लिफ्ट सिँचाइमार्फत गाउँमै पानी आएपछि गाउँका बासिन्दा खुसी

जाजरकोट,३० असार ।
जाजरकोटको भेरी नगरपालिका–१२, विष्णेचौरमा लिफ्ट सिँचाइमार्फत गाउँमै पानी आएपछि गाउँका बासिन्दा खुसी भएका हुन् । सिँचाइ सुविधाद्वारा कृषि उत्पादन बढाउन, आयआर्जनमा सुधार ल्याउनका लागि ८० प्रतिशत अनुदान सहयोगमा उक्त लिफ्ट सिँचाइ योजना निर्माण गरिएको हो ।
सिँचाइका लागि ल्याइएको पानी प्रशोधन गरेर पिउनयोग्य बनाइएको स्थानीयबासीले जानकारी दिएका छन् । विष्णेचौरवासीले पुर्खौंदेखि पानीका लागि दुःख भोग्दै आएका थिए। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको १५ लाख रुपैयाँमा उक्त लिफ्ट सिँचाइ योजना सम्पन्न भएको जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।

भेरी नदीबाहेक पानीको स्रोत नभएको सो ठाउँमा भेरी नदीबाट धमिलो पानी बोकेर खाने गरेका बासिन्दा घरआँगनमै पानी आएपछि खुसी भएको स्थानीय रमा शाहीले जानकारी दिइन् । उनले उत्पादन निकै कम हुने गाउँमा पानी पुगेपछि मौसमी तथा बेमौसमी तरकारी खेती गरी आयआर्जनमा सुधार आउने उल्लेख गरिन्।
कृषि पेसामा आत्मनिर्भर हुन किसानको उत्पादन वृद्धि गरी आयआर्जनमा सुधार ल्याउन कर्णाली प्रदेश सरकारले सडक करिडोर’ आसपासका गाउँ बस्तीमा लिफ्ट सिँचाइ आयोजना सञ्चालन गरेको मन्त्री सिंहले बताए । अघिल्लो वर्ष त्यहाँका स्थानीयबासीले सिँचाइ सुविधा उपलब्ध गराउनका लागि मन्त्री सिंहलाइ ज्ञापनपत्र नै बुझाएका थिए ।
जिल्लामा अन्य तीन ठाउँमा यस्ता योजनाहरु सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी टोपबहादुर नेपालीले बताए । माननीय मन्त्री ज्यूको सिफारिसमा सिँचाइका अधिकांश कामहरु भएको नेपालीले जानकारी दिए ।
स्रोत : थाहाखबर






