निशाको स्वागतमा तुलसीपुरमा बाजागाजासहितको र्याली
काठमाडौं,२ साउन ।
दाङकी कीर्तिमानी एथ्लेटिक्स खेलाडी १७ वर्षीया निशा चौधरीको स्वागत र सम्मानमा सोमबार बिहान तुलसीपुरमा बाजागाजागासहित र्याली निकालिएको छ । उनी अध्ययनरत तुलसीपुरस्थित ग्रेट अरनिको मावीले ¥यालीको आयोजना गरेको हो ।
विद्यालयबाट सुरू भएको विजय ¥यालीमा तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का, विद्यालयका शिक्षक, विद्यार्थी, खेलकुदसँग सम्बन्धित बिभिन्न संघ संस्था र सर्वसाधारणको सहभागिता थियो । त्यसक्रममा कीर्तिमानी खेलाडी निशालगायतलाई गाडीमा राखेर तुलसीपुर बजार परिक्रमा गराइएको थियो ।

र्यालीका सहभागीले ‘हाइहाई निशा’, ‘बिना प्रशीक्षण राष्ट्रिय कीर्तिमान कायम गर्ने निशा महान हुन गाउँकी गरिब परिवारकी निशा अमूल्य हिरा हुन ‘राष्ट्रले प्रतिभावान खेलाडीको सम्मान गरौ, जस्ता नारा लगाएका थिए । विद्यालयबाट सुरू भएको र्याली पुनः विद्यालयमा पुगेको थियो । कार्यक्रममा वक्ताहरूले निशा जस्ता प्रतिभावान छोरीलाई सबैले सहयोग, सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।
निशाकी आमा चैती चौधरीले एसइई उत्तिर्ण पछि आर्थिक अवस्थाकै कारण निशालाई पढाउन सक्ने अवस्था नरहेको बताइन्। ‘हामीले अब नपढ नानी, तलाई पढाउन सक्दैनौं भनेका थियौं,’ छोरीको लागि आयोजित विजयी र्यालीमा सहभागी उनले भनिन्, ‘त्यही बेला अरनिको माविका शिक्षकहरू गएर निःशुल्क पढाइदिने भनेपछि विद्यालय पठाएकी हुँ । कीर्तिमानी खेलाडी निशासँग तस्बिर खिच्नेको भिड देखिन्थ्यो ।

तुलसीपुर उपमहानगरपालिका–१६ भेलाही गाउँकी निशाले असार अन्तिममा भएको १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा दुई ब्यक्तिगत र एक टिममा कीर्तिमान बनाएकी हुन् । जीवनमै पहिलो पटक देशको संघीय राजधानी काठमाडौं पुगेकी उनले दशरथ रंगशालामा लङजम्पका साथै दौडमा पनि जुनियरतर्फको नयाँ कीर्तिमान राखेकी छन्। राष्ट्रपति रनिङ शिल्डमा चार स्पर्धामा स्वर्ण जितेकी निशाले ३ स्पर्धामा एक्लै स्वर्ण पदक जितिन् ।
एक सय मिटर दौड १२.५३ सेकेन्डमा पूरा गरी जुनियरतर्फको नयाँ कीर्तिमान आफ्नो नाममा सार्न उनी सफल भएकी हुन्। निशाले दुई सय मिटर दौडमा पनि स्वर्ण पदक जितेकी छन् । उनीसहित रेशु थारू, रामकुमारी थारू र सम्झना थारू सम्मिलित लुम्बिनी टोलीले चारगुणा एक सय मिटर रिले दौड ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक प्रदेशलाई जिताइन् ।
स्रोत : सेतोपाटी






