कछुवा दह सामुदायिक वनमा भीषण आगलागी

दिलिप ढकाल
गुर्भाकोट, ६ बैशाख ।
गर्मी बढेसंगै विभिन्न सामुदायिक वन लगायतका जंगलहरुमा दैनिक जसो आगालागिका घटनाहरु हुन थालेका छन् । आगलागी हुँदा वन जंगल बिनास हुनुका साथै बन्यजन्तुको बास स्थान पनि नस्ट हुने गरेको छ ।
धेरै जसो जंगली जनावर तथा चराचुरुङ्गीको आगलागीमा परी मृत्यु हुने गरेको र घाईते भएका जनावर तथा चराचुरुङ्गीको पनि मृत्यु हुने गरेको छ ।
आगलागी हुने क्रममै सल्यान जिल्ला कालिमाटी गाउँपालिका वडा नं. ३ को घनारी सामुदायिक बनबाट सुरु भएको आगोसंगै जोडिएको कछुवा दह सामुदायिक बनमा प्रवेश गरेपछि अहिले उक्त आगो नियन्त्रण बाहिर गएको कालिमाटी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष बिर बहादुर ओलीले जानकारी दिनुभयो ।
घनारी सामुदायिक वनमा लागेको आगो अहिले नियन्त्रणमा आयको र कछुवा दह सामुदायिक वनमा लागेको आगो स्थानीय जनता, इलाका प्रहरी कार्यालय कालिमाटीको प्रहरी टोली, जनप्रतिनिधि, सामुदायिक वनका अध्यक्ष लागायतले अथक प्रयास गर्दा पनि आगो नियन्त्रण मा ल्याउन नसकिएको कालिमाटी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष बिर बहादुर ओलीले जानकारी दिनुभयो ।
जंगल भिरालो र त्यसमा पनि खर (बाबियो ) धेरै भएकाले आगो लागिरहेको र अहिले कालिमाटी गाउँपालिकाका ७ ओटै वडाका विभिन्न स्थानमा आगो लागिरहेको कालिमाटी गाउपालिकाका अध्यक्ष दान बहादुर केसीले जानकारी दिनुभयो ।
आगो कसले कहाँबाट लगायर फैलिएको भन्ने जानकारी नभएपनि जंगलमा थाकल (खजुरी) खान जाने केटाकेटीले आगो लगाएको हुन सक्ने अध्यक्ष केसीले जानकारी दिनुभयो ।







