‘कर्णाली सिंहदरबार’ निर्माणार्थ १५ करोड बजेट विनियोजन

सुर्खेत, ३ असार ।
कर्णाली प्रदेश सरकारले प्रदेशका आठ मन्त्रालय एकै ठाउँमा रहने गरी ‘कर्णाली सिंहदरबार’ बनाउने भएको छ । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालयको दक्षिणतर्फ पर्ने वीरेन्द्रनगर नगरपालिका ७ ईत्राम सुर्खेतको जमीनमा निर्माण गर्ने योजना बनाएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा बजेट तथा कार्यक्रमको विस्तृत जानकारी दिन विहिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश सरकारका प्रवक्ता एवं योजनामन्त्री विन्दमान विष्टले ‘कर्णाली सिंहदरबार’ निर्माणका लागि आगामी आव.२०७९/०८० मा रु. १५ करोड बजेट विनियोजन गरिएको जानकारी दिए । प्रवक्ता विष्टले एकीकृत प्रशासनिक सेवा प्रवाहका लागि प्रदेशका आठवटै मन्त्रालय एउटै हाताभित्र रहने संरचना निर्माण गर्न थालेको बताए ।
“हामीले गत आर्थिक वषमै प्रदेश सरकारका मन्त्रालयहरु एकै ठाउँमा बनाउन खोजेका थियौं” उनले भने, “त्यसका निम्ति सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार पारेको थियो । तर संगठन संरचना फेरबदल हुँदा अब पुनः डिपिआर गरी निर्माण कार्यलाई अघि बढाउँछौं ।”

‘कर्णाली सिंहदरबार’ को ढाँचामा संरचना निर्माण गर्दा प्रदेश सरकारका मन्त्रालय र अरु केही सरकारी कार्यालय पनि त्यसभित्र पर्न सक्ने जनाउँदै मन्त्री विष्टले त्यसको चारैतर्फ पर्खाल, त्यसभित्र मन्त्रालयसहित खुलामञ्च, सभाहल निर्माण गरिने बताए ।
यसका लागि आगामी आर्थिक वर्षको पहिलो महिनामै कार्य थालनी गरिने उनको भनाई थियो । आर्थिक सचिव झक्कप्रसाद आचार्यले ‘कर्णाली सिंहदरबार’ भित्र सभाहल बनाउन दुई करोड, पर्खाल निर्माणमा पाँच करोड र मन्त्रालय निर्माणका लागि आठ करोड छुट्याइएको जानकारी दिए ।
“आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडिको जग्गामा ‘कर्णाली सिंहदरबार’ को संरचना निर्माण हुनेछ,” सचिव आचार्यले भने ,“उक्त संरचना बनाउनका लागि साढे दुई बिघा क्षेत्रफलको जमिन छ र त्यसलाई बढाउन पनि सकिन्छ ।”
‘कर्णाली सिंहदरबार’ निर्माण गर्न सकिए यहाँका नागरिकहरुलाई एकै ठाउँबाट सेवा प्रवाह हुनुका साथै सुरक्षा सहजता मिल्ने जनाइएको छ । पूर्ववर्ती सरकारले पनि प्रदेश सरकारका सबै मन्त्रालयहरु एकै ठाउँमा हुने गरी मिनि सिंहदरबार बनाउने योजना अगाडि सारेको थियो ।

कर्णाली प्रदेश सरकारले एचए र स्टाफ नर्स पढाउने
कर्णाली प्रदेश सरकारले स्वास्थ्य सहायक (एचए) र स्टाफ नर्स पढाउने भएको छ । आगामी आर्थिक वर्षदेखि प्रदेश अस्पताल कालागाउँ मातहत एचए र स्टाफ नर्स पढाइने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जानकारी दिए ।
कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने नीति लिएको सरकारले तत्काल एचए र स्टाफ नर्स पढाउन सुरु गर्ने बताएको हो । प्रदेशमा ठूलो मात्रामा स्वास्थ्य जनशक्ति अभाव भएपनि र यी दुईवटै कार्यक्रम पढाइ हुने कलेज नहुँदा सरकारले नै एचए र स्टार्फ नर्स पढाउने तयारी गरेको मन्त्री विष्टले बताए ।
‘प्रदेशमा ठूलो मात्रामा स्वास्थ्य जनशक्ति अभाव छ, तर विडम्बना यी दुईवटै कार्यक्रम पढाइ हुने कलेज छैन’ बिहीबार बजेटबारे जानकारी दिन मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री विष्टले भने, ‘एकातिर स्वास्थ्य जनशक्ति परिपूर्ति हुन्छ, अर्कोतिर विद्यार्थीले सस्तोमा यी कार्यक्रम पढ्न पाउँछन् ।’
सरकारले एचए र स्टार्फ नर्स पढाउन एक सय बेडको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था गरेपछि भएका निजी कलेज पनि बन्द भएका छन् । जसले गर्दा एचए र स्टार्फ नर्स पढ्न प्रदेश बाहिर जानुपर्ने बाध्यता छ । प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्न भन्दै प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९–०८० को बजेटमा ५१ करोड ४५ लाख बजेटसमेत विनियोजन गरेको छ ।






