कर्णाली प्रदेश सभाको बैठक बिहीबार दिउँसो बस्दै

सुर्खेत,२३ असार

गत असार १२ गतेदेखि अवरुद्ध कर्णाली प्रदेश सभाको बैठक बिहीबार दिउँसो बस्ने भएको छ । तर प्रतिपक्ष दल नेकपा एमालेले उठाएका मागहरुको विषयमा भने सहमति जुट्न सकिरहेको अबस्था छैन ।यो बिचमा लगातार सर्वदलीय बैठक बस्दा पनि कुनै टुङ्गो नलागेको सभामुख राजबहादुर शाहीले  जानकारी दिए । एमालेले गत माघमा सरकारले प्रतिपक्षसँग गरिएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने माग गरिरहेको छ ।

यस्तै आगामी आर्थिक वर्ष २०७९–०८० को लागि ल्याइएको बजेटको किताब तथ्यगत रूपमा ल्याउनुपर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि सच्याउनुपर्ने र बजेटमा समेटिएका सुदूरपश्चिमका तीन जिल्ला कर्णालीको बजेटमा हटाउनुपर्ने अडान प्रतिपक्षले राखेको छ । यद्यपि मुख्यमन्त्री जीवनबहादुर शाहीले भने प्रतिपक्षको कुरामा आलटाल गरिरहेको एमालेको आरोप छ ।

सभामुख राजबहादुर शाहीका अनुसार बिहीबार दिउँसो संसद चल्नुभन्दा पहिला सर्वदलीय बैठक बस्ने छ । सोही बैठकमा सहमति जुटाउने प्रयास गरिने छ । यसअघिका सर्वदलीय बैठकहरूमा एमालेले आफुले उठाएका मागहरु बजेट पास हुनुभन्दा पहिला नै कार्यान्वयन गरेर जानुपर्ने माग गरेको छ भने सरकार पक्षले बजेट पासपछि कार्यान्वयन गरेर जाने बताएको छ ।

यद्यपि प्रतिपक्षले यो कुरा मानिरहेको छैन ।बजेट पास हुनुभन्दा पहिला नै आफुले उठाएका मागहरु सम्बोधन र कार्यान्वयन नभएको खण्डका संसद चल्न नदिने एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले बताए । उनले भने, ‘बिहीबार बैठक संसद चलाउने भनेका छन् ।

हामीले उठाएको विषयमा कुनै सहमति नै भएको छैन । कसरी चलाउँदा रहेछन् हामी पनि हेरौँला नि..!’प्रतिपक्ष र सत्तापक्ष बीचको टसलका कारण अहिलेसम्म बजेटको विषयमा कुनै छलफल हुन सकिरहेको छैन ।
स्रोत :  रातोपाटी

कर्णाली प्रदेश सभाको बैठक बिहीबार दिउँसो बस्दै

बीमा गर्दै, मार्सी धान रोप्दै जुम्लाका किसान

Leave a comment

Your email address will not be published. Required fields are marked *