बुद्धि पुन
सल्यान, ४ जेष्ठ ।
सल्यानका दश स्थानीय तह मध्ये ६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जिल्लाका ४ स्थानीय तहमा मत गणना जारी रहेपनि कुमाख गाउँपालिका, त्रिबेणी गाउँपालिका, सिद्ध कुमाख गाउँपालिका, शारदा नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका र कपुरकोट गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
एक नगरपालिका र ३ गाउँपालिका गरी ४ स्थानीय तहमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । वनगाड कुपिण्डे नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् भने कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।
अझै जिल्लाको बागचौर नगरपालिका, कालिमाटी गाउँपालिका, दार्मा गाउँपालिका र छत्रेश्वरी गाउँपालिकाको मत गणना जारी छ ।
नेकपा माओवादी केन्द्रको राम्रो पकेट क्षेत्रका रुपमा रहेको कुमाख गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन विजयी भएको छ । ४६ मतको अन्तरले गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मान बहादुर बुढाथोकीले जित हाँसिल गरेका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका डिल्लीराज जैशीले ४ हजार १२ मत ल्याएको थियो भने विजयी बनेका बुढाथोकीले ४ हजार ५८ मत ल्याएको हो ।
त्यस्तै उपाध्यक्षमा पनि गठबन्धनबाट एमालेका लाल बहादुर रावत बिजयी बनेका छन् । रावतले ४ हजार १ सय ४३ मत प्राप्त गर्दा नेकपा माओवादीका धनसरा मल्लले ३ हजार ९ सय ४३ मत प्राप्त गरे ।
त्यस्तै त्रिबेणी गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । पालिका अध्यक्षमा खिमबहादुर रावत र उपाध्यक्ष सिता खड्का पुन बिजयी भएका छन् । अध्यक्ष रावतले ३ हजार ३ सय ६९ मत र उपाध्यक्ष पुनले ३ हजार १ सय ८६ मत प्राप्त गरेर विजयी भएका छन् ।
अध्यक्षका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका डिल्ली बहादुर केसीले २ हजार १७ मत र नेकपा एमालेका लोकेन्द्र सिंह खड्काले १ हजार ७ सय ९६ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका राजेन्द्र कुमार थापाले २ हजार ३५ मत र एमालेका कलावती ओलीले १ हजार ८ सय १९ मत प्राप्त गरेका छन् ।
यस पालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका विचमा चुनावी गठबन्धन भएको थियो । त्यस्तै सिद्ध कुमाख गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका भरत गिरी निर्वाचित भएका छन् ।
गिरी ३ सय ७५ मतको मतान्तरले बिजयी भएका हुन । उनले २ हजार १ सय ७३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी गठबन्धन अन्तरगत नेकपा एकीकृत समाजवादीका चित्र बहादुर चलाउनेले १ हजार ७ सय ९८ मत प्राप्त गरे ।
चलाउने २०७४ मा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षमै एमालेका जित बहादुर चलाउनेले १ हजार ४ सय ५५ ल्याएर तेस्रो स्थानमा भए ।
त्यस्तै पालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका रामबहादुर बस्नेत बिजयी भएका छन् । उनले २ हजार ३५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका पुर्णिमा चलाउनेले १ हजार ९ सय ६३ मत प्राप्त गरेका थिए ।
अन्तिम मत परिणाम अनुसार शारदा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगरको मेयरमा प्रकाश भण्डारीले ६ हजार २ सय १७ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मनोज प्रधानले ४ हजार ९ सय ३७ र नेकपा माओवादी केन्द्रका प्रमोद श्रेष्ठले ३ हजार ९ सय ९४ मत ल्याएका थिए ।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकै सुस्मिता सापकोटा सुनारले ५ हजार ३ सय ८० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रमेश गौतमले ४ हजार ५ सय ९५ र नेकपा एमालेका जालना भण्डारीले ४ हजार ५ सय २२ मत ल्याएका थिए ।
त्यस्तै बनगाड कुपिण्डे नगरपालिकामा संयुक्त गठबन्धन विजयी भएको छ । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार माओवादी केन्द्रका कर्ण बहादुर बुढाथोकी ७ हजार ४ सय ६६ मत ल्याएर मेयरमा विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गोविन्द कुमार पुनले ४ हजार ७ सय २० मत प्राप्त गरे । बुढाथोकीले पुनलाई २ हजार ७ सय ४६ मतको फराकिलो मतान्तरले पराजित भएका छन् ।
मेयरमा पराजित पुन २०७४ को स्थानीय चुनावमा बुढाथोकीलाई पराजित गरी मेयर पदमा निर्वाचित भएका थिए । पाँच वर्ष पछि पुन बुढाथोकीबाट फराकिलो मतान्तरले पराजित भएका छन् ।
त्यस्तै उपमेयरमा पनि साझा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पुरुषोत्तम आचार्य ५ हजार ७ सय ३५ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेको समर्थनमा रहेका स्वतन्त्र उम्मेदवार दिपेन्द्र विष्टले ४ हजार १ सय ८० मत ल्याएका थिए ।
त्यस्तै कपुरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकिकृत समाजवादी र माओवादी केन्द्रका गठबन्धनका उम्मेदवारहरुले जीत हाँसिल गरेका छन् ।
३ हजार १ सय ६० मतका साथ गठबन्धनबाट एकिकृत समाजवादीका दुर्गा बहादुर पुन गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । माओवादी केन्द्रका प्रकाश भण्डारीले ३ हजार २ सय ४० मत ल्याएर उपाध्यक्ष पदमा जित हाँसिल गरेको छ ।
निकटतम प्रतिद्वन्दी एमालेका भिम बहादुर सेनले अध्यक्ष पदमा २ हजार ९ सय ३६ र उपाध्यक्ष पदमा एमालेकै भिमा बुढाथोकीले २ हजार ७ सय ४५ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसको तर्फबाट विष्णु प्रसाद शर्माले अध्यक्ष पदमा १ हजार ५ सय ७२ र ओकी महताराले उपाध्यक्ष पदमा १ हजार ५ सय ३९ मत प्राप्त गरेका थिए ।
जिल्लाका ८३ वटा वडाहरु मध्ये हाल सम्म ७२ वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली काँग्रेसले २७ वडा, नेकपा माओवादी केन्द्रले २४ वडा, नेकपा एमालेले १७ वडा, नेकपा एकीकृत समाजवादीले ३ वटा वडा र राप्रपाले एक वटा वडामा जित हाँसिल गरेको छ । अब जिल्लाका ११ वडाको मतपरिणाम आउन बाँकी छ ।


