लोक नृत्य र खुला म्याराथन दौड प्रतियोगिता सम्पन्न

वीरेन्द्रनगर ,८ असार,
एसओएस हर्मन माइनर विद्यालयमा ३६ औँ अन्तर्राष्ट्रिय एसओएस दिवसका अवसरमा अन्तर विद्यालय लोक नृत्य र खुला दौड (म्याराथन) प्रतियोगिता सम्पन्न भएको छ । म्याराथन प्रतियोगितामा छात्रतर्फ जनज्योति मा. वि. बड्डीचौरका अजय वि. क. प्रथम, सोही विद्यालयका रेशम बहादुर शाही द्वितीय, शिव मा. वि. लाटीकोइलीका हरि बहादुर रावत तृतीय र जन मा. वि. वीरेन्द्रनगरका प्रभात बुढा सान्तवना भएका छन् ।

छात्रातर्फ श्रीकृष्ण मा. वि. इत्रामकी विमला कार्की प्रथम, मदरसा स्कुल पिपिरा सुर्खेतकी विमला वि. क. द्वितीय, श्रीकृष्ण मा. वि. इत्रामकी खगीसरा जैसी तृतीय र कोपिला भ्याली स्कुलकी अस्मिता नेपाली सान्तवना भएका छन् । यसै गरी जम्मा १४ वटा विद्यालयको सहभागिता रहेका थियो ।
अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा कोपिला भ्याली स्कुल प्रथम, सैनिक आवासीय महाविद्यालय द्वितीय सिद्धपाइला बोर्डिङ स्कुल तृतीय र एडभान्स बोर्डिङ स्कुल सान्त्वना भएका छन् । म्याराथन दौडका लागि प्रथम रु ४,०००, द्वितीय रु. ३,०००, तृतीय रु. २,५०० र सान्त्वना रु. १,५०० रहेको छ भने लोक नृत्यको प्रथम पुरस्कार रु. १२,०००, द्वितीय रु. १०,०००,तृतीय रु. ८,००० र सान्त्वना रु. ५,००० पुरस्कार रहेकोे छ ।
कार्यत्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले हाम्रो पछिल्लो पुस्तालाई आफ्नो वैयक्तिक भविष्य निर्माण गर्नुका साथै आफ्नो जन्मभूभि र समाजप्रतिको उत्तरदायित्व बोध गराउनु नै वास्तविक शैक्षिक विकास भएको कुरा बताइन् ।
विश्वका जुनसुकै कुनामा गएर आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गर्नसक्ने नागरिक उत्पादनतर्फ हरेक शैक्षिक संस्थाले ध्यान दिनुपर्ने विचार व्यक्त गर्दै यो विद्यालय यिनै कुरामा ध्यान दिई उच्च गुणस्तरीय जनशक्ति उत्पादन गर्ने बाटोमा हिँडिरहेकोमा आफू गौरवान्वित रहेको बताइन् ।
विशेष अतिथि वीरेन्द्रनगर नगरपालिकाका उप प्रमुख नीलकण्ठ खनालले विद्यालयले सञ्चालन गरेका हरेक राम्रा कार्यव्रmममा आफूले व्यवस्थापन समितिको सदस्य र जन प्रतिनिधिको नाताले यथासक्य सहयोग गरेको र अझ पनि गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुका साथै यस विद्यालयको उद्देश्य घरबारबिहीन र गरिब तथा जेहेन्दार छात्रछात्राहरुलाई छात्रवृत्तिमा गुणस्तरीय शिक्षा दिन बताएका छन् ।
।
विद्यालयका भूतपूर्व शिक्षक तथा अभिभावक निर्मल थापाले विद्यालयले स्थापनाकालदेखि हालसम्म उस्तै मिहिनेतका साथ समसामयिक विधि र प्रविधिको प्रयोग गरी बालबालिकाका लागि नवीन युग अनुकूलको शिक्षा दिइरहेकोमा प्रशंसा गर्दै भविष्यका कर्णधार हाम्रा विद्यार्थीका आकाङ्क्षा पूर्ति गर्ने कार्यमा हामी सबैले जिम्मेवार भएर सहयोग गर्दै जानुपर्नेमा जोड दिए ।
विद्यालयका भूतपूर्व विद्यार्थी तथा बालरोग विशेषज्ञ डा. नवराज के. सी. ले वर्तमान शिक्षाको मुख्य उद्देश्य अर्काको दुःखमा रुने र अर्काको नोक्सानीमा सहानुभूति गर्ने नागरिक तयार पार्नु रहेको बताए । आज साथीको सामान लुकाउने बालबालिका भोलि देशको बजेट लुकाउने हुँदा त्यसतर्फ हामी सचेत हुनुपर्ने कुरा बताउँदै यस्तो प्रेरणा प्रा. डा. हर्मन माइनरबाट आफूले लिएको र अरुले पनि लिनुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागी विद्यालयका विद्यार्थी, शिक्षक तथा अन्य अतिथिहरुलाई स्वागत गर्दै विद्यालयका कार्यवाहक प्राचार्य हरिहर बस्नेतले हाल विद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रमहरू, विद्यालयले आफ्नो भावी योजनामा राखेका कार्यक्रम महरू र एसओएस दिवसका अवसरमा विद्यालयमा सम्पन्न विविध कार्यक्रम विवरण प्रस्तुत गरका हुन् ।






