वीरेन्द्रनगरका जनप्रतिनिधिकाे पुरा भए त चुनावी प्रतिबद्धता ?

सुर्खेत, ११ माघ ।
‘नगर बसको व्यवस्था गरिने छ । एक वडा, एक व्यवस्थित हाटबजार स्थापना गरिने छ । भूमिहीन सुकुम्बासीलाई जग्गाको व्यवस्थापन गरी आवास निर्माण गरिनेछ ।

राशन कार्ड लागू गरिने छ । ‘एक घर, एक रोजगारी’ अभियान अन्तर्गत वर्षमा कम्तीमा तीन महिना रोजगारीको व्यवस्था गरिनेछ । भेरीको पानी लिफ्टिङ योजना सम्पन्न गर्न आवश्यक सहयोगका साथै हालको वितरण प्रणालीलाई थप व्यवस्थित गरिनेछ ।’

माथि उल्लेखित वुंदाहरु वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले पाँच बर्षअघि उम्मेदवार बनेपछि घोषणा गरेका चुनावी प्रतिबद्धताहरु हुन् ।

अब उनको कार्यकाल सकिन केही महिना मात्रै बाँकी छ । तर उनले आफ्नो प्रतिबद्धता अनुसार काम अगाडि बढाउन सकेनन् । कतिपय योजनाहरुको त सुरुवात नै हुन सकेको छैन । सायद अब ती प्रतिबद्धताहरु पूरा हुने संकेत पनि देखिदैन । कारण अब काम गर्नका लागि उनलाई समय धेरै छैन ।

पाँच बर्षअघि सुवेदीले चुनावी घोषणा पत्रमा ‘एक वडा, एक शिशु केन्द्र’, ‘एक वडा, एक लाइब्रेरी’ र सरकारी कामकाजलाई पूर्ण आईसीटीयुक्त डिजिटललाइज्ड बनाउने जस्ता लोकप्रिय योजनाहरु पनि समेटेका थिए ।

यि नै लोकप्रिय योजनासहितको घोषणापत्र, सरल, स्पष्ट र युवा व्यक्ति भएकै कारण मतदाताले सुवेदीलाई मेयरमा विजयी पनि गराए । नगर कार्यपालिकामा उनी सम्बद्ध दल (नेपाली काँग्रेस) अल्पमत भए पनि सुवेदीले सहजै चुनाव जिते । तर जनताको विश्वास गरेर जिम्मेवारीमा पुगेका उनले चुनावी बाचा भने पूरा गर्न सकेका छैनन् ।

साना योजनाहरु पुरा भए पनि मतदाता तान्ने आकर्षक योजनाको सुरुवातसमेत भएका छैनन् । वीरेन्द्रनगरलाई स्मार्टसिटी बनाउने योजना चुनावी घोषणापत्रमा नसमेटिएको तर चौकचौकमा आमसभामा चर्काे भाषणमा बोलिने अर्काे योजना हो । अधिकांश उम्मेदवारले वीरेन्द्रनगरलाई स्मार्टसिटी र फ्रि वाईफाई जोन बनाउने घोषणा गरेका थिए ।

मतलाई आफ्नो पक्षमा पार्न सुर्खेत विमानस्थलको स्तरोन्नति, चक्रपथसहितको भौतिक पूर्वाधार निर्माण, स्मार्टसिटीदेखि फ्रि वाईफाई जोन लगायतका योजनाहरु घोषणापत्रमा समेटेका थिए । तर न विजयी उम्मेदवारले चुनावी प्रतिबद्धता पुरा गरे, न त पराजित उम्मेदवारले वीरेन्द्रनगरको विकासमा सघाए ।

परिणामतः जनप्रतिनिधिको कार्यकाल सकिन केही महिना मात्र बाँकी वीरेन्द्रनगरले पूर्वाधार विकासमा फड्को मार्न सकेको छैन । अहिले फोहोर व्यवस्थापन, विद्युत र खानेपानीको समस्या जस्ताको तस्तै छ । व्यवस्थित शहर र सुर्खेत विमानस्थलको स्तरोन्नति भएको छैन । प्रमुख पर्यटकीय स्थल बुलबलु तालको विस्तारको काम पनि अधुरै छ ।

