सुर्खेतमा निर्वाचित जनप्रतिनिधिमध्ये आधाले खर्च विवरण अझै बुझाएन्न

सुर्खेत ८ साउन  ।

सुर्खेतमा नौ पालिकाका निर्वाचित जनप्रतिनिधिमध्ये करिबले आधाले खर्च विवरण अझै बुझाएका छैनन् । निर्वाचन सम्पन्न भएको करिब दुई महिना बित्दापनि निर्वाचनका समयमा आफूले गरेको खर्चको विवरण नबुझाउने प्रतिनिधिहरूको संख्या ठूलो छ ।

सुर्खेतका ९ पालिका र समन्वय समितिसमेत गरी ५२२ जनप्रतिनिधि निर्वाचित भएका छन् । यो भनेको कार्यपालिका सदस्य बाहेकको संख्या हो । यसमध्येबाट जिसस उपप्रमुख सचिनकुमार बडुलालसहित २५९ जनाले मात्र निर्वाचन खर्च पेस गरेका छन् ।

जिससका अन्य ८ जनाले बुझाएका छैनन् । जिसस प्रमुख र उपप्रमुखका लागि साढे दुई लाख तथा सदस्यका लागि साढे एक लाख रूपैयाँ खर्च गर्न पाउने व्यवस्था गरेको छ ।

यी प्रतिनिधिले बुझाएनन् विवरण

२०७४ सालमा नगरप्रमुख बनेका गुर्भाकोट नगरपालिकाका प्रमुख हस्तबहादुर पुनः यस पटक पनि उनी नगरप्रमुखमा दोहोरिएका छन् । उपप्रमुखमा मैना विक पनि दोहोरिएकी हुन् । उनीहरूले अहिलेसम्म आफ्नो खर्च विवरण बुझाएका छैनन् । पाँच वर्षे कार्यकाल काम गरेर फेरि उही पदमा दोहोरिए पनि उनीहरूले निर्वाचन आयोगको निर्देशनलाई अटेर गर्दै आएका छन् । १४ वडा रहेको यो नगरपालिकाका ७२ जना प्रतिनिधिले निर्वाचन खर्च विवरण बुझाउन सकेका छैनन् ।

यस्तै, चौकुने गाउँपालिकाबाट निर्वाचन प्रतिनिधिहरूले पनि अहिलेसम्म विवरण बुझाएका छैनन् । अध्यक्षमा माओवादीबाट खड्का विक निर्वाचित भएका थिए । उपाध्यक्षमा कांग्रेसका नरबहादुर वास्तोला रहेका छन् । ५२ निर्वाचित जनप्रतिनिधिले हालसम्म खर्च विवरण नबुझाएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले हालसम्म पनि निर्वाचन आयोगमा खर्च विवरण पेश गरेकी छैनन् । नगरपालिकाबाट जम्मा तीन जनाले मात्रै आयोगमा विवरण बुझाएका छन् । विवरण बुझाउनेमा वडा नं. पाँचका वडाध्यक्ष लोकबहादुर शाही, वडा नं. १३ का सदस्य रत्न बहादुर बोहरा र वडा नं. ८ की महिला सदस्य सुमित्रा कोइरालाले मात्रै विवरण बुझाएकी छिन् । उपप्रमुख नीलकण्ठ खनालले पनि आफ्नो खर्च विवरण बुझाउन सकेका छैनन् ।

बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारी र उपाध्यक्ष लक्ष्मी पुन मगरले पनि हालसम्म निर्वाचन खर्च विवरण बुझाएका छैनन् । यो पालिकाबाट ३५ जनाले निर्वाचन खर्च विवरण पेश गरेका छन् ।

यस्तै, पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले खर्च विवरण बुझाए पनि उपप्रमुखमा दोहोरिएकी मुक्तिदेवी रेग्मी पुरीले भने निर्वाचन आयोगमा खर्च विवरण बुझाउन अटेर गरेकी छिन । यो पालिकाबाट निर्वाचित भएका ५७ जनाले विवरण बुझाएका छन् ।

सुर्खेतको चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसी र उपाध्यक्ष मिनाकुमारी रोकायले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् । यो पालिकाबाट २९ जनाले विवरण बुझाएको तथ्यांक आयोगसँग छ ।

यस्तै, सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्द र उपाध्यक्ष गोमा शर्मा रेग्मी सहित ३३ जनाले खर्च विवरण बुझाएका छन् । लेकबेशी नगरपालिकाका प्रमुख उमेश कुमार पौडेल र उपप्रमुख विमला खडलुकसहित ५१ जनाले खर्च विवरण बुझाएका छन् ।

त्यस्तै, भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल र उपप्रमुख धनसरा बोहरासहित ५० जनाले खर्च विवरण बुझाई सकेका छन् ।प्रदेश निर्वाचन कार्यालय प्रमुख दुर्गा चालिसेले चुनावमा सहभागी भएका सबै उम्मेदवारले एक महिनाभित्रमा विवरण बुझाउनुपर्ने बताए ।

उनले भने, ‘जित वा हार जे भएपनि निर्वाचन सम्पन्न भएको एक महिनाभित्रमा खर्च विवरण बुझाइसक्नुपर्छ । उहाँहरू सबैले कानूनका बारेमा जानकार हुनुपर्ने हो । कम्तीमा जितेका जनप्रतिनिधिले समयमै निर्वाचन खर्च विवरण दिनपर्थ्यो । असार तीन गते फेरि सूचना निकालेका पनि थियौँ । तर आधा जति आउनुभएन । हामीकहाँ आएका सबैको विवरण केन्द्रमा पठाइदिएका छौँ ।’

स्राेत ः नेपाल प्रेस

सुर्खेतमा  निर्वाचित जनप्रतिनिधिमध्ये आधाले खर्च विवरण अझै बुझाएन्न

ब्ल्याकमेलिङ गरेको आरोपमा १५० भन्दा बढी युवायुवती

सुर्खेतमा  निर्वाचित जनप्रतिनिधिमध्ये आधाले खर्च विवरण अझै बुझाएन्न

चट्याङ लागेर १२ जना घाइते

Leave a comment

Your email address will not be published. Required fields are marked *