बेतन कर्णाली जलविद्युत : आउँदो बर्षदेखि निर्माण थालिने, १० प्रतिशत स्थानीयलाई सेयर

सुर्खेत, ७ फागुन ।
कर्णाली प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको ‘बेतन कर्णाली जलविद्युत आयोजना’ निर्माणका लागि पूर्वतयारीको काम उत्साहजनक रुपमा अगाडि बढेको छ ।
विस्तृत अध्ययन प्रतिवेदन तयार भएसँगै आयोजनाले निर्माण पूर्वका तयारीहरु अगाडि बढाएको छ । चार सय ३९ मेगावाटको अर्धजलासययुक्त यो आयोजनाको निर्माणका लागि पूर्वतयारीको काम अगाडि बढेको बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका कार्यकारी निर्देशक दीपक रौनियारले जानकारी दिए ।
सुर्खेतको चौकुने गाउँपालिकादेखि अछामको ढकेरी गाउँपालिकासम्म यो आयोजनाले समेट्छ । यो आयोजनाले आउँदो आर्थिक बर्षदेखि निर्माण सुरु गर्ने उद्देश्यका साथ पूर्वतयारीका कामहरु धमाधम थालेको हो ।
जसका लागि अहिले आयोजना स्थलसम्म सडक, क्याम्पहाउस तथा अडिटटनेल निर्माण र विद्युत विस्तार लगायतका कामहरु भइरहेका छन् । अछाम खण्डबाट आयोजनास्थल पुग्न सडक निर्माणको काम सकिएको छ ।
सुर्खेत खण्डमा पनि आयोजना स्थलसम्म सडक निर्माण सुरु भइरहेको छ । आयोजना स्थलसम्म सडक पु¥याउन चौकुने गाउँपालिकाले कोइरालाबासदेखि रातामाटे हुँदै भोक्रेसम्म ट्याक खन्न सुरु गरेको हो ।
गुटुबाट बाँधस्थलसम्म १४ किलोमिटर ट्याक खन्न थालिएको छ । त्यस्तै आयोजनास्थलमा विद्युत विस्तारको प्रक्रिया पनि सुरु भएको छ । कैलालीको सुगरखालदेखि ३३ केभिए विद्युत प्रसारलाइन विस्तार थालिएको हो । सुगरखालबाट आयोजना स्थलसम्म झण्डै करिव ३० किलोमिटर टाढा पर्छ ।
आयोजना सञ्चालनका लागि भने १० केभीए विद्युत आवश्यक पर्दछ । आयोजनाबाट उत्पादित विद्युत भने चारसय केभी प्रशारण लाइनमा निकासी गरिनेछ । त्यस्तै बेसक्याम्प हाउस, हेडटनेल परामर्शदाता एवं कम्पनीका जनशक्तिको बसोबासका लागि पाँच रोपनी जग्गा भाडामा लिइसकेको छ ।
निर्माणपूर्व तीन मिटर व्यास र ७० मिटर लम्बाइका दुई तथा एकसय र दुईसय मिटर लम्बाइका एक÷एक गरी चार वटा अडिटटनेल तथा बेसिकक्याम्प हाउसका लागि निर्माण थालिएका छन् ।
आयोजना सञ्चालन गर्न सन् २०१७ अक्टोबरदेखि नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको इन्जिनीयरिङ कम्पनी लिमिटेडले अध्ययन सुरु गरेको थियो । दुई महिना अघिमात्रै आयोजनाको विस्तृत अध्ययन सकिएको हो । योसँगै आयोजनास्थल, अतिक्रमित क्षेत्र र लागत अनुमान पनि टुंगो लागेको छ ।
अध्ययनअनुसार आयोजनाका लागि कर्णाली नदीमा एकसय ४० मिटर अग्लो बाँध बाँधेर सुरुङमार्फत विद्युतगृहमा पानी पु¥याइने छ । यसको जलासय एक करोड २५ लाख घनमिटर पानी सञ्चय गर्न सकिन्छ ।
यसरी जम्मा भएको पानी ६.६ किलोमिटर लामो हेडरेस टनेल र तीनसय ४५ मिटर लामो पेनस्टल पाइपबाट टर्वाइनमा खसालिने छ । उत्पादित विद्युतले पहिलो वर्ष १४ अर्ब ५० करोड ३१ लाख १२ हजार तथा निर्माण सम्पन्न भएको नौ वर्षपछि १८ अर्ब ३७ करोड २१ लाख ८ हजार वार्षिक आम्दानी हुने अनुमान छ ।