पूर्वाधारको खाका कोरेँ
वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदीले भने आफ्नो कार्यकालमा विकास निर्माणको खाका कोरेको दाबी गरेका छन् । वीरेन्द्रनगरको वडा नं. १४, १५ र १४ मा सडक र विद्युतको विस्तार, चक्रपथ निर्माण, भेरीको पानी वीरेन्द्रनगरमा ल्याउन लगानीको सुनिश्चितता लगायतका पूर्वाधार काम गरेको उनको दाबी छ ।

‘मेरै कार्यकालमा वीरेन्द्रनगरको दुर्गम क्षेत्रहरुमा मोटरबाटो र विद्युत पुगेको छ’ सुवेदी भन्छन्, ‘पूर्वाधार निर्माणका हिसावले वीरेन्द्रनगरलाई नमून शहर बनाउनको निम्ती विकासको खाका कोरिएको छ ।’ बुलबुले तालको स्तरोन्नति, काँक्रेविहारको पुनःनिर्माण, सहिदपार्क जस्ता पर्यटकीय पूर्वाधार निर्माणका लागि जनप्रतिनिधिका हिसावले उल्लेखनीय काम गरेको उनको दाबी छ ।

त्यस्तै भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याउन विश्व बैंकसँग लगानीको स्रोत जुटाएको, नगरवासीको लागि नगर अस्पताल स्थापना गरेको, वीरेन्द्रनगरलाई हरियाली शहर बनाउन पहल गरेको लगायतका पूर्वाधार निर्माणको काम भएको सुवेदीले बताए ।

अपेक्षा अनुसारको विकास भएन
वीरेन्द्रनगर प्रदेशको राजधानी र विकसित हुँदै गरेको शहर हो । चुनावमा मतदाताले पनि वीरेन्द्रनगरको विकास निर्माणमा केही गर्न सक्छन् भनेरै जनप्रतिनिधिहरु चुने । तर जनप्रतिनिधिको कार्यकाय भने अपेक्षाकृत भएन ।

‘फरक–फरक राजनीतिक दलबाट आएका जनप्रतिनिधिहरु विकासका मुद्दामा एक हुन सकेनन्’ मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन एवम् सामाजिक अगुवा पीताम्बर ढकाल भन्छन्, ‘जनप्रतिधिहरु दलिय मुद्दामै अडिए, वीरेन्द्रनगरको विकास निर्माणका लागि अपेक्षाकृत भूमिका निभाउन सकेनन् ।’

सडक पूर्वाधार, शिक्षा, स्वास्थ्यमा सकारात्मक कामहरु भए पनि खानेपानी, पर्यटकीय पूर्वाधार र वीरेन्द्रनगरलाई व्यवस्थित शहर बनाउने योजना कार्यान्वयन नगरिएको उनको भनाइ छ । ‘नगरमा खानेपानीको हाहाकार आज पनि उस्तै छ, अव्यस्थित शहरीकरण बढ्दो छ’ ढकाल भन्छन्, ‘विकासका मुद्दामा जनप्रतिनिधिहरु एकमत हुन नसक्दा चुनावी घोषणापत्र र बाचाहरु अधुरै रहन पुगे ।’

वीरेन्द्रनगरका जनप्रतिनिधिकाे पुरा भए त चुनावी प्रतिबद्धता ?

YUGAAWHAN NATIONAL DAILY (2078-11-11)

वीरेन्द्रनगरका जनप्रतिनिधिकाे पुरा भए त चुनावी प्रतिबद्धता ?

पञ्चपुरी–६ का वडा अध्यक्ष खड्कबहादुर थापालाइ हाम्रो

Leave a comment

Your email address will not be published. Required fields are marked *