वीरेन्द्रनगरलाई घाँडो भयो सिटी बसपार्क : भाडा जरिवाना मात्रै २२ करोड पुग्यो

सुर्खेत, २ चैत ।
वीरेन्द्रनगर नगरपालिकालाई सिटी बसपार्कबाट भाडा उठाउनै मुश्किल भएको छ । नगरपालिकाले बसपार्क निर्माण गरेर एक वर्ष अघि मासिक भाडा तिर्ने गरी संचालनका लागि निजी कम्पनीलाई ठेक्का दिएको थियो । तर बसपार्क संचालनको जिम्मा लिएको पीआर कन्स्ट्क्सनबाट नगरपालिकाले भाडा नै उठाउन नसकेको हो ।

बसपार्क संचालकबाट नगरपालिकाले हाल दुई करोड ७३ लाख १२ हजार ८ सय ३१ रुपैयाँ उठाउन बाँकी छ । यद्यपि हाल एक करोड २१ लाख तीन हजार सात सय ४ रुपैयाँ प्राप्त भइसकेको नगरपालिकाको दाबी छ ।

यस हिसावले पनि अब संचालकबाट नगरपालिकाले एक करोड ७० लाख ९९ हजार एकसय २७ रुपैयाँ भाडा असुल्न बाँकी छ । तर सम्झौता अनुसार मासिक रुपमा भाडा नतिरेका कारण जरिवाना मात्रै २२ करोड ६५ लाख ३० हजार तीन सय ३२ रुपैयाँ पुगेको छ ।

अब संचालकले नगरपालिकालाई करिब २४ करोड बुझाउनुपर्ने हुन्छ । तर संचालकले सहजै नगरपालिकालाई सो रकम बुझाउने देखिदैन । नगरपालिकाले भाडा तिर्नका लागि बारम्बार आग्रह गर्दै आएको छ । तर संचालकले अटेरी गरेपछि नगरपालिकाका कर्मचारीहरु भाडा माग्दै संचालकको खोजीमा काठमाण्डौ पुगेका छन् ।

पछिल्लो समय नगरपालिकाले फागुन २५ गते पत्र नै काटेर भाडा र जरिवाना वापतको रकम बुझाउन तीन दिनको म्याद दिएको थियो । तर सो अवधिमा पनि संचालक सम्पर्कमा नआएपछि कर्मचारीहरु उनलाई खोज्दै काठमाण्डौ गएको नगरपालिकाले जनाएको छ ।

सिटी बसपार्कमा व्यवसायिक प्रयोजनका लागि सटरहरु निर्माण गरिएका छन् । ती सटरबाट बसपार्क संचालनको ठेक्का लिएको पिआर कन्स्ट्क्सनले मासिक रुपमा भाडा असुल्दै आएको छ । व्यवसायीबाट भाडा लिए पनि संचालकले नगरपालिकालाई भने बुझाएका छैनन् ।

कन्स्ट्क्सनले सटरको आकार अनुसार मासिक ५० हजार, ३८ हजार, २५ हजार र २० हजार दरले व्यवसायीबाट भाडा लिने गरेको छ । सिटी बसपार्कमा व्यवसायिक प्रयोजनका लागि ५४ वटा सटर छन् ।

यसबाहेक ग्यारेज, टिकट काउन्टर, शौचालय, पाकिंङस्थल लगायतका संरचना पनि छन् । ति सबै संरचनाबाट पनि कन्स्ट्क्सनले नियमित रुपमा भाडा उठाउने गरेको छ ।

नगरपालिकासँग भक्तपुरको पिआर कन्स्ट्क्सन प्रालिले यो बसपार्क सञ्चालनको ठेक्का लिएको छ । कन्स्ट्क्सनले बसपार्क सञ्चालन गरेबाफत वीरेन्द्रनगर नगरपालिकालाई मासिक ३१ लाख १५ हजार पाँचसय ३२ रुपैयाँ बुझाउनुपर्छ । तर कन्स्ट्क्सनले भने सम्झौताअनुसार तोकिएको भाडा बुझाएको छैन ।

नियमित रुपमा भाडा बुझाएको भए कन्स्ट्क्सनले जरिवाना वापतको २२ करोड ६५ लाख ३० हजार तीनसय ३२ रुपैयाँ तिर्नु पर्थेन । सम्झौतामा कन्स्ट्क्सनले हरेक महिनाको १५ गतेभित्र भाडा तिर्नुपर्ने उल्लेख छ । त्यसको १५ दिनपछि दैनिक एक प्रतिशत, ३० दिनपछि दुई प्रतिशत र दुई महिनासम्म पनि भाडा तिर्न नसेकेमा हरेक दिन पाँच प्रतिशतका दरले जरिवाना दिर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

भाडा नपाएपछि नगरपालिकाको तत्काल बुझाउन पत्र काटेको प्रमुख प्रकाशकीय अधिकृत नरहरी तिवारीले जानकारी दिए । नगरपालिकाले जसरी पनि भाडा अशुल्ने उनले बताए ।

‘यसअघि पनि नगरपालिकाले पटक–पटक पत्राचार गरेर भाडा बुझाउन अनुरोध गरेको छ’ प्रमुख प्रकाशकीय अधिकृत तिवारीले भने, ‘पछिल्लो पटक तीन दिनको समय दिएर कन्स्ट्क्सनलाई भाडा र जरिवाना दुबै जम्मा गर्न पत्राचार गरेका छौँ ।’ अब तोकिएको अवधिभित्र रकम नतिरे नगरपालिकाले संचालकसँगको सम्झौता नै तोड्ने उनले बताए । ‘निश्चित समयभित्र रकम जम्मा गर्न भनेका छौँ’ उनले भने, ‘तोकिएको समयमा रकम जम्मा नभए सम्झौता खारेज हुन्छ ।’

भाडा माग्दै काठमाडौं पुगे कर्मचारी
पिआर कन्स्ट्क्सनबाट भाडा उठाउनका लागि नगरपालिकाले कर्मचारीलाई काठमाडौँ पठाएको छ । पीआर कन्स्ट्क्सन प्रालिको स्थायी ठेगाना भक्तपुर हो ।

प्रालिका सुर्खेत प्रतिनिधि गोविन्द मल्ल काठमाडौँ भएका कारण उनलाइ पत्र बुझाउन सोमबार एकजना कर्मचारीलाई काठमाडौ पठाएको हो । फागुन २३ गते बसेको कार्यपालिका बैठकले अन्तिम पटक पुनः ताकेताको पत्र लेख्ने निर्णय गरेको थियो ।

सोही पत्र बोकेर नगरपालिकाका एक कर्मचारी काठमाडौँ पुगेका हुन् । पत्र बुझेको तीन दिनभित्र बाँकी रकम नतिरे कार्यपालिकाको बैठकले सम्झौता रद्द गर्ने नगरपालिकाले जनाएको छ ।

वीरेन्द्रनगरलाई घाँडो भयो सिटी बसपार्क : भाडा जरिवाना मात्रै २२ करोड पुग्यो

चुनावलाई एक लाख म्यादी माग, चैत ६

वीरेन्द्रनगरलाई घाँडो भयो सिटी बसपार्क : भाडा जरिवाना मात्रै २२ करोड पुग्यो

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ५ जना

Leave a comment

Your email address will not be published. Required fields are marked *