कर्णाली राजमार्गको पहिरो पन्छाउने क्रम जारी हल्लाकै भरमा महंगी र कालोबजारी

पुनम वि.सी.
सुर्खेत,२ असोज ।
सडक अवरुद्व रहेको कारण देखाउँदै कर्णालीका पहाडी जिल्लाहरुमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामाग्रीको अचाक्ली मूल्यवृद्वि हुन थालेको छ । चाडपर्वका बीचमा जनस्तरबाट यस्तै थालेको गुनासो दिनहुँजसो बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय मुगुले जिल्लाका स्थानीय तह र उद्योग वाणिज्य संघलगायतको संयुक्त टोली लिएर बजार अनुगमनसमेत गरेको छ ।
मुगुसम्म पुग्ने कर्णाली राजमार्गअन्र्तगत ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्व बनाएको छ । यो अवस्थामा खाद्यान्नलगायतका सामाग्रीमा व्यवसायीले मनोमानी मूल्यवृद्धि गर्न थालेको गुनासोपनि व्यापक हुँदै गएको छ । नागरिक समाज, मुगुका अध्यक्ष रुपबहादुर मल्लले ‘व्यापारीले ग्याँस, चामललगायतका सामानहरुमा एक सय रुपैयाँदेखि दुई सय रुपैयाँसम्म मनपरी बढाएको’ आरोप लगाए । ‘अहिलेपनि ठाउँ ठाउँमा पहिरो गईरहेको छ ।

मल्लले भने, ‘यस्तो बेला सडक सञ्चालन हुने सम्भावना कम भएसंगै बजारमा कृत्रिम अभाव र कालोवजाली बढ्नै शंकापनि उत्तिकै छ ।’ सडक अवरुद्व भएकै कारण आउँदै गरेको तिहारमा खाद्यान्नलगायतका दैनिक उपभोग्य सामाग्री अभाव हुने चिन्ता समेत उनले व्यक्त गरे ।
सडक सुचारु हुन एक महिना लाग्ने हल्लाले मुगुवासीले अहिले दैनिक भान्सामा चाहिने सरसामानको जोहो गर्ने मात्र नभई घरमा चाहिने सामान सञ्चित गर्न थालेको मल्लले जानकारी दिए । सडक नखुल्ने हल्लाकै बीचमा स्थानीय व्यवसायीले समेत मूल्यवृद्धि गरेको हुनसक्ने उनको बुझाई छ ।
‘दुई हजार तीन सय रुपैयाँमा पाउने ग्यास सिलिण्डर अहिले मुगुमा दुई हजार ६ सय रुपैयाँमा बिक्रि गरिएको छ । उनले भने, चामलमा पनि प्रतिबोरा दुई सय रुपैयाँसम्म मूल्य वृद्धि भएको पाएका छौँ ।’ यता मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमलबहादुर बुढा भने पहिरोले सडक अवरुद्ध हुँदा नागरिकमा महंगीको पिर परेको बताउँछन् ।
‘सडक सञ्चालनमा नभएपछि नागरिकको मनोविज्ञानमा समेत असर परेको छ । उनले भने, अरु एक महिनासम्म सडक नखुले के गर्ने भनेर नागरिकहरु खाद्यान्न स्टक राख्न थालेका छन् ।’ अध्यक्ष बुढाका अनुसार मुगुमा अहिले एक हप्ता धान्न सक्ने खाद्यान्न र दैनिक उपभोग्य सामाग्री बजारमा प्रशस्तै छ । त्यहाँका मुख्य व्यापारीहरुको भण्डारण हेर्ने हो भने अझै एक हप्ता समस्या नपर्ने उनको दाबी छ । ‘एक हप्ता त पुग्छ ।
तर त्यसपछि पनि सडक खुलेन भने भन्न सकिने अवस्था छैन’ उनले भने । समयमै सडक सञ्चालनमा नआएपनि जिल्लाका व्यवसायीहरुले खाद्यान्न लगायतका सामाग्रीलाई ठाउँ ठाउँमा ‘पल्टी’ गर्दै ल्याउन सकिने उनको सुझाव छ । ‘यस्तै रह्यो भने, पहिरो गएको ठाउँमा पल्टी गर्दै फरक फरक गाडीमार्फत ढुवानी गरेर सामाग्री ल्याउन पनि सकिन्छ । उनले भने, केहि रुपैयाँ महंगो पर्न सक्ला तर त्यति धेरै महंगो होला भन्ने छैन ।
’ मुगु–नाग्म सडक खण्ड अन्र्तगत छायाँनाथ रारा नगरपालिका–४ स्थित भूमियाखोलाको पहिरो अझै हटेको छैन । यसैगरी सोहि स्थानीय तह अन्र्तगतको स्याउखोला क्षेत्रमा समेत पहिरोले सडक अवरुद्व छ । यस अवस्थामा सडक तत्काल सुचारु हुन नसके महंगी बढ्न सक्ने सम्भावना रहेको मुगु छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भाम बताउँछन् । यी ठाउँहरुमा दुई वटा जेसिभी मार्फत पहिरो पन्छाउने काम निरन्तर चलिरहेपनि हालसम्म पनि सडक सुचारु गर्न नसकिएको उनले उल्लेख गरे । ‘
सडक अवरुद्ध हटाउनका लागि सडक डिभिजन, स्थानीय तहलगायतका हामी सबै एक भएर काम गरिरहेका छौँ । उनले भने, धेरै स्थानमा पहिरो भएका कारण पनि समयमा नै सडक खुलाउन सकिएको छैन। यो अवस्थामा महंगी बढ्न सक्ने सम्भावना पनि छ ।’ यस्तो अवस्थामा जिल्लामा कालोबजारीको उच्च सम्भावना रहने उनले पनी स्वीकारे । यसअघि नै व्यवसायीले सामान ढुवानी गरेको जनाउँदै कालोबजारी नगर्न सचेत तथा अनुरोध गरिरहेको उनले बताए। यसका साथै मौसम अनुकुल नै रहे तिहार अघि नै सडक सञ्चालनमा आउने उनले विश्वास व्यक्त गरे ।
जुम्लामा ग्यास र पेट्रोल अभाव
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थमा अभाव हुन थालेको छ । बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थ पर्याप्त मात्रमा नहुँदा उपभोक्तालाई पाउन गाह्रो भएको छ । कर्णाली राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थको समस्या देखिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् । बजार अनुगमनका क्रममा जिल्ला सदरमुकाममा पेट्रोलियम पदार्थको अभाव भएको पाइएको छ ।
महिनौं दिनसम्म कर्णाली राजमार्ग नखुल्ने हल्ला चलेका हुनाले बजारमा कालोबजारी भएको जनगुनासो आएपछि चन्दननाथ नगरपालिका जुम्लाका उपप्रमुख रामदेवी खड्का र सहायक प्रमुख जिल्ला अधिकारी रिजालको अगुवाइमा बजार अनुगमन गरिएको हो । खाद्यान्न र पेट्रोलियम पदार्थ बेच्ने पसलको अनुगमन गरिएको छ ।
अनुमगनका क्रममा झण्डै २ महिना पुग्ने खाद्यान्न र खाने तेल बजारमा मौज्दात रहेको सहायक प्रजिअ रिजालले बताइन् । १० वटा पसलको अनुगमन गर्दा पेट्रोलियम पदार्थबाहेक दैनिक उपभोग्य वस्तुमा समस्या नहुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । छिटोभन्दा छिटो अवरुद्ध राजमार्ग खुलाउनका लागिपरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
कालिकोटसम्मको पहिरो पन्छाइया
कर्णाली राजमार्गअन्र्तगत कालिकोटसम्मको सडक अवरुद्ध हटेको छ । कालिकोट सदरमुकाम मान्मदेखि ३० किलोमिटर मुगुतर्फसम्मको सडक अवरुद्व हटेको छ । कालिकोट– मुगुतर्फका धेरै स्थानमा सडक अवरुद्व छन् । जिल्लाकै सेरीघाट क्षेत्रमा नेपाली सेनालगायतको सहयोगमा पहिरो हटाउने कार्य भईरहेको छ ।
तिलागुफा नगरपालिका–७ स्थित बाली क्षेत्रमा समेत पहिरोले सडक अवरुद्व रहेको कालिकोटका स्थानीय पुष्पराज भट्टराईले जानकारी दिए । जुम्लातर्फ भने तीला गाउँपालिका–१ गाडगोडेनी क्षेत्रमा पहिरो हटाउनका लागि तीन वटा जेसिभीले काम गरिरहेका छन् । मुगु सडक खण्ड तर्फ मात्र सात स्थानमा पहिरोले सडक अवरुद्व छ ।





