कर्णाली प्रदेशभरी ७७१३ जना म्यादी प्रहरी भर्ना गरिँदै ( १० जिल्लाकाे विवरण)

सुर्खेत, ७ चैत ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कर्णालीमा साढे सात हजार म्यादी प्रहरी खटाइने भएको छ । निर्वाचन सुरक्षाका लागि सरकारले आइतबारबाट म्यादी प्रहरीको भर्ना सुरु गरेको छ ।
जसअन्तर्गत कर्णालीमा साढे सात हजारभन्दा बढी म्यादी प्रहरी भर्ना गर्न लागिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । १८ वर्ष पूरा गरी ५४ वर्ष ननाघेका व्यक्तिहरु म्यादी प्रहरीमा भर्ना हुन पाउने छन् ।
कर्णाली प्रदेशभर सात हजार सातसय १३ जना म्यादी प्रहरी माग गरिएको छ । कर्णालीका सबै जिल्ला प्रहरी कार्यालयले म्यादी प्रहरीको छनौट गर्नेछन् । जिल्लामा छनौट भएकाहरुलाई कर्णाली प्रदेशमै खटाइने छ । प्रहरीका अनुसार सुर्खेतमा मात्रै एक हजार दुई सय ६१ जना म्यादी प्रहरी खटाइने छ ।
त्यस्तै सल्यानमा एक हजार ७३ जना, दैलखमा आठ सय ९३ जना, हुम्लामा चारसय १६ जना र डोल्पामा पाँचसय ६८ जना म्यादी प्रहरी खटाउने योजना रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रसिंह खड्काले बताए ।
उनका अनुसार मुगुमा चार सय ६९ जना, कालीकोटमा आठ सय चार जना, जुम्लामा सात सय ६८ जना, रुकुमपश्चिममा ६ सय ७७ जना र जाजरकोटमा सात सय ८४ जना म्यादी प्रहरी खटाइने छ ।
चैत ११ सम्म म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले दरखास्त दिन सक्नेछन् । चैत १५ बाट म्यादी प्रहरीको छनौट सुरु हुनेछ । चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरिनेछ ।
साधारण लेखपढ गर्न जानेकाहरूले म्यादी प्रहरीमा आवेदन दिन पाउनेछन् । भर्ना गर्दा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा काम गरी पेन्सन वा उपदान प्राप्त गरिरहेका पूर्वसुरक्षाकर्मीलाई पहिलो प्राथमिकता दिइने प्रहरीले जनाएको छ ।
त्यस्तै पूर्ववनरक्षक र सेना, प्रहरी र सशस्त्र प्रहरी बलमा भर्नाका लागि आवेदन दिएर शारीरिक परीक्षणमा पनि सहभागी भएकाहरु दोस्रो प्राथमिकतामा पर्ने भएका छन् । तर उनीहरुले शारीरिक परीक्षणमा सहभागी भएको प्रवेश पत्रको प्रतिलिपी पेश गर्नुपर्ने छ ।
म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधिमा पास हुनुपर्नेछ ।
पाठ्यक्रममा स्थानीय तहको निर्वाचनमा सुरक्षाकर्मीले निर्वाह गर्नुपर्ने भूमिकालाई ध्यान दिएर आवश्यक पर्ने अनुभव, ज्ञान सीप र आचरण सम्बन्धी विषय समावेश गर्ने भनिएको छ ।
छनौट भएका व्यक्तिलाई निर्धारित पाठ्यक्रम अनुसार आधारभूत कानूनी प्रक्रिया सम्बन्धी ज्ञान, सुरक्षा व्यवहार सम्बन्धी व्यवहारिक सीप, निर्वाचनमा म्यादी प्रहरीले पालना गर्नुपर्ने कर्तव्य तथा आचरण सम्बन्धी १५ दिनको तालिम दिइनेछ ।
४० दिनको ४४ हजार तलव
म्यादी प्रहरीले प्रहरी जवान सरह सेवा सुविधा पाउनेछन् । म्यादी प्रहरीले ४० दिन काम गर्नुपर्ने छ । जसमा मासिक ३० हजार दुई ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।
पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न बापत सात हजार दुई सय, पोशाक र अन्य खर्च गर्नेगरी ६ हजार, यातायात खर्च बापत एक हजार रुपैयाँ पाउनेछन् । यसरी एउटा म्यादी प्रहरीले कुल ४४ हजार चारसय ४० रुपैयाँ पाउने छन् । यसका साथै हरेक म्यादीका लागि २५ लाख बराबरको बीमा सुविधा गरिने छन् ।








Mahesh budha
21st Mar 2022Mahesh budha