इन्धनको मुल्य बढेपछि बढ्यो सार्वजनिक यातायातको भाडा

सुर्खेत, ४ जेष्ठ ।
केही दिन अघि मात्रै डिजेल र पेट्रोलको प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि भएको थियो । अब सार्वजनिक यातायातको भाडा पनि त्यसरी नै वृद्धि हुने भएको छ । सरकारले बुधबारबाट राष्ट्रिय स्तरका रुटमा भाडा वृद्धि गर्ने भएको हो ।
स्वचालित भाडा समायोजन अनुसार सार्वजनिक सवारीको भाडा वृद्धि हुन लागेको यातायात व्यवस्था कार्यालयले बताएको छ । पेट्रोलियम पदार्थमा ५ प्रतिशत तलमाथि हुँदा भाडा पनि तलमाथि हुने व्यवस्था रहेको छ ।
यातायात व्यवस्था विभागले भोलिदेखि भाडा वृद्धि हुने गरेर नयाँ भाडा दर निकालेको छ । मालवाहक सवारीमा ५.१ प्रतिशत, अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा ३.५ प्रतिशत, पहाडी बाटोमा गुड्ने मालवाहक सवारीमा ४.६ प्रतिशत र तराइको बाटोमा गुड्ने मालवाहक सवारीमा ५.१ प्रतिशत भाडा वृद्धि भएको हो ।
सरकारले भने सर्वसाधारण स्थानीय तहको मत परिणाममा केन्द्रित भएको बेला एकै पटक पेट्रोल र डिजेलको मूल्य प्रतिशत वृद्धि गरेको थियो । अझै पनि नेपाल आयल निगमको घाटा काम गर्न पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनसक्ने अवस्था रहेको छ ।
विभाग अन्तरगतको सवारी परिक्षण कार्यालयबाट स्तरिय डिलक्स सवारीको रुपमा स्तर कायम भई सवारी दर्ता प्रमाण पत्र (ब्लु बुक) मा स्तर प्रमाणित भएका यात्रुबाहक सवारी साधनको हकमा तोकिएको भाडामा थप २० प्रतिशतसम्म थप भाडा लिन सकिने जनाइएको छ ।






