हुम्लामा जडीबुटी सङ्कलन सुुरु

हुम्ला,१ कात्तिक ।
जिल्लामा मुख्य आम्दानीको स्रोत रहेको जडीबुटी सङ्कलन कार्य सुुरु भएको छ । स्थानीय गाउँवासीको निर्णयद्वारा सङ्कलन कार्य फुकुवा गरिएपछि यो काम सुुरु भएको हो ।
सिमकोट गाउँपालिका–१ को दोजाम गाउँका स्थानीय श्यामजोर लामाले गाउँको साझा निर्णय अनुुसार जडीबुुटी सङ्कलन कार्य सुुरु भएको बताए । उनका अनुसार गाउँलेको निर्णय अनुुसार एक हजारभन्दा बढी वनमा उत्पादन भएको जटामसी र कुट्कीका लागि सङ्कलन कार्य खुला गरिएको हो ।
उनले महिला र पुरुष गरी सात सयभन्दा बढी स्थानीय जडीबुटी सङ्कलन गर्न गएको र त्यसमा एक परिवारबाट एकदेखि पाँच जनासम्म वनमा गएको बताए । सोही वडाको ठेहे गाउँका अर्का स्थानीय जय भण्डारीले बास बस्ने गरी १० दिन अगाडि वनमा गएर जडीबुटी सङ्कलन गर्ने कार्य भइरहेको बताए। आफ्नो समूह बनाएर वनमा ठाउँठाउँमा पाल टाँगेर सङ्कलकहरु बास बस्दै आएको उनले बताए ।

यी दुुबै गाउँको मुख्य आम्दानीको स्रोत भनेको नै जडीबुुटी हो । जडीबुुटी सङ्कलन कार्य नाम्खा, खार्पुनाथ, सर्केगार्ड र चङ्खेली गाउँपालिकामा पनि सुुरु भएको छ । सङ्कलन गर्न गएका परिवार सङ्ख्याका आधारमा जडीबुटी जम्मा हुने गर्छ ।
त्यही आधारमा एउटा परिवारले ५० हजारदेखि १० लाख रुपियाँसम्म कमाइ गर्छन् । विशेष गरी जटामसीको सङ्कलन पुर्जी वन विभागबाट दिइने भएका कारण यस वर्ष कति निकासी हुन्छ भन्ने यकिन नभएको जडीबुटी व्यापारीहरु बताउछन् ।
गोरखापत्र






