निर्धक्कसाथ विद्यालयमै प्याडकाे प्रयोग

हुुम्ला, ५ साउन ।
महिनावारी भएका बेला विद्यालय नै नआउने छात्राहरु हिजो आज निर्धक्कसाथ विद्यालयमै प्याड प्रयोग गर्न थालेका छन् । विद्यालयको एउटा सुरक्षित स्थानमा सेनिटरी प्याड निकाल्ने भेण्डर मेशिन जडान गरिएपछि छात्राले प्याड प्रयोग गर्न थालेका हुन् ।
खार्पुनाथ गाउँपालिका–५ को मान्धारा माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा विनीता परियारले मेशिन जडान गरे लगत्तै एउटा प्याड झिकेर प्रयोग गरिन । यसअघि प्याड नहुुँदा कपडा प्रयोग गर्ने परियारले मेशिन जडान पछि प्याड प्रयोग गर्न सहज भएको बताइन । उनले आफुु जस्तै महिनावारी हुने छात्राहरु निर्धक्कका साथ आवश्यक परेको बेला सेनिटरी प्याड स्मार्ट कार्ड मेशिनमा इन्स्टल गरेर झिक्न पहिले जस्तो लाज मान्न छोडेको बताइन् ।

एक दिन अगाडि उक्त मेशिन जडान गरिएको विद्यालयका प्रधानाध्यापक दिलबहादुुर शाहीले बताए । उनले मेशिन जडानपछि विद्यालयमा महिनावारी हुने उमेरका छात्रा र शिक्षक गरी साठी जना रहेको र उनिहरु सबैलाई सहज भएको बताए । नयाँ जडान गरिएको मेशिनमा एक पटकका लागि साठी वटा प्याड प्रयोग गर्न सकिन्छ ।
उनले यसबाट अब विद्यालयमा छात्रालाई सहज हुनुुका साथै उपस्थिति पनि बढ्ने विश्वास व्यक्त गरे। यसअघि उक्त विद्यालयमा केही छात्राहरु महिनावारी भएको बेला घरबाट नआउने र विद्यालयमा अध्ययन गरिरहेका बेला महिनावारी भए विद्यालय छोडेर जाने समस्या थियो । मेशिन जडान भएपछि छात्राहरुलाई निर्धक्कका साथ प्रयोग गर्न विद्यालयले सहजीकरण गरेको थियो । मेशिन युरोपियन युुनियन लगायत सहयोगी निकायको आर्थिक सहयोगमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले जडान गरेको हो ।
गाेरखापत्र






