कर्णालीका साढे नौ लाख नागरिकले पाए कोरोनाविरुद्ध खोपको दुबै डोज

सुर्खेत, १ चैत्र ।
कर्णाली प्रदेशका साढे नौ लाख नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । फागुन मसान्तसम्म कुल जनसंख्या मध्ये नौ लाख ५१ हजार एकसय ६३ जनाले कोरोनाविरुद्धको खोपको दुबै डोज लगाएका हुन् ।
त्यस्तै नौ लाख ७७ हजार तीनसय १३ जनाले कोरोनाविरुद्धको खोपको पहिलो डोज मात्र लगाएका छन् । तथ्याङ्क अनुसार डोल्पाका १९ हजार एकसय ३२ जना, मुगुका ३८ हजार ७१ जना, हुम्लाका २७ हजार एकसय दुई जना, जुम्लामा ५९ जहार २४ जना र कालीकोटका ७३ हजार आठसय ४४ जनाले कोरोनाविरुद्धको खोपको दुबै मात्रा लगाएका हुन् ।
दैलेखका एकलाख ४७ हजार एकसय एक, जाजरकोटमा ९७ हजार चारसय ८१ जना, रुकुमपश्चिमका ९७ हजार पाँचसय २३ जना, सल्यानका एकलाख ३८ हजार तीनसय १७ जना र सुर्खेतका दुई लाख ५३ हजार पाँचसय ६८ जनाले खोपको दुबै मात्रा लगाएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदम केसीले जानकारी दिए ।
प्रदेशको कुल १८ लाख ३४ हजार आठसय १९ जनसंख्या मध्ये १४ लाख दश हजार एकसय ८२ जना १२ बर्षभन्दा माथिल्लो उमेर समूहका छन् । उनीहरु सबैले खोप लगाउनु पर्दछ ।
तथ्याङ्क अनुसार प्रदेशभर नौ प्रतिशत नागरिले मात्र खोपको कुनै मात्रा पनि लगाएका छैनन् । निर्देशनालयका अनुसार सुर्खेतमा साढे १३, सल्यानमा पाँच, रुकुमपश्चिममा १४, जाजरकोटमा दुई, दैलेखमा दश, कालीकोटमा साढे ६, जुम्लामा साढे ६, हुम्लामा साढे नौं, मुगुमा ११ र डोल्पामा साढे नौं प्रतिशत नागरिकले खोप नै पाएका छैनन् ।
दुईलाख बालबालिकाले लगाए खोप
प्रदेशभर झण्डै दुई लाख बालबालिका (१२ देखि १७ बर्ष उमेर समूह) ले कोरोनाविरुद्धको खोप लगाएका छन् । दुई लाख ४० हजार पाँचसय ५० जना बालबालिका मध्ये सोमबारसम्म एकलाख ८५ हजार ६ सय ७९ जना बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
जसमध्ये दैलेखका शतप्रतिशत अर्थात सबै बालबालिकाले कोरोना विरुद्धको दुबै डोज लगाएका छन् । त्यस्तै रुकुमपश्चिमका ९९ प्रतिशत, कालीकोटका ९४ प्रतिशत, जाजरकोट र सुर्खेत समान अर्थात ९२ प्रतिशत बालबालिकाले खोपको दुबै मात्रा लगाएका छन् ।
त्यस्तै सल्यानका कुल बालबालिका मध्ये ८६ प्रतिशत, जुम्लाका ६६ प्रतिशत, हुम्लाका ७४ प्रतिशत, मुगुका ८५ प्रतिशत र डोल्पाका ५३ प्रतिशत बालबालिकाले खोपको दुबै मात्रा लगाएका हुन् ।
१२ स्थानीय तहमा सबै नागरिकलाई खोप
कर्णाली प्रदेशका १२ वटा स्थानीय तहका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका, जगदुल्ला गाउँपालिका र छार्काताङ्सोङ गाउँपालिकाका सबै नागरिकले खोप लगाएका हुन् ।
हुम्लाको सर्केगाडका ५४ प्रतिशतले पहिलो र ३७ प्रतिशतले दुबै, डोल्पाको जगदुल्लाका ५७ प्रतिशतले पहिलो र ५५ प्रतिशतले दुबै र छार्काताङ्सोङ गाउँपालिकाका ४७ प्रतिशतले पहिलो र ३९ प्रतिशतले खोपको दुबै मात्रा पाएका छन् ।
त्यस्तै हुम्लाको अदानचुली, दैलेखको महाबु र भैरवी, जाजरकोटको जुनिचाँदे र शिवालय, रुकुममा आठविसकोट, सल्यानका बागचौर र शारदा नगरपालिकाका सबै नागरिकले खोप पाएका हुन् ।






