गोलीकाण्डको सत्य तथ्य बुझ्न छानबिन समिति गठन

सुर्खेत,२ साउन  ।

गुराँस गाउँपालिकामा शुक्रबार साँझ करार कर्मचारीले गरेको आन्दोलनमा भएको गोलीकाण्डको सत्य तथ्य बुझ्न छानबिन समिति गठन गरिएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकपछि दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव ज्ञानमणि नेपालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिका सदस्यहरूमा नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं जिल्ला समन्वय अधिकारी भक्तबहादुर मल्ल, राष्ट्रिय अनुसन्धान विभाग दैलेखका प्रमुख (डीएसपी) दिलबहादुर चौधरी, नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष यज्ञराज थापा तथा जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत भूपेन्द्र थापा सदस्य सचिव रहने गरी समिति गठन गरिएको छ ।

समितिले १५ दिनभित्र घटनाको अनुसन्धान गरी सत्य तथ्य कुरा प्रतिवेदनमार्फत प्रमुख जिल्ला अधिकारीलाई बुझाउनुपर्ने छ । आन्दोलनरत कर्मचारी र प्रहरीबीच भएको दोहोरो झडपमा प्रहरीले गोली चलाउँदा दुई जना कर्मचारी घाइते भएका थिए । सो घटनामा सात जना प्रहरीसमेत घाइते भएको बताइएको छ ।

गुराँस गाउँपालिकाले करार कर्मचारीलाई साउन १ गतेदेखि म्याद नथप्ने निर्णय गरेसँगै करार कर्मचारी आन्दोलनरत छन् । करारका कर्मचारीलाई हटाउने भनेर गुराँस गाउँपालिकाको १०औँ गाउँ सभामा गरिएको निर्णयविरुद्ध विरोधमा उत्रिएका करार कर्मचारीले गरेको आन्दोलनमा गाउँपालिका भवनमा गरिएको तोडफोडको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाही, प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, जिल्ला प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहलगायतले तोडफोडबाट भएको क्षतिको निरीक्षण गरेका छन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले गाउँपालिकाको कार्यालय तोडफोड गर्नेलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने बताए । उनले कानुनभन्दामाथि कोही नभएको बताउँदै कानुनलाई हातमा लिन खोज्ने कार्य निन्दनीय भएको जनाए । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले छानबिन समिति गठन भएको र टोलीले दिने प्रतिवेदनअनुसार दोषी देखिएकालाई कानुनी कारबाहीमा ल्याइने बताए ।

उनले घटनाका बारेमा छानबिन समितिले अध्ययन गर्ने भए पनि घटनाका बारेमा बुझ्न गाउँपालिका आएको बताए  । गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसीले आफूहरूमाथि भएको साङ्घातिक हमलाको सत्य तथ्य बुझ्न आग्रह गर्दै दोषीमाथि कारबाही गर्न माग गरे ।

स्रोत :  गोरखापत्र

गोलीकाण्डको सत्य तथ्य बुझ्न छानबिन समिति गठन

परम्परागत चाडपर्वका रुपमा मनाउदै आएको साउने संक्रान्ति

गोलीकाण्डको सत्य तथ्य बुझ्न छानबिन समिति गठन

विभिन्न पदमा उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *