलहरुका उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

नौ स्थानीय तह मध्ये काँग्रेसले ६ र एमालेले तीन स्थानीय तहमा प्रमुख पद जितेको थियो । माओवादी केन्द्रका उम्मेदवारले कुनै पनि स्थानीय तहको प्रमुख हात पार्न सकेनन् ।

गुर्भाकोटको मेयरमा दश हजार ६३ मत ल्याएर नेपाली काँग्रेसका उम्मेदवार हस्त पुन विजय भएका थिए । त्यहाँ एमालेका उम्मेदवार देवबहादुर खत्रीले सात हजार एक सय २१ र माओवादी केन्द्रका हिराबहादुर थापाले एकहजार पाँचसय ९१ मत ल्याएका थिए ।

चिङ्गाड गाउँपालिकाको अध्यक्षमा काँग्रेसकै देवहादुर चन्दले दुई हजार नौसय ४९ मत ल्याएर विजयी हुँदा एमालेका बखतबहादुर खत्रीले दुई हजार तीन सय ८५ र माओवादीका बोधविक्रम जिसीले एक हजार सातसय २१ मत ल्याएका थिए ।

यस्तै पञ्चपुरी नगरपालिकाको मेयरमा पाँच हजार एकसय ३४ मत ल्याएर काँग्रेसका उपेन्द्रबहादुर थापा विजयी हुँदा एमालेका मनबहादुर कामीले चार हजार सात सय ३२ र माओवादी केन्द्रका धनबहादुर विकले एक हजार तीनसय ५८ मत ल्याएका थिए ।

बराहताल गाउँपालिकाको अध्यक्षमा काँग्रेसका तेजबहादुर बस्नेतले तीन हजार दुई सय २१ मत ल्याएर विजयी भएका थिए । त्यहाँ एमालेका ताराकेशर गौतमले दुई हजार नौसय १४ र माओवादी केन्द्रका बलबहादुर कठायतले एक हजार नौसय ८४ मत ल्याएका थिए ।

भेरीगंगा नगरपालिकाको मेयरमा सात हजार पाँचसय ४३ मत ल्याउँदै काँग्रेसका भूपेन्द्रबहादुर चन्द विजयी भएका थिए । त्यहाँ एमालेका यज्ञप्रसाद ढकालले सात हजार तीनसय ८४ मत ल्याउँदा माओवादी केन्द्रका कृष्णप्रसाद गिरीले एक हजार ६ सय ३७ मत ल्याएका थिए ।

त्यस्तै १४ हजार चारसय पाँच मत ल्याएर देवकुमार सुवेदी वीरेन्द्रनगर नगरपालिकाको मेयरमा विजयी हुँदा एमालेका बालाराम शर्माले १३ हजार आठसय ९९ र माओवादी केन्द्रका रत्नबहादुर गाहामगरले पाँच हजार दुई सय ३७ मत ल्याएका थिए । अन्य सबै पालिकामा प्रम्रख जितेकै दलले उपप्रमुख पदमा विजयी हुँदा वीरेन्द्रनगरको उपमेयरमा भने एमालेका मोहनमाया ढकाल (भण्डारी) ले १६ हजार ६८ मत ल्याउँदै बाजी मारेकी थिइन् ।

त्यस्तै चौकुने गाउँपालिकाको अध्यक्षतमा एमालेका उम्मेदवार धिरबहादुर शाहीले तीन हजार दुई सय ४२ मत ल्याएर विजयी भएका थिए । त्यहाँ काँग्रेसका गजराज जोशीले दुई हजार दुई सय ५० र माओवादीका खड्क विकले दुई हजार ६ सय ३३ मत ल्याएका थिए ।

लेकवेशी नगरपालिकाको मेयरमा पनि पाँच हजार सातसय ५३ मत ल्याउँदै एमालेकै गगनसिंह सुनार विजयी भएका थिए । त्यहाँ काँग्रेसका उमेशकुमार पौडेलले चार हजार तीनस सय ९९ र माओवादी केन्द्रका खड्कबहादुर घर्तीले दुई हजार एकसय ५८ मत ल्याएका थिए ।

सिम्ता गाउँपालिकाको अध्यक्षतमा एमालेका कविन्द्रकुमार केसीले पाँच हजार तीन सय ५५ मत ल्याएर विजयी हुँदा काँग्रेसका खड्कबहादुर पोखरेलले चार हजार ६ सय चार र माओवादी केन्द्रका झुपबहादुर बुढामगरले ६ सय ६४ मत ल्याएका थिए ।

१८ सय मतदाता घट्ने अनुमान
सुर्खेतमा एक हजार आठसय मतदाता घट्ने भएका छन् । प्रारम्भिक तथ्याङ्क अनुसार सुर्खेतमा दुई लाख ४० हजार आठसय एक जना मतदाता छन् ।

सोही तथ्याङ्कबाट दोहोरो नामावली परेका र मृत्यु भएका व्यक्तिहरुको नामावली हटाउँदा मतदाताको संख्या घट्ने भएको हो । ‘दोहोरिएका र मृत्यु व्यक्तिको नामावली हटाउन जिल्लाबाट सिफारिस भएको छ’ कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा प्रमुख दुर्गाप्रसाद चालिसेले भने, ‘प्रारम्भिक तथ्याङ्बाट करिव एकहजार आठसय मतदाता घट्ने अनुमान गरेका छ ।’

गएको फागुन २० गतेदेखि आयोगले मृत्यु भएका र दोहोरो नामावली परेका मतदातालाई त्रुटि सच्चाउन समय दिएको थियो । सोहीअनुसार सुर्खेतमा एक हजार आठसय सयको त्रुटी सच्चाउन सिफारिस गरिएको चालिसेले बताए ।

त्रुटी भएका मतदाताको नामावली आयोगले यही १३ गते सूचिबाट हटाउने छ । सिफारिस गरेका सबैको विवरण हटेको खण्टमा मतदाताको संख्या घट्ने छ । यस्तै आयोगले अहिले निर्वाचनमा खटिने कर्मचारी व्यवस्थापनमा जुटेको छ । कर्मचारी व्यवस्थापनको लागि सबै स्थानीय तहबाट जनशक्ति माग गरिएको छ ।

सुर्खेतमा स्थानीय तहको चुनावी चहलपहल, गाउँ पसे दलहरु

केही म्यानपावर कम्पनीमाथि छानबिन

सुर्खेतमा स्थानीय तहको चुनावी चहलपहल, गाउँ पसे दलहरु

वाईसीएल बाफिँकोट सम्मेलन भोली

Leave a comment

Your email address will not be published. Required fields are marked *