प्रतिवेदन तयार भइसकेका कारण लगानी, परामर्शदाता जुटाएर नयाँ आर्थिक बर्षदेखि निर्माण सुरु गर्ने तयारी गरेको छ । आयोजना निर्माण थालिएको पाँच बर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशकै साझा र गौरवको यो आयोजना सञ्चालमा भए प्रभावित बासिन्दाको जीवनस्तर उकास्न ठूलो मद्दत पुग्नेछ ।
प्रभावित क्षेत्रका बासिन्दालाई दश प्रतिशत शेयर दिइने
आयोजनाले शेयर संरचनाको पनि टुंगो लगाएको छ । जसअनुसार अब आयोजनाको प्रभावित क्षेत्रका स्थानीयहरुले दश प्रतिशत शेयर पाउने निश्चित भएको छ ।
आयोजनाबाट आयोजनाबाट सुर्खेत चौकुने गाउँपालिका–६, पञ्चपुरी नगरपालिकाको वडा नं. ७ र अछाम जिल्लाको ढकारी गाउँपालिकाको वडा नं. ६ र तुर्माखाँद गाउँपालिकाका वडा नं. ३, ४ र ५ वडाका बासिन्दा प्रत्यक्ष प्रभावित हुन्छन् ।
शेयर संरचना सञ्चयकर्ताले ४० प्रतिशत, कर्मचारी सञ्चय कोषले १५ प्रतिशत, सर्वसाधारणको १३ प्रतिशत, नेपाल विद्युत प्राधिकरणले दश प्रतिशत, विद्युत उत्पादन कम्पनीको दश प्रतिशत र न्यूनआए भएका महिलाहरुले दुई प्रतिशत शेयर पाउने छन् ।
जग्गा अधिग्रहण सुरु
बेतन कर्णाली जलविद्युत आयोजनाले जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ । आयोजना सञ्चालन हुँदा सुर्खेत र अछामको झण्डै २२ हजार दुईसय ९४ रोपनी जग्गा अधिग्रहणमा पर्नेछ । निर्माणको लागि आयोजनाले गति लिन थालेपछि दुबै जिल्लामा जग्गा अधिग्रहण सुरु गरिएको हो ।
‘अछाम र सुर्खेत जिल्लामा जग्गा अधिग्रहण सुरु भएको छ’ बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका कार्यकारी निर्देशक दीपक रौनियारले भने, ‘चालु आर्थिक बर्षभित्रै अधिग्रहरण सकिन्छ ।’
सुर्खेतको चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाभित्र चारसय ५० रोपनी र अछामको तुर्माखाँद र ढकारी गाउँपालिकाको एकहजार आठसय ४४ रोपनी जग्गा अधिग्रहण थालिएको हो । अछाममा जग्गा अधिग्रहण अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।
लगानी सुनिश्चित गर्न पहल
यो आयोजना सम्पन्न गर्न ८८ अर्ब बजेट लाग्ने अनुमान छ । तर अहिलेसम्म लगानीको सुनिश्चिता छैन । यहीकारण आयोजना प्रबद्र्धकले लगानी सुनिश्चितताको पहल सुरु गरेको छ ।
आयोजना सञ्चालनका लागि झण्डै ६५ प्रतिशत ऋण लिनुपर्ने छ । तर प्रवर्दक कर्मचारी सञ्चय कोषसँग आयोजनाका लागि सात अर्ब बजेट मात्रै सुनिश्चित भएको छ । कर्मचारी सञ्चय कोषले कोषका बचतकर्ताले बचतमा प्राप्त गर्ने बार्षिक बोनसबाट दश प्रतिशत रकम यो आयोजनाको लागि छुट्याउने गरेको छ ।
२०७३ सालबाट हालसम्म सात अर्ब रुपैयाँ संकलन भएको छ । कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने करिब ६ लाख सञ्चयकर्ताको सञ्चित रकममा कोषबाट प्राप्त हुने प्रतिफललाई जलविद्युत क्षेत्रको विकासमा लगानी गरेर कोषले आयोजना निर्माण गर्न लागेको हो । तर बाँकी रकम आयोजना सुरु हुनुअघि नै सुनिश्चितता गर्नुपर्ने हुन्छ ।
यही प्रबर्दक कम्पनीले आयोजनाको लागि रकम सुनिश्चितताको पहल सुरु गरेको छ । ६५ प्रतिशत ऋण लगानीका लागि प्रबद्र्धक कम्पनीले स्वदेशी वित्तिय संस्थाहरुसँग ऋणका लागि छलफल सुरु गरेको छ । सो आयोजनामा ग्लोवल आइएमई बैंकको नेतृत्वमा नेपाल पूर्वाधार विकास बैंक र सनराइज बैंकले चासो देखाएका छन् ।






