नेपाल एसिया कपमा छनोट हुन बञ्चित, युएई फाइनलमा

काठमाडौं, १० असार ।
मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका कारण रद्द हुँदा युएई फाइनलमा पुगेको छ । किन्रारा एकेडेमी ओभलमा नेपालको इनिङ्ग्स सकिएलगत्तै वर्षाले रोकिएको थियो । यसअघि अश्मिना कर्माचार्यले युएईको ५ विकेट लिएपछि फाइनल प्रवेशका लागि नेपालले ८२ रनको लक्ष्य पाएको थियो ।
तर नेपालले वर्षाका कारण ब्याटिङ गर्न पाएन। उत्कृष्ट बलिङ गरेकी अश्मिनालाई ’म्याच बल’ दिइएको छ । खेलको नतिजा नआएपछि खेलको प्लेयर अफ दि म्याच भने घोषणा गरिएन । युएई यसअघि समूहमा अपराजित थियो। समूह विजेता बनेको आधारमा युएईलाई सेमिफाइनलमा विजेता घोषणा गरिएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा अलआउट हुँदै ८१ रनमा समेटिएको थियो । उसका लागि वैष्णव महेशले सर्वाधिक १६ रन बनाइन्। इशा ओझाले १५ रन बनाउँदा कप्तान छायाँ मुगहालले १४ रन जोडिन् । यस्तै खुसी शर्माले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
युएईलाई मध्यम योगफलमा रोक्न नेपालका लागि अश्मिना कर्माचार्यले सर्वाधिक ५ विकेट लिइन्। ईन्दु बर्माले ३ विकेट लिँदा सीता रानामगरले २ विकेट हात पारिन् । ३.५ ओभर बलिङ गरेकी अश्मिनाले १० रन खर्चिएर ५ विकेट लिएकी हुन्। यस्तै इन्दु बर्माले ४ ओभरमा १६ रन खर्चिइन्। यस्तै सीताले ४ ओभरमा १९ रन खर्चिइन् ।
कप्तान रूविना क्षेत्रीले ४ ओभरमा १२ रन खर्चदै किफायती बलिङ गरिन् । संगीताले २ ओभरमा १० रन खर्चिँदा कविता कुँवरले २ ओभरमा १३ रन खर्चिइन् । बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुग्ने आसामा रहेको नेपालले ब्याटिङ भने गर्न पाएन ।
यो खेलमा नेपालले युएईलाई हराएको अवस्थामा एसिया कप खेल्न पाउने थियो । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन् । रूविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले समूह ’बी’मा ४ खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।
यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो । यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि भिड्नेछन् । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ ।
स्रोत : सेतोपाटी






