दिगो विकास लक्ष्य स्थानीकरण सम्बन्धी अन्तरक्रिया

भेरीगंगा, १० चैत्र ।
भेरीगंगा नगरपालिकामा दिगो विकास लक्ष्य स्थानीयकरण सम्बन्धमा एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । भेरीगंगा नगरपालिकाको आयोजनामा तथा जिआइजेट सिडीएसजीको प्राविधिक, सहजिकरणमा सम्पन्न भएको हो ।
दिगो विकासका लक्ष्यहरुलाई स्थानीयकरण गर्नका लागि नगरपालिकाले कार्यदल निर्माण गरी विभिन्न चरणमा कार्यक्रम गरिसकेको छ । नगरपालिकाले विविध लक्ष्यको उपसुचकहरुमा आफ्नो आधार रेखा तयार गरी सन् २०२५ र २०३० सम्मको नगरपालिकाको लक्ष्य पनि तय गरेको छ ।
नगरपालिकाले १७ वटा लक्ष्यहरु मध्ये केहि लक्ष्यहरुलाई छनौंट गरी विशेष महत्वका साथ स्थानीयकरण गर्न लक्ष्य–२ शुन्य भोकमरी, लक्ष्य–३ आरोग्यता तथा कल्याण, लक्ष्य–४ गुणस्तरीय शिक्षा र लक्ष्य–६ सफा पानी तथा सरसफाईलाई विशेष महत्व दिने र लक्ष्य–५ लैगिंक समानतालाई निर्देशक सिद्धान्तका रुपमा लिई आगामी बार्षिक तथा आवधिक योजनामा समावेश गर्न कार्यपालिका बैठकबाट निर्णय गर्ने भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले आगामी कार्यकालमा आफु आएपनि वा नआएपनि आउने जनप्रतिनिधिलाई योजनाबद्ध रुपमा काम गर्न सहज होस भन्ने उद्देश्यले यो दस्तावेज तयार पारिएको बताउनुभयो ।
त्यस्तै नगर उप–प्रमुख रेणु आचार्यले आफुहरुले आवधिक÷बार्र्षिक योजना त बनाएको तर त्यसमा दिगो विकासका लक्ष्यहरुलाई समेट्न नसकेकोमा दुख व्यक्त गर्दै आगामी योजनाहरुमा समावेश गरी विषयगत योजनाहरुबाट ती लक्ष्यहरुलाई समेट्न कार्यपालिकाबाट नितिगत निर्णय गर्ने बताउनुभयो ।
दिगो विकासका लक्ष्यहरुलाई स्थानीयकरण गर्ने उद्देश्यका साथ सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता नगर उप–प्रमुख रेणु आचार्यले गर्नुभएको थियो ।







