लोकसेवा आयोगको निष्पक्षता कायम रहोस् : प्रदेश प्रमुख परियार

सुर्खेत, ६ फागुन ।
कर्णालीका प्रदेश प्रमुख तिलक परियारले प्रदेश लोकसेवा आयोगले निष्पक्षता, पारदर्शिता र इमानदारी कायम राख्नुपर्ने बताउनुभएको छ । प्रदेश लोकसेवा आयोगको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेशको विकासमा सक्षम जनशक्ति उत्पादन गर्ने थलोका रुपमा आयोगले आफ्नो भूमिका बढाउनुपर्ने बताउनुभयो ।

उहाँले राष्ट्रको सेवामा समर्पित जनशक्तिको छनोट र सिफारिस गरी आयोगले निष्पक्षता, विश्वसनीयता कायम गर्नुपर्नेमा जोड दिनुभयो । ‘छिटोभन्दा छिटो प्रदेशलाई आवश्यक पर्ने दक्ष जनशक्तिको छनोट गर्नेतर्फ आयोगले ध्यान देओस्’ प्रदेश प्रमुख परियारले भन्नुभयो, ‘सरकारले आर्थिक तथा भौतिक पक्षको व्यवस्थापन गर्ने नै छ, आयोगले आफ्नो मुख्य काम, कर्तव्य र अधिकार क्षेत्रभित्र रहेर जनशक्तिको व्यवस्थापनमा ढिलाइ गर्नुहुँदैन ।’

मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश निजामती ऐनको मस्यौदा निर्माणको काम अन्तिम चरणमा पुगेको जनाउँदै प्रदेशसभाको हिउँदे अधिवेशनमा टेबुल गर्ने तयारी भइरहेको बताउनुभयो ।

‘संघले ऐन नबनाउँदा प्रदेशको कामकाज प्रभावित भयो, अब हामीले प्रदेशकै बेग्लै निजामती ऐन बनाउनुपर्छ भनेर ड्राफ्ट गर्दैछौँ,’ उहाँले भन्नुभयो, ‘विधेयकलाई ‘फाष्ट ट्रयाक’बाट पारित गरेर कर्मचारी र लोकसेवा आयोगसँग सम्बन्धित समस्या समाधान गरिनेछ ।’

मुख्यमन्त्री शाहीले प्रदेश लोकसेवा आयोग प्रदेश विकासको मेरुदण्ड भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘कर्मचारी परिपूर्ति गर्न नसके विकासको काम गर्न सकिँदैन, आयोगले अरु कुनै समस्यामा नअल्झिएर आफ्नो काम गरोस्, सरकारले बजेटलगायतका आवश्यक सहयोग गर्छ ।’

प्रदेश लोकसेवा आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले निजामती ऐन नबन्दा प्रदेश र स्थानीय तहमा सिफारिस भई जाने कर्मचारीको सेवा–सुविधामा अन्योल रहेको बताउनुभयो ।

सचिव भूपेन्द्र थापाले आयोगले हाल चौथो र पाँचौँ तहका कर्मचारीको पदपूर्तिका लागि भर्ना प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो । आयोग २०७७ साल फागुन ६ गते स्थापना भएको थियो । पहिलो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, सचिवहरु लगायतको सहभागिता थियो ।

लोकसेवा आयोगको निष्पक्षता कायम रहोस् : प्रदेश प्रमुख परियार

YUGAAWHAN NATIONAL DAILY (2078-11-07)

लोकसेवा आयोगको निष्पक्षता कायम रहोस् : प्रदेश प्रमुख परियार

जुम्लाका सबै पालिकामा स्याउ सुपरजोन कार्यक्रम

Leave a comment

Your email address will not be published. Required fields are marked *