कर्णालीमा जिससको नेतृत्व एमाले – समाजवादी बराबर
सुर्खेत, ६ असार ।
कर्णालीमा जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ । कर्णाली १० जिल्ला मध्ये रुकुम पश्चिम र कालिकोटमा माओवादी केन्द्रले नेतृत्व पाएको छ भने जाजरकोट, जुम्ला, सल्यान र मुगुमा काँग्रेसले नेतृत्व पाएको छ । गठबन्धनबाट हुम्लामा एकीकृत समाजवादीले नेतृत्व पाएको छ । जुम्लामा उपप्रमुख समाजवादीले पाएको छ ।
काँग्रेसले ५ प्रमुख, उपप्रमुख २ जितेको छ भने माओवादीले २ प्रमुख र ६ उपप्रमुख जितेको छ । एमालेले प्रमुख र उपप्रमुख १–१ जितेको छ । एक प्रमुख र उपप्रमुखमा स्वतन्त्र विजयी भएका छन् । डोल्पामा काँग्रेसले एमाले, समाजवादी, स्वतन्त्रसँग मिलेर जिसस नेतृत्व हात पारेको छ । एमालेले माओवादीसँग मिलेर सुर्खेत जिससको नेतृत्व पाएको छ ।


एमाले र एकीकृत समाजवादी एक÷एक प्रमुख र उपप्रमुख जितेर बराबर भएका छन् । दैलेखका काँग्रेसकै बागी उम्मेदवार निर्वाचित भएपनि विवाद भएको छ । उपप्रमुखमा एमाले विजयी भएको छ । हुम्लामा जिससको चुनाव भएको छ । प्रमुखमा एकीकृत समाजवादी र उपप्रमुखमा माओवादी केन्द्रलाई दिने गठबन्धनको सहमति थियो ।
रुकुमको जिससमा प्रमुखमा माओवादीकी लुम्बिनी गौतम निर्वाचित भएकी छिन । उपप्रमुखमा पनि माओवादीकै देवबहादुर कामी निर्वाचित भएका हुन । उनीहरु निर्विरोध निर्वाचित भएका थिए । कालिकोटको जिसस प्रमुखमा माओवादीका धनजित शाही (आदर्श) र उपप्रमुखमा मिना रावत (विश्वकर्मा) निर्वाचित भएकी छन् ।
जुम्लाको जिससमा काँग्रेसका गौरीनन्द आचार्य प्रमुख र उपप्रमुखमा समाजवादीका जनक थकाली निर्विरोध निर्वाचित भएका छन् । डोल्पामा पनि प्रमुखमा काँग्रेसका श्यामबहादुर रोकाय निर्विरोध भएका छन् भने उपप्रमुखमा तेजेन्द्र बुढा निर्वाचित भएका छन् । उनी स्वतन्त्र उम्मेदवार हुन् ।
यहाँ एमाले, काँग्रेस, समाजवादी र स्वतन्त्रको तालमेल हुँदा माओवादी एक्लो थियो । मुगुको जिसस मुगुको प्रमुख र उपप्रमुखमै काँग्रेसले हात पारेको छ । काँग्रेसका मञ्जनबहादुर कार्की प्रमुख र नैली कार्की उपप्रमुखमा बनेका छन् । यहाँ काँग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो ।
जाजरकोट जिसस प्रमुखमा काँग्रेसका कालिबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् भने उपप्रमुखमा माओवादीका दलबहादुर सिंह निर्वाचित भएका छन् । सल्यानको जिससमा पनि गठबन्धनको प्यानल विजयी भएको छ । प्रमुखमा काँग्रेसका बेलाराम रावत र उपप्रमुखमा माओवादी केन्द्रका असबिर बुढाथोकी निर्वाचित भएका छन् ।
सुर्खेतमा भने जिसस प्रमुखमा एमालेले बाजी मारेको छ । प्रमुखमा एमालेका गंगाराम सुनार निर्वाचित भएका छन् । एमाले र माओवादी गठबन्धनबाट एमालेका सुनार निर्वाचित भएका हुन् । उपप्रमुखमा माओवादी सचिनकुमार बडुवाल निर्वाचित भएका छन् ।






