ऋषव पन्तको शतकमा भारतले जित्यो इङ्ल्याण्डविरूद्धको सिरिज
काठमाडौं,२ साउन ।
विकेटकिपर ऋषभ पन्तको उत्कृष्ट शतकमा भारतले इंग्ल्यान्डविरूद्धको तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ । भारतले तेस्रो तथा निर्णायक खेलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै सिरिज २–१ ले जितेको हो । जितको लागि २ सय ६० रनको लक्ष्य पछ्याएको भारतले ४२.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। उसका लागि विकेटकिपर ऋषभ पन्त र अलराउन्डर हार्दिक पान्ड्याले उत्कृष्ट प्रदर्शन गरे ।
विकेटकिपर पन्तले पहिलो एक दिवसीय सतक प्रहार गर्ने क्रममा १ सय १३ बल खेल्दै १६ चौका र २ छक्कासहित १ सय २५ रनमा अविजित रहे। यस्तै हार्दिक पान्ड्या ५५ बलमा १० चौकासहित ७१ रनमा आउट भए । पाँचौं विकेटका लागि पन्त र हार्दिकले १ सय ३३ रनको शतकीय साझेदारी गरेका थिए ।

यसअघि ओपनर रोहित शर्मा १७, शिखर धवन १, विराट कोहली १७ र सूर्यकुमार यादव १६ रनमा आउट भए। रविन्द्र जडेजा ७ रनमा अभिजित रहे । इंग्ल्यान्डका रिस टोप्लीले सर्वाधिक तीन विकेट लिए। ब्राइडन क्रेस र क्रेग ओभर्टनले १–१ विकेट हात पारे ।
त्यसअघि म्यानचेस्टरमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली इङ्ल्याण्डले ४५.५ ओभरमा अलआउट हुँदै २ सय ५९ रन बनाएको थियो । इंग्ल्यान्डका कप्तान जस बटलरले सर्वाधिक ६० रन बनाए। उनले ८० बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे।
यस्तै ओपनर जेसन रोयले ४१ रन बनाउँदा मोईन अलीले ३४ रन जोडे। क्रेग ओभरटनले ३२ रन बनाए भने ब्रेन स्टोक्स र लियाम लिभिङस्टोनले समान २७–२७ रन बनाएर आउट भए । डेविड विल्लीले १८ रन बनाउँदा जोनी बैरष्टो, जो रूट र ऋषि टोप्ले शून्यमा आउट भए ।
भारतका हार्दिक पान्ड्याले सर्वाधिक ४ विकेट लिए । ७ ओभरमा ३ मेडनसहित उनले २४ रन खर्चिए । यस्तै युजभेन्द्र चहलले तीन र मोहम्मद शिराजले दुई तथा रविन्द्र जडेजाले १ विकेट लिए । यसअघि पहिलो खेलमा भारत १० विकेटले विजयी हुँदा दोस्रो खेलमा १ सय रनले पराजित भएको थियो ।
स्रोत : सेतोपाटी






