स्याक नेपालका परियोजनाबाट एक लाखबढी स्थानीय लाभान्वित

सुर्खेत, २९ साउन ।
समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतले एक बर्षमा सञ्चालन गरेका विभिन्न परियाेजनाबाट कर्णाली र सुदुरपश्चिम प्रदेशका करिब एक लाखबढी स्थानीय जनता लाभान्वित भएका छन् । आइतबार वीरेन्द्रनगरमा सम्पन्न संस्थाको २८ औं बार्षिकोत्सव तथा २७ औं बार्षिक साधारणसभामा उक्त जानकारी दिइएको थियो ।
गत आर्थिक बर्ष २०७८/०७९ मा विभिन्न जिल्लाका ९९ हजार ८४२ जना लावान्वित भएका हुन् । जस मध्ये ८१ हजार २२३ महिला र १८ हजार ६१९ जना पुरुष रहेका छन् । संस्थाले हाल सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु, डोल्पा, अछाम, बझाङ्ग, बैतडी, बाजुरा, डडेल्धुरा, बाँके, जाजरकोट, दाङ, सल्यान, रुपन्देही, नवलपराी र नवलपुरगरी ९ जिल्लाका ४६ वटा पालिकामा आफ्ना कार्यक्रम सञ्चालन गरिरहेको महासचिव गंगा गुरुङले जानकारी दिनुभयो ।

ती कार्यक्रम सञ्चालनका लागि विभिन्न ११ परियोजना र संस्थाको आन्तरिक बजेटबाटगरी ६ करोड ७१ लाख रुपैँया खर्च गरेको छ । ‘अन्धकारलाई सराप्नुभन्दा एउटा बत्ति बाल्नु बेश’ भन्ने मूल मर्मका साथ स्याक नेपालले स्वास्थ्य, शिक्षा, जिविकोपार्जन, संरक्षण, जलवायू परिवर्तन तथा विपत व्यवस्थापन, लैंगिक समानता तथा समावेशीकरण, संस्थागत विकास लगायतका क्षेत्रमा काम गर्दै आएको कार्यकारी निर्देशक टिकाराम आचार्यले जानकारी दिनुभयो ।

सामाजिक कार्यमा स्याकको महत्वपूर्ण योगदान छ : मन्त्री बुढा
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले समाज रुपान्तरणमा समाज जागरण केन्द्र (स्याक) नेपालको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । स्याकको २७ औँ बार्षिक साधारणसभा तथा २८ औँ बार्षिकोत्सवको अवसरमा आइतबार वीरेन्द्रनगरमा आयोजित समारोहको उद्घाटनपछि बोल्दै मन्त्री बुढाले यस्तो बताउनुभएको हो । ‘समाज रुपान्तरण र परिवर्तनका लागि स्याक नेपालले धैरै योगदान गरेको छ त्यसको बारेमा कसैले ब्याख्या गर्नै पर्दैनमा साँक्षी म स्वंयम् छु’ मन्त्री बुढाले भन्नुभयो ।
गैरसरकारी संस्थाहरु धेरै खुलेपनि ती मध्य स्याकले आफूलाई अब्बल संस्थाको रुपमा स्थापित गरेको भन्दै उहाँले नागरिकका मुद्धामा निरन्तर लागिरहन सुझाव दिनुभयो । साथै उहाँले कर्णालीको रोगभोग र अशिक्षा हटाउन सरकारी र गैरसरकारी क्षेत्र हातेमालो गरेर कामगर्नुपर्नेमा जोड दिनुभयो ।
कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काले विगतमा स्याकले उठाए महिला सहभागिता, बाल अधिकार, किशोर किशोरीका अधिकार लगायतका सवालहरु स्थापित भएको भन्दै ती अधिकार कार्यान्वयनका लागि नागरिक समाज संस्थाहरुले अझै पैरवी गर्न जरुरी रहेको बताउनुभयो ।

स्याक नेपालका संरक्षक एवं संस्थापक अध्यक्ष डा.सुरेश तिवारीले समाजलाई संगठितगरी जनताका मुद्धा स्थापित गर्ने उद्देश्यले स्याकको स्थापना गरिएको स्मरण गर्दै नागरिकका आर्थिक, समाजिक र राजनैतिक अधिकार परिपूर्तिका लागि निरन्तर लागिरहने बताउनुभयो । राजनीतिक प्रणाली परिवर्तन भएपनि नेतृत्व गर्ने राजनीतिक दल र नेताहरुको प्रवृति नफेरिएको भन्दै डा. तिवारीले अब जवाफदेहिता र सुशासनका लागि नागरिक समाज संस्थाहरु लाग्नुपर्ने बेला आएको जिकिर गर्नुभयो ।
सिम्ता गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्दले विगतमा स्याकले महिला, बालबालिका, दलित, लगायत पछाडी पारिएका वर्ग समुदायका विषयमा महत्वपूर्ण योगदान गरेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आवश्यक रहेको औँल्याउनुभयो ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका राष्ट्रिय उपाध्यक्ष कुलमणि देवकोटाले स्याकले गरेका क्रियाकलाप र असल अभ्यासबाट अब्बल संस्थाको रुपमा स्थापित भएको बताउनुभयो । साथै उहाँले राज्यको पुनसंरचनापछि नागरिक समाज संस्थाहरुको भूमिकालाई कम्जोर पार्न खोजिएको भन्दै नागरिकका मौलिक हक प्रत्याभूतिका लागि अझै सशक्त भएर लाग्नुपर्ने बेला आएको बताउनुभयो ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले स्याकले स्वास्थ्य, सरसफाई, पोषण र कोभिड महामारी नियन्त्रणका क्षेत्रमा राम्रो काम गरेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिन सुझाव दिनुभयो । गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज घनश्याम केसीले सरकारले बजेट कार्यान्वयन गर्न नसकिरहेको परिपेक्षमा गैरसरकारी संस्थाहरुसंग सहकार्य गरेर अघि बढे स्याकजस्ता स्थापित संस्थाहरुबाट सफल कार्यान्वयन गर्न सकिने बताउनुभयो । स्याकका अध्यक्ष मिना तिवारीले आगामी दिनमा अभियानमूलक कार्यक्रमहरुलाई प्राथमिकताका साथ सञ्चालन गर्ने बताउनुभयो ।






