रामेछापमा बस दबुर्घटनामा तेह्र जनाको मृत्यु

रामेछाप,२२ असार ।
रामेछापमा बस दबुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । खाँडादेवी गाउँपालिका–१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस दुर्घटना भएको थियो । बा ३ ख ८३९६ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको थियो ।
सो बस दुर्घटनामा ९ जनाको घटनास्थलमा र चार जनाको काभ्रेस्थित धुलिखेल अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङका अनुसार १२ जनाको सनाखत भइसकेको छ। एक जनाको सनाखत गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना हुँदा घाइते भएका २४ जनालाई धुलिखेल अस्पताल लगिएको थियो। त्यसमध्ये चार जनाको मृत्यु भएको हो । ज्यान गुमाउनेमा रामेछाप सुनापति गाउँपालिका–५ बस्ने ६० वर्षीय ठूला तामाङ, ३६ वर्षीय खड्कबहादुर विक, वडा नम्बर ४ बस्ने २६ वर्षीया समरिता तामाङ, काभ्रे रोशी गाउँपालिका–४ २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिकाका १८ वर्षीय सुदीप गजमेर, सुनापाति–५ की २२ वर्षीया विपना तामाङ र मण्डनदेउपुर नगरपालिका–९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर छन ।
यस्तै, सुनापाति–५ कै ३६ वर्षीया सञ्जु आलेमगर र पाँचखालका ४० वर्षीय कुलबहादुर विकको पनि मृत्यु भएको छ।उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै, धुलिखेल अस्पतालमा सुनापाति–५ का ३५ वर्षीय रामबहादुर श्रेष्ठ, २५ वर्षीय बुद्ध तामाङ र ६० वर्षीय नेमा तामाङको मृत्यु भएको हो। एक जनाको भने सनाखत हुन बाँकी छ ।
प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ । दोलखा घर हुने प्रेमबहादुर घतानी छन् ।उनीसँग सोधपुछ गर्दा बसको ब्रेक फेल भएका कारण दुर्घटनामा परेको हो । ‘चालकसँग सोधपुछ गर्दा ब्रेक फेल भएर दुर्घटनामा परेको जस्तो देखिन्छ। हामीले हेर्दा पनि ब्रेक लागेको जस्तो देखिन्छ,’ उनले भने । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
स्रोत : सेतोपाटी






