२० दिनमा पाँच गुणा बढ्यो भारतमा कोरोना संक्रमण

काठमाडौं, ७ असार ।
भारतमा पछिल्लो २० दिनमा पाँच गुणाले कोरोना संक्रमित बढेका छन् । भारतीय स्वास्थ्य विभागका अनुसार जुन १ मा ३९१७ संक्रमित फेला परेको भारतमा ५ जुनमा ४३६२, जुन १० मा ८३१८, जुन १५ मा १२१५४ र १९ जुनमा १२२१८ जना संक्रमित फेला परेका छन् ।
पछिल्लो ५ दिनमा लगातार १२ हजार बढी नयाँ संक्रमित फेला परेका छन्। पछिल्लो एक सातामा मात्र भारतमा ८२ हजार भन्दा बढी संक्रमित फेला परेका छन् । मंगलबार ८८२२ संक्रमित फेला परेको भारतमा त्यसपछि लगातार ५ दिन १२ हजारभन्दा बढी संक्रमित फेला परे ।

बुधबार १२२१३, बिहिबार १२८४७, शुक्रबार १३२१६, शनिबार १२८९९ र आइतबार १२७१७ जना नयाँ संक्रमित फेला परेका छन् । सोमबार संक्रमितको संख्या घटेको छ । पछिल्लो २४ घन्टामा ९८७५ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । यस्तै ७२५४ संक्रमित निको भएका छन् भने १७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
सबैभन्दा बढी सोमबार केरलामा २७८६ संक्रमित भेटिएका छन्। यो सँगै केरलामा संक्रिय संक्रमितको संख्या २२२७८ पुगेको छ। यहाँ १६.०८ प्रतिशत पोजेटिभ रेट रहेको छ । यस्तै महाराष्ट्रमा २३५४ जनामा संक्रमण पुष्टि भएको छ । महाराष्ट्रमा कोरोनाको पोजेटिभ रेट १०.३६ प्रतिशत छ ।
यस्तै राजधानी दिल्लीमा पछिल्लो २४ घन्टामा १०६० जना संक्रमित फेला परेका छन्। दिल्लीको संक्रमण दर १०.०९ प्रतिशत रहेको छ । अहिले भारतमा कोरोनाका संक्रिय संक्रमितको संख्या ७७ हजार नाघेको छ ।
स्रोत : सेतोपाटी






