पेरुलाई हराउँदै अष्ट्रेलिया विश्वकपमा

काठमाडौं ३१ जेठ ।
दक्षिण अमेरिकी टोली पेरूलाई हराउँदै अष्ट्रेलिया यसै वर्ष कतारमा हुने फिफा विश्वकपमा छनोट भएको छ । कन्टिनेन्टल प्लेअफको फाइनलमा पेरूलाई सडनडेथमा ५–४ ले हराउँदै अष्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट भएको हो ।
सोमबार राति भएको खेलको निर्धारित ९० मिनेटको समय र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा समेत ४–४ गोलको बराबरी भएपछि खेलको नतिजा सडन डेथबाट निस्किएको थियो। 
जहाँ अष्ट्रेलियाका गोलरक्षक आन्द्रे रेडमायने नायक बने। उनले पेरूका एलेक्स भालेराको पेनाल्टी बचाउँदै टोलीलाई विश्वकपमा पु¥याए । यससँगै एसियाबाट जापान, साउदी अरेबिया, दक्षिण कोरिया, इरान, अष्ट्रेलिया र कतार गरि ६ टिमले विश्वकपमा सहभागीता जनाउने भएका छन् ।
योसँगै विश्वकपमा छनौट हुने ३२ मध्ये ३१ टिमको टुंगो लागेको छ। अब इन्टर कन्टिनेन्टल प्लेअफको एक खेल हुन बाँकी छ, जसमा कोस्टारिका र न्युजील्याण्ड आज खेल्दैछन् । यसको नतिजासँगै विश्वकपमा खेल्ने सबै टोलीको टुंगो लाग्नेछ ।
स्रोत ः सेतोपाटी






